Shittalpati
सुरक्षित गर्भपतन गराउने संख्यामा वृद्धि

तम्घास । गुल्मीमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । तीन आर्थिक वर्षको तथ्याड्ढले जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको देखाएको हो । आव २०७४/७५, ०७५/७६ र ०७६/७७ मा कूल दुई हजार ४ सय ४३ जनाले सुरक्षित गर्भपतन गराएका छन् । ती मध्ये १ सय ९६ जना २० वर्षभन्दा कम उमेरका छन् भने दुई हजार २ सय ४७ जना २० वर्षभन्दा बढी उमेरका रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार आ.व. ०७४/७५ मा जिल्लामा कूल ६ सय ६७ जनाले सुरक्षित गर्भपतन गराए । तीमध्ये १८ जना २० वर्षभन्दा कम उमेरका र ६ सय ४९ जना २० वर्षभन्दा बढी उमेरका रहेका छन् । ०७५/७६ मा जिल्लामा कूल ८ सय १५ जनाले गर्भपतन गराएका छन् । ती मध्ये ७८ जना २० वर्षभन्दा कम उमेरका र ७ सय ३७ जना २० वर्षभन्दा बढी उमेरका रहेका छन् । आव ०७६/७७ मा कूल ९ सय ५१ जनाले गर्भपतन गराएका छन् । तीमध्ये २० वर्षभन्दा कम उमेरका १ सय जना र २० वर्षभन्दा बढी उमेरका ८ सय ५१ जना रहेका छन् । चालू आवको साउन महिनामा मात्रै जिल्लामा ३० जनाले सुरक्षित गर्भपतन गराएको कार्यालय फोकल पर्सन गोपाल कार्कीले जानकारी दिए ।

जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह छन् । तीमध्ये सबैभन्दा धेरै रेसुङ्गा नगरपालिकाका महिला रहेका छन् । तीन आर्थिक वर्षमा नरपालिकाका एक हजार २ सय ६७ जनाले गर्भपतन गराएका छन् । ती मध्ये १ सय २४ जना २० वर्षभन्दा कम उमेरका र एक हजार १ सय ४३ जना २० वर्षभन्दा बढी उमेरका रहेको उनले जानकारी दिए । तीन आवमा पनि इस्मा गाउँपालिकाका महिलाले गर्भपतन गराएका छैनन् । तम्घास अस्पतालका डा.सुष्मा थपलियाले सुरक्षित गर्भपतन पनि शारीरिक हिसाबले हानिकारक भएको जानकारी दिए । गर्भपतन गराउँदा रगत धेरै जान सक्ने, सफा गर्दा पाठेघरमा गम्भीर प्रकारको असर हुन सक्ने, आन्द्रामा चोट लाग्ने लगायतको समस्या देखिने उनले बताए । त्यस्तै एकपटक गर्भपतन गराइसकेपछि लामो समयसम्म बच्चा नरहने सम्भावना पनि भएकाले सकेसम्म गर्भपतन नगराउन उनले सुझाव दिए । –रासस

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update