Shittalpati
दसैँ, तिहार नजिकिँदा समेत छैन बजारमा चहल–पहल

रामचन्द्र रायमाझी
पाल्पा । हिन्दुहरुको महान् चाड दसैँ, तिहार घरदैलोमा आइपुग्दा सधैँ भीडभाड हुने जिल्लाका प्रमुख बजारहरु यतिबेला सुनसान छन् । विशेषगरी चाडपर्व दसैँ–तिहारमा किनमेल गर्नेको भीड हुने तानसेनका बजारहरुमा दसैँ तिहारको कुनै रौनक छैन । दसैँ सुरु हुन अब दुई हप्ता पनि बाँकी छैन । पहिले दसैँ आउनु एक महिना अघिदेखि बजारमा चहलपहल हुन्थ्यो । बजारमा चहलपहल बढेपछि दसैँ आए जस्तै लाग्थ्यो । तर यसपाली दसैँ आउन लागिसक्दा समेत बजारमा चहल–पहल छैन । बजारमा दसैँको उत्साहको सट्टा डर र त्रास छ । कोरोनाका कारण अधिकांश मानिसहरु आर्थिक रुपमा समस्यामा छन् । ४ महिना लामो लकडाउनका कारण जिल्लाका उद्योग, व्यापार व्यवसाय संकटमा छन् । कयौंको जागिर गुमेको छ । व्यापार गर्नेहरुको व्यापार चौपट छ । किनबेच हुने थलोमा मान्छे जानै डराएका छन् । जसका कारण बजारमा अझैसम्म दसैँको रौनक नदेखिएको हो । नयाँ लुगा लगाउने, मीठो खाने चाडपर्वका रुपमा समेत परिचित दसैँ व्यापार–व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठूलो सिजन हो । खसी–बोकादेखि लत्ताकपडा, खाद्यान्नदेखि सवारीसाधन सम्मको विक्रीमा बहार आउने गर्छ हरेक दसैँमा । त्यसैले अरु विदाको मुडमा हुँदा व्यापारीहरु चाहीँ झन् बढी व्यस्त हुने गर्छन् । दसैँको अघिल्लो दिनसम्म पनि उनीहरुले फुर्सद पाउँदैनन् । तर यस वर्ष भने व्यापारीहरुका लागि त्यस्तो छैन । कोरोना महामरीका कारण उनीहरुले यसपालीको दसैँमा अघिल्ला वर्षको जस्तो चहल–पहल नभएको बताउँछन् ।

तानसेनको मखनटोल, सिल्खानटोल, नारायणस्थान, शित्तलपाटी, टक्सारटोल, रामपुरका मुख्य बजार, हार्थोक, प्रभास लगायतका बजारहरु कोभिडका कारण सुनसान छन् । अघिपछि चाडपर्वमा भिडभाड हुने बजारहरु दसँैको सुरुवातमा नै सुनसान बनेका छन् । अघिल्लो वर्षको तुलनामा अहिलेको दसैँ–तिहारमा खासै चहल–पहल नभएको व्यापारीहरु बताउँछन् । तानसेनको तेस्रो सडकमा विशाखा फेन्सी पसल सञ्चालन गर्दै आएका मनिष बज्राचार्यले चाडपर्व आउनै लाग्दा समेत व्यापार नभएको बताउँछन् ।

कोरोनाका कारण विशेष शर्तकता अपनाउनु पर्ने भएकाले बजारमा मानिसको भीड कम भएको उनको बुझाइ छ । व्यापार नहुँदा सटर भाडा तिर्न समेत आफुहरुलाई धौँधौँ भएको बज्राचार्यले गुनासो गरे । एकातिर व्यापार छैन अर्को तिर सटर भाडा तिर्नुपर्ने र बैंकलाई समयमै ब्याज तिर्नु पर्दा आफुहरु समस्यामा परेको राजेश फेन्सीका व्यवस्थापक रमेश बज्राचार्य बताउँछन् । उनी भन्छन् ‘कोभिडबाट प्रभावित साना व्यापारीहरुका लागि सरकारले करमा छुट गरिदिनु पर्ने र बैंक ब्याजको समय सिमा समेत थप गरिदिनुपर्छ ।’ कोरोनाका कारण यसअघि नै विद्यार्थीहरु घर फर्केका कारण पनि बजारमा मानिसको भीड कम भएको छ । कतिपय मानिसहरु घर गएर फर्कन नसकेकाले पनि व्यापारमा धेरै ह्रास आएको व्यापारीहरु बताउँछन् । आमनागरिकको आयस्रोत घटेको र कोरोनाको त्रास बाँकी नै रहेकाले अहिले दैनिक उपभोग्य वस्तु बेच्ने पसल बाहेकमा व्यापार हुन सकेको छैन । किराना, डेरी, तरकारी तथा फलफूल पसलमा सामान्य व्यापार भइरहेको भएपनि पहिलेको तुलनामा निकै कम व्यापार भएको व्यवसायीहरुको भनाई छ ।

तानसेनको तेस्रो सडकमा रानीमहल फेन्सी व्यवसायी गर्दै आएका शालिकराम बस्यालले बजार खुले पनि व्यापार नभएको बताउँछन् । आम्दानीको स्रोत घटेको र कोरोनाको त्रासका कारण ग्राहक कम भएको उनको भनाइ छ । मध्यम र न्यूनस्तरका ग्राहकहरुको आम्दानी नहुँदा बजार प्रभावित भएको बस्याल बताउँछन् । विगतको तुलनामा अहिले व्यापार नै नभएको उनको भनाई छ । बस्याल भन्छन् ‘कोरोनाका कारण पहिलो कुरा मान्छे बजारमा निस्किएका छैनन्, निस्किएका मान्छे पनि आम्दानी नभएकाले सपि· गर्न आउन छोडे, त्यसैले व्यापार छैन ।’ व्यापार नहुँदा पनि सरकारले समयमै कर तिर्न ताकेता गर्नु दुःखद् भएको उनी बताउँछन् । बस्याल भन्छन् ‘व्यापार नभएका बेलामा सरकारले कर मिना गरेर प्रभावित व्यवसायीलाई राहत दिनुपर्छ ।’ उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले बजारमा पहिलेको तुलनामा २५ प्रतिशत पनि व्यापार नरहेको बताए । उनले बजारमा स्थानीय नागरिकको चहल–पहल भएपनि बजारमा किन बेचको माहोल अझै बन्न नसकेको बताए । घरभाडा, बैंकको ब्याज तिर्न सक्ने अवस्थामा व्यवसायीहरु नरहेको अध्यक्ष महर्जनको भनाई छ । उनले व्यवसायीहरु पसल खोलेर कुर्ने काममात्र भएको बताए ।

दसैँ नजिकिँदै गर्दा पनि बजारको माहोल हेर्दा दसैँ आएको जस्तो महशुस नभएको होटल व्यवसाय संघ पाल्पाका वरिष्ठ उपाध्यक्ष जीवलाल सुवेदीले बताए । उनका अनुसार गत वर्षको तुलनामा करिब ८० प्रतिशतले मानिसको चहलपहल कम भएको बताए । साथै मानिसको चहलपहल केही मात्राले बढे पनि व्यापार भने हुन नसकेको उनी बताउँछन् । विगतका वर्षहरुमा यो समय निकै भिडभाड हुने गरे पनि अहिले दैनिक फाट्टफुट्ट २÷४ जना मात्रै ग्राहक आउने गरेको उनको भनाई छ । ४ महिना लामो लकडाउनका कारण जिल्लाका एक दर्जनबढी होटलहरु समेत विस्थापित हुने अवस्थामा पुगेको सुवेदी बताउँछन् । उनले भने ‘व्यवसाय चौपट भएपछि होटलहरुमा कार्यरत ८० प्रतिशत कर्मचारीहरुको रोजगार समेत गुमेको छ ।’

प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update