Shittalpati
माथागढीमा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिने बढे

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकामा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा वृद्धि भएको छ । गाउँपालिकाले स्वास्थ्य संस्थाबाट सुत्केरी गराउने विभिन्न अभियान सञ्चालनसँगै गर्भवती महिलालाई प्रोत्साहन गरेकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा तिब्र वृद्धि भएको हो । गाउँपालिकामा बर्थिङ सेन्टरबाट हालसम्म ६४ जनाले प्रसूति सेवा लिइसके छन् । बर्थिङ् सेन्टर सुरु भएसँगै यहाँका महिलाहरुलाई प्रसूतिका लागि सहज भएको छ । गाउँपालिकामा वर्थिङ सेन्टर सञ्चालनमा आएयताको तथ्याड्ढ हेर्दा ६४ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गाउँमै भरपर्दो प्रसूति सेवा सञ्चालनमा आएपछि गाउँबासीलाई सहज भएको छ । माथागढी गाउँपालिकामा वडा १ चिदीपानी, २ रुप्से, ३ कसेनी, ४ झडेवा, ५ हात्तिलुङ, ६, गोठादी र वडा नं.७ रहवासमा वर्थिङ सेन्टर सञ्चालनमा छन् । गाउँमै सुरक्षित र भरपर्दो माध्यमबाट प्रसूति सेवा उपलब्ध भएपछि प्रसूति सेवाकै लागि सदरमुकाम तथा अन्य जिल्ला धाउनु पर्ने बाध्यता हटेको स्थानीय विर्सना सारूले बताईन् ।

उनले भनिन् ‘गाउँमै सुत्केरी सेवा उपलब्ध भएपछि हामीलाई धेरै सहज भएको छ पहिला गाउँमै ऋण धन गरेर तानसेन अस्पताल धाउनु पर्ने अवस्था थियो यो सेवा उपलब्ध भएसँगै गाउँको प्रसूति सेवाले राहत मिलेको छ ।’ गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जिसीले गाउँ–गाउँमा बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै सुरक्षित र भरपर्दो प्रसूति सेवा लिनेको संख्यामा वृद्धि भएको बताए । प्रसूति सेवाका लागि स्वास्थ्यकर्मीहरु २४ सै घण्टा सेवामा खटिएको उनले बताए । गाउँपालिकाको बर्थिङ सेन्टर स्थापना हुन बाँकी वडामा पनि तत्कालै प्रसूति सेवा सञ्चालनमा ल्याउने गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update