Shittalpati
पाल्पामा कोरोना परीक्षण सुरु, दैनिक एक सय ३२ जनाको नमूना परीक्षण हुने

रामचन्द्र रायमाझी
पाल्पा । पाल्पामा पनि कोरोना (कोभिड–१९) भाइरसको परीक्षण सुरु भएको छ । विश्वलाई नै त्रसित पारेको कोरोनाको परीक्षण प्रदेश पाँचको पाल्पामा पनि सुरु भएको हो । यसअघि बिरामीको नमूना परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही र काठमाडौं पठाउने गरिएकोमा विहिबारबाट पाल्पाको तानसेनमै परीक्षण सुरु भएको छ । अब कुनै पनि व्यक्तिमा कोरोनासंक्रमण भए नभएको परीक्षण तानसेनको काजीपौवा बाटै थाहा हुनेछ ।

संघीय सरकारले पाल्पा अस्पताललाई कोरोना परीक्षणका लागि आवश्यक पीसीआर मेसिन सहित किट र सामग्री उपलब्ध गराएको थियो । मेसिन जडान भएसँगै विहिबारदेखि सर्वसाधारणको नमूना परीक्षण गरिएको अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले बताए । उनले भने‘ बुधबार छिट्टफुट्ट रुपमा केही स्वाब परीक्षण गरिए पनि विहिबारदेखि विधिवत् रुपमा कोरोना परीक्षण कार्य थालिएको हो । ‘अब परीक्षणका लागि नमूना भैरहवा, काठमाडौं पठाउनुपर्ने बाध्यता रहेन’,पाण्डेले भने, ‘पाल्पाका सबै नमूना तानसेनमै परीक्षण हुने छन् ।’ पाल्पामै कोरोना परीक्षण प्रयोगशाला स्थापना भएको र परीक्षणको रिपोर्ट पनि अब छिटो आउने अध्यक्ष पाण्डेले बताए ।


मेसिन जडान भएसँगै विहिबारदेखि सर्वसाधारणको नमूना परीक्षण गरिएको छ । बुधबार छिट्टफुट्ट रुपमा केही स्वाब परीक्षण गरिए पनि विहिबारदेखि विधिवत् रुपमा कोरोना परीक्षण कार्य थालिएको हो । अब परीक्षणका लागि नमूना भैरहवा, काठमाडौं पठाउनुपर्ने बाध्यता हटेको छ । अब पाल्पाका सबै नमूना तानसेनमै परीक्षण हुने छन् । पाल्पामै कोरोना परीक्षण प्रयोगशाला स्थापना भएको र परीक्षणको रिपोर्ट पनि अब छिटो आउने छ ।

नेत्र प्रसाद पाण्डेय
अध्यक्ष, पाल्पा अस्पताल

पाल्पामा यो प्रविधि आएसँगै अब पाल्पा लगायत छिमेकी जिल्ला गुल्मी,अर्घाखाँची, स्याङजामा संकलन भएका नमूना समेत यतै परीक्षण हुनेछ । स्थानीय तह र स्वास्थ्य संस्थाबाट कोरोना परीक्षणका लागि आउदा सम्बन्धित स्वास्थ्य कार्यालयको सिफारिस भने अनिवार्य रहेको छ । प्रयोगशालाका इन्चार्ज खिलध्वज कार्कीले बिहीबारबाटै कोरोनाको परीक्षण थालिएको बताए । उनले भने ‘मंगलबार र बुधबार लगाएर मेसिन जडान भयो, बिहीबारबाट नमूना परीक्षणको काम थालेका छौं’। ‘मंगलबार भैरहवाबाट पोजेटिभ र नेगेटिभ देखिएका नमूना ल्याएका हौं, तिनै स्याम्पललाई मेसिनमा परीक्षण गर्‍यौं,’ उनले भने, ‘मेसिनले सही रुपमा काम गरेपछि परीक्षण सुरु गरेका हौ’ । उनका अनुसार संकलन गरिएको स्वाब मेसिनमा राखिएको डेढघण्टामा रिपोर्ट दिन सकिने छ । ‘नमूना परीक्षणका लागि अन्य प्रक्रियाहरु पुरा गर्न कम्तिमा एक/दुई घण्टा लाग्छ । तर, सबै रिपोर्ट तयार पारेर दिँदा ४/५ घण्टामा बिरामीले नमूनाको रिपोर्ट पाउने छन,’ उनले भने । मेसिनको प्रतिघण्टा ९६ जनाको स्वाब परीक्षणको क्षमता रहे पनि अटो एस्ट्रा नहुँदा ९० जनाको मात्र परीक्षण गर्न सकिने प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका इन्चार्ज कार्कीका अनुसार तत्कालका लागि एक सिफ्टमा ४४ जनाको मात्र स्वाब परीक्षण गरिन्छ । प्रयोगशालामा दैनिक तीन सिफ्टमा १ सय ३२ जनाको स्वाब परीक्षण गरिने कार्कीले बताए । कोरोना परीक्षणका लागि दैनिक विहान ८ बजेदेखि दिउसो २ बजेसम्म नाम दर्ता गर्न सकिने छ । स्वाब परीक्षण दैनिक १२ बजेदेखि दिउसो २ बजेसम्म हुने प्रयोगशालाले जनाएको छ । स्वास्थ्य आपत्कालिन कार्यसञ्चालन केन्द्रका अनुसार परीक्षण शुल्क २ हजार लाग्ने छ । स्थानीय तह र स्वास्थ्य संस्थाका लागि भने स्वास्थ्य कार्यालयको सिफारिसमा निशुल्क परीक्षण हुने छ ।

संघीय सांसद सोमप्रसाद पाण्डेले स्वास्थ्य सेवा विभागबाट प्राप्त पिसिआर ल्याव सञ्चालनका लागि आवश्यक पर्ने किट तथा स्वास्थ्य सामग्री यस अघि नै अस्पताललाई उपलब्ध गराएका थिए । उनले झण्डै २२ लाख बराबरको स्वास्थ्य सामग्री अस्पतालाई उपलब्ध गराएका हुन् । सरकारले तय गरेको स्वास्थ्य मापदण्ड अनुसार नै प्रयोगशालाका कोठाहरू निर्माण गरिएको छ । संघीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा प्रयोगशाला सञ्चालनमा आएको हो । यस अघि संघीय सरकारमार्फत पाल्पा अस्पतालको मातहतमा रहने गरी कोरोना परीक्षणका लागि एक करोडको पिसिआर मेसिन खरिद गरिएको थियो । पाल्पामा कोरोना परीक्षण सुरुभएसँगै बाहिर धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

यस अघि जिल्लाबाट कोरोना शंकास्पद बिरामीको नमूना परीक्षणका लागि स्वाव संकलगन गरी प्रादेशिक प्रयोगशाला रुपन्देही र काठमाडौंको पठाउने गरिएको थियो । परीक्षण सुरु भएसँगै अब जिल्लाहरुबाट नमूना संकलन गर्दै परीक्षणलाई तीव्रता दिइने पाल्पा अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update