Shittalpati
स्थानीयतहको निर्वाचन मिति घोषणा गर्न एमाले पाल्पाको माग

कृष्ण पोखरेल
पाल्पा, नेकपा एमाले पाल्पाले आउदो बैशाख भित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ । नेकपा एमाले पाल्पाले पत्रकार सम्मेलन गर्दै बर्तमान संविधान स्थानीयतहको जनप्रतिनिधि विहीनको अवस्था परिकल्पना पनि नगरेकाले जेष्ठ ५ भित्र नयाँ निर्वाचित जनप्रतिनिधिहरुको पुनरवहाली हुने गरी तत्काल निर्वाचननको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ । प्रजातन्त्रवादी, लोकतन्त्रवादीको हिमायती हौं भन्नेहरुबाट नै सरकार सञ्चालन भएपनि सरकार नै संविधान ऐन कानुन नियमलाई लत्याउँदै आफुखुसी व्याख्या गर्दै वर्तमान संविधानलाई ध्वस्त बनाउँदै लोकतान्त्रिक गणतन्त्र नै सिध्याउने खेलमा पाँच दलिय गठवन्धन लागेकाले अब जनताबाटै खवरदारी हुनुपर्ने नेकपा एमाले पाल्पाले जनाएको छ ।

वर्तमान सरकारले जनताको भावना विपरित काम गर्दै आएको विरामी हुँदा जनताले सिटामोल पनि नपाएको, लाखौ खोप हराएको, न्यायपालिका, कार्यपालिका र संसद निरिह भएको, पाँच दलिय गठबन्धनले देशलाई उदोगतीतर्फ हिडाल्ने काममा लागेको एमाले पाल्पाले जनाएको छ । दिनहुँ महंगी बढ्दै गएको, राष्ट्रियता कमजो हँुदै गएको, भारतीय पक्षले खुलमखुला सिमाना मिच्दा, नेपाली भुमिका सडक बनाउँदा, नेपाली नागरिकको तुईन काटेर हत्या गर्दा समेत सरकार आवश्यक कदम नचाली मुकदर्शक भई बसेकाले जनताहरु अब प्रतिवादमा उत्रिनु पर्ने समय आएको नेकपा एमालेका पोलिटिव्युरो सदस्य ठाकुर गैरेले बताए । पाल्पामा खानी सञ्चालकहरुले अत्याधिक मात्रामा अनियमिता गरेको, अरवौ रुपैयाँको राजश्व छलेको, स्थानीयवासीहरुलाई उठिवास लगाएको, जथाभावी चुनढुङ्गा उत्खनन् गर्दा बस्ती नै विस्थापित भएको, जिल्लाको विकास निर्माणमा भन्दा चुनढुङ्गा तथा खानी कम्पनीहरुले दोहन मात्र गरेकाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको पत्रकार सम्मेलनमा नेता गैरेले बताए । सिद्धबाबा क्षेत्रको सडक तत्काल सुधार गर्न, सुरु·मार्गको तत्काल काम शुरु गर्न सम्बन्धित पक्षसँग नेकपा एमाले पाल्पाले अनुरोध गरेको छ । जिल्लाका आयोजना निर्माणमा ढिलासुस्ती भएको, ठेकेदारहरुबाट लापरवाही, ढिलासुस्ती भएकाले कार्यालयहरुको ध्यानाकर्षण गराएको छ ।

कार्यक्रममा पत्रकारहरुले जिल्लाबाट अरबौं रुपैयाँको राजश्व चुहावट भएको, चुनढुङ्गा खानीमा राजनीतिकदलका नेता तथा कार्यकर्ता संलग्न भई अनियमितामा सहभागी भएको, चुनढुङ्गा भएका स्थानीयतहका नेताहरु समेत मिलोमोतोमा रहेकाले छानविन गर्नुपर्ने माग उठाएका छन् । कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष रेखीराम राना, बरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार माधव अर्याल, विष्णु घिमिरे लगायतले जिल्लाको सम्पत्ती कौडीको रुपमा संघ संस्थाले दोहन गर्दा पनि जिल्लाका राजनीतिक दलहरु चुपचाप रहनुले दलहरुपनि चुनढुङ्गा उत्खनन्को अनियमिताको मिलेमोतोमा संलग्न छन् की भन्ने आंशका जन्मिएको बताए । कार्यक्रम पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेले नागरिकतहबाट उठेका समस्या तथा सुझावहरुलाई अध्यन अवलोकन गरी जनताको हितमा हुने गरी नेकपा एमाले पार्टी परिचालन हुने प्रतिवद्धता जनाए । कार्यक्रम पार्टी सचिव रामजी पोखरेललको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update