Shittalpati
स्थानीय चुनावको तयारीमा जुट्यो निर्वाचन कार्यालय

कृष्ण पोखरेल
पाल्पा, आगामी चुनावका लागि जिल्ला निर्वाचन कार्यालय पाल्पाले तयारी थालेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि कार्यालयले तयारी थालेको जनाएको हो ।

निर्वाचन कार्यालय अहिले मतदाता नामावलीको अध्यावधिकमा जुटेको छ । कार्यालयले जिल्लाका राजनीतिक दल, सुरक्षानिकाय, स्थानीयतहका प्रमुख, पत्रकार, सरकारी तथा गैर सरकारी संघ–संस्थाका प्रमुख नागरिक समाजका अगुवाहरुसँग अन्तिम मतदाता नामावली अध्यावधिकको लागि छलफल गरी काम अगाडि बढाउन थालेको हो । कार्यालयले २०७९ बैशाख २९ गते सम्म १८ बर्ष पुरा भएका मतदाताको परिचयपत्र सहितको नामावलीको अन्तिम टुङ्गो लगाउने छ । जिल्ला निर्वाचन कार्यालले फागुन १९ गतेसम्म जिल्लाका १० वटा पालिकाका ८१ वटै वडाहरुका मतदाता नामावली प्रकाशित गरी सूचनापाटीमा टाँस गर्ने, वडा–वडाबाट फागुन २० गतेदेखि २२ गते सम्म प्रकाशित मतदाता नामावलीमा रहेको गल्ती सच्चाउन सिफारिस पठाउने, फागुन २३ गतेसम्म प्रकाशित मतदाता नामावलीमा रहेका व्यक्तिको बसाई सराई, मृत्यु भएमा वा नेपाली नागरिकता त्याग गरेको भए हटाउन जिल्ला निर्वाचन कार्यालयमा वडाबाट सिफारिस गर्ने, मतदाता नामावली विरुद्ध उजुरी परेका व्यक्तिलाई फागुन २४ गतेसम्म प्रमाण सहित सफाईको मौका दिने, मतदाता नामावली विरुद्ध परेका उजुरी माथी छानविन गरी हटाईएका मतदाताको नाम कार्यालयको सूचना पाटीमा प्रकाशित गर्ने, फागुन २५ गते प्रमाण सहित उजुरी विरुद्ध परेका नामावलीको अन्तिम टुङ्गो लगाउने कार्यतालिका सार्वजनिक गरेको छ ।

अन्तिम मतदाता नामावली प्रकाशनको लागि भएको छलफलमा लुम्बिनी प्रदेशका उर्जा जलश्रोत तथा सिंचाईमन्त्री वीरबहादुर रानाले लोकतन्त्रको प्राण भनेकै आवधिक निर्वाचन भएकाले भयरहित सुरक्षित वातावरणमा निर्वाचन गराउन राज्यका सबै अंगहरु क्रियाशिल हुनुपर्ने बताए । कसैको डर धाक धम्की विना स्वच्छ, स्वतन्त्र, निष्पक्ष भयरहित वातावरणमा चुन्ने र चुनिने गरी निर्वाचनको वातावरण बनाउनु पर्नेमा मन्त्री रानाले जोड दिए । भयरहित सुरक्षित निर्वाचनका लागि सुरक्षा निकाय क्रियाशिल भएर लाग्ने, सबैपक्षसँग समन्वय गरेर काम गर्ने, प्रमुख जिल्ला अधिकारी जनार्दन पन्तले बताए । फागुन २५ गते सम्मको अवधिमा वडा–वडाबाट आएको अन्तिम नामावलीको विवरण पुन रुजु गरी प्रकाशन गर्ने, फागुन २६ गते जिल्लामा तयार भएको मतदाता नामावलीको अन्तिम विवरण निर्वाचन आयोगमा पठाउने गरी काम भईरहेको जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख विनोद घिमिरेले बताए । जिल्ला निर्वाचन कार्यालयकी सूचना अधिकारी कल्पना पौडेलले मतदाता नामावली अध्यावधिक, सरोकारवालाहरुको भूमिका, कार्यालयले गर्ने काम कर्तव्यहरु, राजनीतिक दल, सुरक्षा निकाय, पत्रकार तथा पर्यवक्षेकहरुले गर्नुपर्ने काम तथा आचारसंहिताको विषयमा जानकारी गराएकी थिइन् । पाल्पामा २०७४ सालको निर्वाचनमा १ लाख ८१ हजार २ सय ५२ जना मतदाता रहेकोमा २०७८ माघ २४ गते सम्म २ लाख ९ हजार ७ सय ९३ जना मतदाता दर्ता भएका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update