Shittalpati
पहिरोमा बेपत्ता एकै परिवारका ५ सहित ६ जनाकै शव भेटियो

रामचन्द्र रायमाझी
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटका छुट्टाछुट्टै दुई स्थानमा गएको पहिरोमा परी बेपत्ता ६ जनाकै शव भेटिएको छ । बिहीबार एक जना र शुक्रबार एकै परिवारका पाँच जनाको शव भेटिएको हो । तीन बालबालिकाको शव शुक्रबार दिउँसो र दुई जनाको भने राती अबेर मात्र फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार बिहान पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जना सहित ६ जना बेपत्ता थिए । फोक्सिङकोट सुरुमडाँडामा विरबहादुर गाहाको पहिरोले घर पुरिदा बेपत्ता २७ वर्षीया मोतिसरा गाहाको बिहीबार नै शव भेटिएको थियो । उनी गर्भवती महिला रहेको बुझिएको छ । फोक्सिङकोट बेलौजाका ६३ वर्षीय हुमबहादुर गाहा, उनकी श्रीमती ४७ वर्षीया धनीसरा गाहा, १७ वर्षीया कृष्णामाया गाहा (छोरी), १४ वर्षीया खुमीसरा गाहा (नातिनी) र ८ वर्षीया लक्ष्मी गाहा (नातिनी) को शुक्रबार राती शव फेला परेको प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी मदन गिरीले बताए । शुक्रबार भेटिएका पाँचै जना एकै परिवारका हुन् । नेपाली सेना, प्रहरी, सशस्त्र, स्थानीय दुई दिनसम्म उद्दारमा जुटेका थिए । निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि शुक्रबार बिहानबाट मात्रै बेपत्ताहरुको खोजीकार्य सुरु भएको थियो ।

निरन्तरको अविल वर्षाले बिहीबार पहिरोले फोक्सिङकोट सुरुमडाँडामा एक र बेलौजाका दुई घर पुरिएका थिए । अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले घर पुरिदा ६ जना बेपत्ता भएका थिए । उनीहरुको शनिबार शव पोस्टमार्टम गरिएको छ । तानसेनबाट गएको डाक्टरहरुको टोलीले ताँहुको प्राथमिक स्वास्थ्य केन्द्रमा उनीहरुको शव पोस्टमार्टम गरेको हो । पोष्टमार्टमपछि शव आफ्न्तलाई बुझाइएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । पाँच जनाको शनिबार नै राम्दीघाटमा अन्तिम संंस्कार गरिएको छ , भने सुरुमडाँडामा पहिरोमा पुरिएकी महिलाको भने बिहीबार जिल्ला अस्पतालमा पोष्टमार्टमपछि शव आफ्न्तलाई बुझाईएको थियो । पहिरोमा पुरिएर मृत्यु हुने व्यक्तिको परिवालाई प्रति परिवार ५० हजार रुपैयाँ राहत दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । उनका अनुसार पहिरोका कारण बेलौजाको तल्लो टोलका १७ घर परिवार जोखिममा रहेका छन् । जोखिममा रहेका घर परिवारलाई नजिकै रहेको बस्तीका घर र स्वास्थ्यचौकीमा व्यवस्थापन गरिएको अध्यक्ष भण्डारीले बताए । उनले भने ‘विस्थापित परिवारलाई छिट्टै नै सुरक्षित स्थानको खोजि गरी व्यवस्थापन गरिने छ । उनीहरुको लागि खाने, बस्ने व्यवस्थाको प्रवन्ध गाउँपालिकाले नै गर्ने छ ।’

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update