Shittalpati
समाचार प्रभाव : नदी दोहनको सम्बन्धित निकायले थाल्यो अनुगमन

रामचन्द्र रायमाझी
पाल्पा । पाल्पाको पूर्वी निस्दी गाउँपालिकामा भएको व्यापक नदी दोहनको सम्बन्धित निकायले अनुगमन थालेको छ । आइतबार शित्तलपाटी डटकम र मंगलबार नवजनचेतना दैनिकमा ‘मिलेमतोमा नदी दोहन’ शिर्षकमा समाचार प्रकाशित भएपछि अनुगमन समितिका संयोजक तथा जिल्ला समन्व समितिका कार्यवाहक प्रमुख मिरा मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले बुधबार नदी दोहन क्षेत्रको स्थलगत अनुगमन गरेको छ । निस्दी गाउँपालिकाका १ को कालीगण्डकीको भोटाहाघाटमा स्थानीय सरकारका केही व्यक्ति र ठेकेदारको मिलेमतोमा ठेक्का सम्झौता भन्दा दश गुणा बढी नदीजन्य पदार्थ निकासी भएको समाचार बाहिर आएपछि जिल्ला समन्व समितिका कार्यवाहक प्रमुख मरासिनीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) सन्तोष भट्टराई, शसस्त्र प्रहरीका डिएसपी अरुण कुमार सिं, जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवाली लगायतको टोलीले स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा आवश्यकता भन्दा बढी नै गिट्टी, बालुवा र ढुङ्गा उत्खनन गरी नदि दोहन भएको पाइएको अनुगमन समितिका संयोजक तथा जिसस कावा प्रमुख मरासिनीले बताईन् । उनले भनिन्,‘ हामी सम्पूर्ण कागजपत्र हेरेर मात्र अनियमिता भएको वा नभएको भन्न सकिने छ । ’ प्रारिम्भक रुपमा सम्पूर्ण कागज पत्रहरु हेरी कति परिणाममा उत्खनन् गरिएको छ, त्यसको प्राविधिक र जनप्रतिनिधि बसेर मुजुल्का उठाई त्यहाँबाट आएको रिपोर्टलाई हेरी पुनः अनुगमन समितिले छानविन गर्ने प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए । अनुगमन टोलीले छानविन नहुँजेल सम्मका लागि अहिले उत्खननमा रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत र ठेकेदार समेतको मिलेमतोमा नदी जन्यपदार्थ दोहन गरेको विषयले चर्चा पाएपछि मात्र सम्बन्धित निकायले ध्यान दिएको हो । गाउँपालिकामा थुप्रै अनियमितका घटनाहरु भए पनि सम्बन्धित निकायले चासो नदिदा त्यस्ता गतिविधिहरुले प्रश्रय पाएको स्थानीयको गुनासो छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भानुभक्त अर्याललले भने आफु गैरकानुनी कार्यमा नलागेको बताएका छन् । उनले भने ‘संयोगवस आफ्नो ठूली आमाको छोरा सिताराम देवकोटालाई उक्त बालुवा, गिट्टी उत्खननका लागि टेण्डर परेकाले आंशका गरिएको हो ।’ आफन्तालाई डेन्टर परेकाले केही व्यक्तिहरुले त्यो आरोप लगाएको अर्यालले बताए । नदिबाट निकालिएको गिट्टी, बालुवा र ढुंगा उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको प्रयोजनको लागि भनिए पनि ठेकेदार सिताराम देवकोटाले सर्वसाधारणलाई विक्री गरेको रहस्य समेत खुलेको छ । ७ लाख ३० हजारमा १० हजार घनमिटर नदिजन्य वस्तुको उत्खनन्का लागि गाँउपालिकासँग गत अर्थिक वर्षमा ठेक्का सम्झौता भएको थियो ।

नियम विपरीत नदी दोहन हुँदा समेत गाउँपालिकाका अध्यक्षले वास्तै नगरेको वडा १ का वडा अध्यक्ष पूर्णबहादुर खाँणले गुनासो गरे । उनले भने ‘मैले पटक–पटक गुनासो गर्दा समेत अध्यक्षले गिट्टी, बालुवा निकाल्न रोक्नु भएन ।’उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई पनि पटक–पटक अनुरोध गर्दा रोकिनुको साटो ठेकेदारले झन् कालीगण्डकीमै स्काभेटर चलाएर दोहन गर्न नछोड्नुले उनीहरुको पनि संलग्नता देखिएको वडा अध्यक्ष खाँणको बताए । उनले भने ‘गाउँपालिकाले वडाहरुसँग समन्वय नगरीकन,अनुगमन गर्ने अधिकार वडालाई नदिएका कारण मिलेमतोमा ठेकेदारले बदमासी गरेको हो । ’ नवलपरासी, तनहुँ र पाल्पाको सीमा क्षेत्रमा पर्ने कालीगण्डकी नदीबाट सम्झौता भन्दा दश गुणा नदीजन्य पदार्थ निकासी गर्न गाँउपालिकाले अधिकार दिएको, स्थानीयसँग समन्वय नगरेको,वडाका जनप्रतिनिधिहरुलाई जानकारी नै नभएको र पटक पटक यस विषयमा वडामा धेरै छलफल भएको र गाँउपालिकाले वेवास्तागरी अनुगमन नगर्दा नदिको दोहन भएको महिला सदस्य धनीमाया रानाले गुनासो गरिन् । ठेकेदारले सम्झौता भन्दा बढी नै नदिजन्य वस्तुको उत्खनन् गर्दा कालीगण्डकी नदीमा डोजर तथा स्काभेटरको प्रयोग गरेकोले नदिले बाटो परिवर्तन गरी खेती योग्य जमिनतर्फ कटान गर्न थालेपछि स्थानीय गाँउपालिकासँग आक्रोसित भएका छन् । जथाभावी नदी दोहन भएपछि खेती योग्य जमिन पुरिने भन्दै स्थानीय आक्रोसित बनेका हुन् ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update