Shittalpati
फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता  एकै घरका पाँच जना सहित ६ जनाकै शव भेटियो

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटका छुट्टाछुट्टै दूई स्थानमा गएको पहिरोमा परी बेपत्ता ६ जनाकै शव भेटिएको छ । विहिबार एक जना र शुक्रबार एकै परिवारका पाँच जनाको शव भेटिएको हो । तीन बालबालिकाको शव शुक्रबार दिउँसो र दुई जनाको भने बेलुका अबेर मात्र फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार बिहान पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जना सहित ६ जना बेपत्ता थिए । फोक्सिङ्कोट सुरुमडाँडामा विरबहादुर गाहाको पहिरोले घर पुरिदा बेपत्ता २७ वर्षीया मोतिसरा गाहाको विहिबार नै शव भेटिएको थियो । फोक्सिङकोट बेलौजाका ६३ वर्षीय हुमबहादुर गाहा, उनकी श्रीमती ४७ वर्षीया धनीसरा गाहा,१७ वर्षीया कृष्णामाया गाहा (छोरी), १४ वर्षीया खुमीसरा गाहा (नातिनी) र ८ वर्षीया लक्ष्मी गाहा (नातिनी) को शुक्रबार अवेरमात्र शव फेला परेको प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी मदन गिरीले बताए । शुक्रबार भेटिएका पाँचै जना एकै परिवारका हुन् ।

नेपाली सेना, प्रहरी, सशस्त्र, स्थानीय दुई दिनसम्म उद्दारमा जुटेका थिए । निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि शुक्रबार बिहानबाट मात्रै बेपत्ताहरुको खोजीकार्य सुरु भएको थियो । निरन्तरको अविल वर्षाले विहिबार पहिरोले फोक्सिङकोट सुरुमडाँडामा एक र बेलौजाका दुई घर पुरिएका थिए । अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले घर पुरिदा ६ जना बेपत्ता भएका थिए । उनीहरुको आज शव पोस्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । ताँहुको प्राथमिक स्वास्थ्य केन्द्रमा शव पोस्टमार्टम गर्न तानसेनबाट डाक्टरहरुको टोली पुगेको छ । पहिरोका कारण बेलौजाको तल्लो टोलका १७ घर परिवार जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । उनले भने ‘जोखिममा रहेका घर परिवारलाई नजिकै रहेको बस्तीका घर र स्वास्थ्यचौकीमा व्यवस्थापन गरिएको छ ।’

प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update