Shittalpati
अपाङ्गता व्यक्तिहरुलाई समानता र सहभागितामा जोड

रमेश विश्वकर्मा

गुल्मी । अपाङ्गता भएका व्यक्तिहरुलाई समानता र सहभागितामा जोड दिनुपर्नेमा जिल्लामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । ‘दिगो विकासको लक्ष्यःअपाङ्गता मैत्री भविष्य’ भन्ने मुल नाराका साथ रुरुक्षेत्र गाउँपालिकामा भएको अभिमुखीकरण तथा छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । उनीहरुले संविधानमा अपाङ्गताहरुका धुप्रै अधिकारहरु उल्लेख गरिए पनि व्यवहारतःकार्यान्वयन हुन नसकेको भन्दै अब समानता र सहभागितामा अपाङ्गता भएका व्यक्तिहरुको स्थान सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापन केन्द्र, सक्षम परियोजना गुल्मीको आयोजना र रुरुक्षेत्र गाउँपालीकाको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र पहुँचयुक्तता सुनिश्चित गर्न विद्यालय व्यवस्थापन समितिहरुको भूमिका विषय अभिमुखीकरण तथा छलफलमा कार्यक्रममा गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले अपाङ्गता क्षेत्र अझै सम्म उपेक्षित हुनु परेको बताए । उनले अबका दिनमा पूर्ण समानता, सहभागितालाई सुनिश्चित गर्न हरेक क्षेत्र लाग्नु पर्ने उल्लेख गर्दै कम्तीमा संरचनात्मक अवरोधको अन्य गरिनुपर्नेमा जोड दिए ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी पन्थले बन्न सुरु भएका र अब बन्ने भवनहरुमा अपाङ्गमैत्री भए नभएको अनुगमन गर्ने बताउँदै उनीहरुको तथ्यांक लिने बताईन । उनले अपाङ्गता र यसका विविध पक्षमा सोचनिय बनाई दिएकोमा अपाङ्ग बाल अस्पताल, सक्षम परियोजनालाई धन्यवाद समेत दिइन् । प्रमुख प्रसाशकिय अघिकृत चेतनारायण गिरीले स्थानीय तहमा अपाङ्गमैत्री संरचानामा आफुहरुले विशेष ध्यान दिएको बताए । कार्यक्रममा अपाङ्गतालाई हेर्ने सोँचका विकासक्रम, पहुँचयुक्तताको अवस्था र अपाङ्गता भएका व्यक्तिका अधिकार सम्बन्धी महासन्धि तथा अपाङ्गता अधिकार ऐन लगाएत सार्वजनिक भौतिक निर्माण तथा सञ्चार निर्देशिका २०६९ कार्यान्वयनका विषयमा समेत व्यापक छलफल भएको थियो । जनप्रतिनिधिहरु, गाउँपालिका भित्रका विभिन्न विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापक, अपाङ्गता समन्वय समितिका सदस्यहरु र पालीकाका कर्मचारीहरुको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रम सक्षम परियोजना गुल्मीका कार्यालय प्रमुख शालिकराम तिमिल्सिनाले सहजीकरण गरेका थिए । सक्षम परियोजनाका पुर्नस्थापना सहायक निर्मला पुरीको स्वागत तथा सहायक होमराज केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update