Shittalpati
पाल्पाका ६ राजनीतिक दलहरु एमसीसीको विपक्षमा

पाल्पा,पाल्पाका ६ राजनीतिक दलहरु अमेरिकी सहयोगको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विपक्षमा देखिएका छन् ।
सत्ताधारी दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहित नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) एमसीसीको विपक्षमा देखिएका हुन् ।

उनीहरुले संयुक्त रुपमा विज्ञप्ती नै निकालेर पाल्पाका प्रतिनिधि सभाका जनप्रतिनिधिहरुलाई एमसीसीका विपक्षमा मतदान गर्न आग्रह गरेका छन् । साम्राज्यवादी शक्ति र देश भित्रका राष्ट्रघातीहरुले जवरजस्ती लागु गराउन रचिएको षडयन्त्रका विरुद्ध शसक्त संघर्ष गर्ने चेतावनी दिदै एमसीसीको विपक्षमा मतदान गर्न संयुक्त रुपमा उनीहरुले आह्वान गरेका हुन् ।
‘मिलिनियम च्यालेन्ज कर्पोरेशन परियोजना नेपालको संसदबाट पास गराएर कार्यान्वयन गराउने अमेरीकी रणनीति बिरुद्ध पाल्पा जिल्ला स्थित देशभक्त, प्रगतिशिल तथा एमसीसी विरोधी राजनीतिक पार्टिहरुले राष्ट्रीय स्वाधिनता, सार्वभौमिकताका पक्षमा दृढताका साथ उभिने संकल्प गरेको छौ ।’ ‘एमसीसी सम्झौतामा प्रावधानहरु हेर्दा देशको राष्ट्रियता र स्वाधिनतामा गम्भीर आच आउने र नेपालको संविधान र कानुन भन्दा माथी रहने गरी ल्याइएको उक्त परियोजनाका विरुद्ध सम्पूर्ण देश भक्त, प्रगतीशिल र आम नागरिकहरुलाई यसको खारेजीको लागि एकताबद्ध हुन अपिल गर्दछौ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य राजेन्द्र विश्वकर्मा, नेकपा समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय (कमल), राष्ट्रिय जनमोर्चा पाल्पा अध्यक्ष विशाल दर्लामी, नेपाल कम्युनिष्ट पार्टी, पाल्पा सचिव भुवन जिसी,राष्ट्रिय जनमुक्ती पार्टी पाल्पा अध्यक्ष नारायण बहादुर कुवर, नेकपा (क्रान्तिकारी माओवादी) पाल्पाका सचिव लिला श्रेष्ठले संयुक्त रुपमा प्रेस विज्ञप्ति निकाली एमसीसी खारेजका लागि संघर्षमा उत्रिन सबैलाई अपिल गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update