Shittalpati
‘यदि एमसीसी राष्ट्रघाती हो भने हस्ताक्षर गर्नेले राजनीतिबाट सन्न्यास लिनुपर्छ’

रामचन्द्र रायमाझी
पाल्पा, नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सह–महामन्त्रीका उम्मेदवार देवराज चालिसेले एमसीसी राष्ट्रघाती हो भने सम्झौतामा हस्ताक्षर गर्ने सबैले राजनीतिबाट सन्यास लिनुपर्ने बताएका छन् । बुधबार नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता चालिसेले एमसीसी ल्याउने प्रक्रियामा सबै दल र नेता संलग्न रहेको भन्दै अहिले आएर राष्ट्रघाती भन्नेहरु सबैले राजनीतिबाट सन्न्यास लिनुपर्ने बताएका हुन् । उतिबेला सम्झौतामा हस्ताक्षर गर्ने अहिले दोहोरो चरित्र देखाउन नहुने उनले बताए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरुले सम्झौतालाई राष्ट्रघाती भनेर भ्रम फैलाएको भन्दै नेता चालिसेले भने, ‘एमसीसीमा सबै दलका नेताहरुले हस्ताक्षर गर्नु भएको छ । कि त गम्भीर भुल गर्‍यौं भन्नुपर्‍यो, नत्र भने अहिले आएर एमसीसी राष्ट्रघाती हो भनेर भ्रम नफैलाऊ । यति राष्ट्रघाती नै हो भने खुरुक्क राजनीतिबाट सन्न्यास लिऊ ।’

‘सत्तारुढ नेकपाका नेताहरुले यो सन्धी सम्झौतालाई राष्ट्रघाती सम्झौताका रुपमा व्याख्या, चित्रित गरिरनुभएको छ, उनले भने,’ यो हाम्रा निमित्त गम्भिर र दुखद् विषय हो । यो सम्झौता राष्ट्रको हितमा छ । राष्ट्रिय एकता, राष्ट्रियता र राष्ट्रिय भावनामा आँच आउने शब्द र भावना यो सम्झौतामा छैन् ।’

नेता चालिसेले यो सम्झौता बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशिल कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार हुँदा गति लिएर शेरबहादुर देउवाको नेतृत्व हुँदा यो सम्झौताले मूर्त रुप पाएको बताए । ‘पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र यसमा संलग्न कर्मचारीहरु,राष्ट्रसेवक कर्मचारीहरु राष्ट्रघाती हुन् ? ’ उनले प्रश्न गरे । उनले सम्झौता लागू भए अमेरिकी सेना आउने भन्दै भ्रम सिर्जना गरिएको दाबी गरे । इण्डोप्यासिफिकको कन्सेप्ट सम्झौताभन्दा पछि आएको भन्दै उनले सम्झौता नेपालको संविधानभन्दामाथि छ भनेर अर्को भ्रम छरिएको बताए । ‘यदि अनुदान मुलुकलाई अनावश्यक थियो भने विरोधकर्ता पूर्वप्रधानमन्त्री–अर्थमन्त्रीहरूले किन त्यतिबेलै अस्वीकार गरेनन् । तर अहिले आएर केही नेताहरूले विरोधाभास नीति मात्र होइन कि यही विषयलाई उचालेर मुलुकलाई अराजकतातिर होम्न उद्त भए । अनि तिनीहरू कसरी नेता हुन सक्छन् ?’ । नेता चालिसेले प्रति प्रश्न गरे । शासकीय जिम्मेवारीमा बसिसकेका, प्रधानमन्त्री बनिसकेकाहरू नै परराष्ट्र सम्बन्ध गिजोल्न उद्त हुनु मुलुकका लागि दुर्भाग्य हुने उनले बताए ।

एमसीसी त्यहाँको काँग्रेस (संसद्) ले स्थापना गरेको संरचना रहेको नेता चालिसेले बताए । उनले नेपालजस्तो अल्पविकसित देशको मागअनुसार यसको विकास भएको भन्दै पूर्वाधार निर्माण, रोजगारी सिर्जनासँगै देशलाई आर्थिक वृद्धि मार्फत गरिबी घटाउनका लागि अमेरिकी अनुदान महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।

अमेरिकासँग भएको एउटा अनुदान सम्झौताले मुलुकलाई चर्को धु्रवीकरणको दिशातिर उन्मुख गराएको नेता चालिसेको भनाई छ । उनले काँग्रेसबाहेक अन्य दलहरु एमसीसीलाई लिएर ध्रुवीकृत भएको बताए । उनले भने ‘एमसीसी राष्ट्रलाई चाहिन्छ कि चाहिंदैन भन्दा पनि कसैलाई छिमेकी रिसाउलान् भन्ने चिन्ताले यत्रो द्धन्द भएको हो ।’ देशमा एमसीसी पास हुने भन्दा पनि नहुँदा के हुन्छ भन्ने कुराले महत्व राख्ने उनले बताए । ‘यति एमसीसी परियोजा देशबाट भगायौं भने दातृराष्ट्रहरु प्रतिको विश्वासनियता पनि गुम्नेछ र हाम्रो आर्थिक सम्भावनाको ढोका बन्द हुनेछ ।’नेता चालिसेले नेपालमा भएका सन्धिहरु सम्झौताहरुको यथार्य सूचना मिडियामा ल्याउन पनि पत्रकारहरुलाई आग्रह गरे । उनले कम्युनिष्टहरुले एमसीसी आए नेपालबाटै आफुहरुको अस्तित्व नरहने डरले गलत प्रचार गर्न लगाएको भन्दै सत्य तथ्य खोजी बाहिर ल्याउन पत्रकारहरुलाई आग्रह गरेका हुन् । उनले भने ‘कम्युनिष्टहरुमा बनको बाघले खाओस् कि नखाओस् मनको बाघले खाइसेको छ । सम्झौतामा हस्ताक्षर गरेकाहरु अहिले आफ्ना शासन नचल्ने डरले एमसीसी पास गर्ने विषयमा बाधक बनेका छन् ।’ भेटघाट कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले देशको समसामयिक राजनीतिक विषयमा भएका घटनाहरु जिल्लास्तरमा समेत जानकारी गराउन केन्द्रबाट आउने नेता, नेतृत्वसँग छलफल गर्ने गरिएको बताए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्लास्तरका नेता, प्राज्ञिक, बौद्धिक व्यक्तित्व र पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update