Shittalpati
पाल्पा र गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

पाल्पा । पाल्पा र गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । पाल्पाको रम्भामा एक पुरुषको शव फेला परेको छ भने, गुल्मीको गुल्मी दरबारमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको हो । पाल्पाको रम्भा गाउँपालिका –२ मा एक पुरुषको शव फेला परेको छ । सोमबार विहान रम्भा २ गाबुडाँडा बस्ने वर्ष ५० का नारायण बहादुर जर्घाको मृत अवस्थामा शव फेला परेको हो । घरमा थाहा नदिई हिडेका उनी केही समय सम्पर्क विहीन भएका थिए । उनी सम्पर्क विहीन भएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । जर्घालाई प्रहरी, स्थानीय र आफन्तले खोजतलास गर्दा घर नजिकै पूर्वतर्फ रहेको गाबुडाँडा लेधेम पहाडको खोल्सामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै गुल्मीमा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

सोमबार बिहान ६ बजेतिर जिल्लाको गुल्मीदरबार गाउँपालिका १ बलिथुम टापुबाट मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही स्थानकै १५ वर्षीय धनबहादुर माझीको घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए । ट्याक्टर अनियन्त्रित भएर सडकभन्दा करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ट्याक्टर चालक कपिलवस्तु घर भएका ३० वर्षिय रेशम ताम्राकार र गुल्मीदरबार गाउँपालिका १ का १५ वर्षिय लालबहादुर बुढा मगर घाइते भएका छन् । ताम्राकार र मगर दुवैको ढाडमा चोट लागेको र थप उपचारको लागि मजुवा पठाइएको पन्तले जानकारी दिए । घाइतेहरुको अवस्था भने सामान्य रहेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update