Shittalpati
पाल्पामा पिसिआर ल्याव सञ्चालनको काम ८० प्रतिशत सकियो, मंगलबारदेखि सञ्चालनमा आउने

पाल्पा । पाल्पामा पिसिआर ल्याव सञ्चालनको काम अन्तिम चरणमा पुगेको छ । कोरोना परीक्षणका लागि सञ्चालनमा ल्याउन लागिएको ल्याव सञ्चालनको कार्य अन्तिम चरणमा पुगेको हो । ल्यावको आईतबारदेखि आन्तरिक परीक्षणको काम सुरु भएको छ । ल्यावका लागि आवश्यक सम्पूर्ण मेसिन जडानको कार्य सकिएको ल्याव इञ्चार्ज खिलध्वज कार्कीले बताए । उनका अनुसार ल्याव सञ्चालनको ८० प्रतिशत काम सकिएको छ । बाँकी २० प्रतिशत काम सोमबारसम्म सकिने र मंगलबारदेखि स्वाब परीक्षण हुने इञ्चार्ज कार्कीले जानकारी दिए ।

केही दिन अघि कोरोना परीक्षणका लागि आवश्यक किटहरु आइसकेको छ । संघीय सांसद सोमप्रसाद पाण्डेले स्वास्थ्य सेवा विभागबाट ल्याएको पिसिआर ल्याव सञ्चालनका लागि आवश्यक पर्ने किट तथा स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध गराएका थिए । झण्डै २२ लाख बराबरको स्वास्थ्य सामग्री आइसकेको पाल्पा अस्पतालका अध्यक्ष नेत्र प्रसाद पाण्डेले बताए । उनका अनुसार मेसिन जडानको काम सकिएको र अन्य केही प्राविधि काम बाँकी रहेकाले मंगलबादेखि ल्याव सञ्चालन गरिने छ । ‘भौतिक संरचना निर्माणको काम लगभग सकिएको छ,’ उनले भने ‘सरकारले तय गरेको स्वास्थ्य मापदण्ड अनुसार कोठाहरू निर्माण भएका छन् ।’

संघीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा प्रयोगशाला सञ्चालनमा आउन लागेको छ । यस अघि संघीय सरकारले पाल्पा अस्पतालको मातहतमा रहने गरी कोरोना परीक्षणका लागि पिसिआर मेसिन राख्ने निर्णय गरेपछि एक करोड रुपैयाँको मेसिन खरिद प्रक्रिया अगाडि बढेको थियो । छोटो प्रक्रियामार्फत टेण्डर गरेर छनौट भएको ओम सर्जिकल्सले पिसिआर मेसिन जडानको कार्य गरिरहेको छ । ल्याव सञ्चालनमा आएपछि पाल्पासहित स्याङ्जा, गुल्मी, अर्घाखाँची र अन्य छिमेकी जिल्लाको स्वाब परीक्षणमा सहजता हुने छ ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update