Shittalpati
सुनिन छाड्यो सारङ्गीको धुन, गन्धर्व जाति भन्छन्–‘युवा अन्य व्यवसायमा लाग्दा पेसा संकटमा’

पाल्पा । सारङ्गीलाई रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई लोभ्याउँछ । सारीको धुनसँगै गन्धर्व जातिले सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सु–सूचित गर्ने चलन थियो । त्यो सुमधुर सारङ्गी धुन आजभोलि गाउँ तथा शहरी क्षेत्रमा विस्तारै सुनिन छाडेको छ । रम्भा गाउँपालिका–५ ताहुँमा भीमबहादुर गन्धर्व अपमान र छुवाछुतकै कारण गन्धर्व जातिका युवा यो पेशाबाट विस्थापित भएको बताउँछन् । गीतसङ्गीतमा सारङ्गीको भूमिका निकै रहे पनि अहिले यो नेपाली लोकबाजा बजाउने मानिसको अभाव देखिएको छ । सारङ्गी बजाउनेहरु अन्य पेशा व्यवसायमा लागेपछि यो पेशा नै धरापमा परेको छ । सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक कारण गन्धर्व जातिका मानिस यो पेशाबाट वर्षेनी विस्थापित हुनुपरेको पीडा छ । युवा पुस्ता आफूले अँगालेको पेशामा आम्दानी र सम्मानसमेत चाहन्छ तर त्यसको अभावमा युवा पुस्ता अन्य पेशा व्यवसायमा आकर्षित हुँदै जाँदा सारङ्गी बजाउने पेशा नै संकटमा परेको उनी बताउँछन् ।

ताहुँका जगतबहादुर गन्धर्व सारङ्गी बाजा नेपालको राष्ट्रियतासँग सम्बन्ध जोडिए पनि यस पेशामा आवद्धलाई सम्मानको खाँचो रहेको बताउँछन् । नेपालमा सूचना प्रविधिको विकास हुनुअघि सञ्चारको भरपर्दो माध्यम सारङ्गी मानिन्थ्यो । अहिले सूचना प्रविधिको विकास र प्रयोगले यस बाजाको महत्वमा कमी आएको छ । नेपाली मौलिक लोकबाजाका रुपमा परिचित सारङ्गी संरक्षणमा युवाको चासो बढाउन आवश्यक रहेको उनले बताए । गन्धर्व जातिको पुख्र्यौली पेशा नै सारङ्गी वादन हो । गन्धर्व जातिको पुख्र्यौली पेशा लोप हुनाका कारण सामाजिक, सांस्कृतिक व्यवस्था नै बाधक बनेको तर्क जगत गन्धर्वको छ । रम्भा गाउँपालिका ताहुँकी शोझा रञ्जन गन्धर्व कला र गलामा धनी भए पनि राष्ट्रियस्तरमा सम्मान पाउन नसकेकामा गुनासो पोख्छन् । सारङ्गी बजाउन नयाँ पुस्तालाई आकर्षित गर्न आवश्यक रहेको उनको जोड छ । यसका लागि सरकारले सारङ्गी सम्बन्धी तालीम तथा प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको उनी बताउँछन् । विसं २०६८ को जनगणनानुसार तानसेनमा ९८ पुरुष र ९५ महिला गरी कुल १९३, रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा ११ महिला र ११ पुरुष तथा रम्भाको ताहुँमा आठ पुरुष र १९ महिला गन्धर्व बसोबास गर्दै आएका छन् । –रासस

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update