Shittalpati
मिलेमतोमा नदी दोहन, सम्झौता भन्दा दश गुणा नदीजन्य पदार्थ निकासी

हाम्रा संवाददाता
पाल्पा । जिल्लामा स्थानीय सरकार र ठेकेदारको मिलेमतोमा जथाभावी नदी दोहन भएको खुल्न आएको छ । पूर्वी पाल्पाको निस्दी गाउँपालिकाका १ को कालीगण्डकीको भोटाहाघाटमा स्थानीय सरकारका केही व्यक्ति र ठेकेदारको मिलेमतोमा ठेक्का सम्झौता भन्दा दश गुणा बढी नदीजन्य पदार्थ निकासी भएको खुल्न आएको हो । निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र ठेकेदार समेतको मिलेमतोमा नदी जन्यपदार्थ दोहन गरेको विषय अहिले बाहिर आएको छ । नियम विपरीत नदी दोहन भएको विषयमा गुनासो लिएर जाँदा गाउँपालिकाका अध्यक्ष समेतले वास्तै नगरेको वडा १ का वडा अध्यक्ष पूर्णबहादुर खाँणले गुनासो गरे । उनले भने ‘मैले पटक–पटक गुनासो गर्दा समेत अध्यक्षले गिट्टी, बालुवा निकाल्न रोक्नु भएन ।’ उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई पनि पटक–पटक अनुरोध गर्दा रोकिनुको साटो ठेकेदारले झन् कालीगण्डकीमै स्काभेटर चलाएर दोहन गर्न नछोड्नुले उनीहरुको पनि संलग्नता देखिएको वडा अध्यक्ष खाँणको बताए ।

नवलपरासी, तनहुँ र पाल्पाको सीमा क्षेत्रमा पर्ने कालीगण्डकी नदीबाट सम्झौता भन्दा दश गुना नदीजन्य पदार्थ निकासी गरेर वातावरणीय विनासका साथै स्थानीय सरकारलाई आम्दानी हुने झण्डै पँचास लाख बरावरको आर्थिक चलखेल भएको स्थानीय वासिन्दाले गुनासो गरेका छन् । ठेकेदारले सम्झौता भन्दा धेरै गिट्टी, बालुवा र ढुङ्गा निकाल्यो भनेर अध्यक्ष समक्ष गुनासो गर्दा सुने नसुने जस्तो गरेपछि बाध्य भएर आफुले मिडियाको सहारा लिनु परेको १ का वडा अध्यक्ष खाँणले बताए । निस्दी गाउँपालिकाका प्रवक्ता तथा गाउँकार्यपालिका सदस्य मेखबहादुर सुनारीले पनि ठेक्का सम्झौता भन्दा धेरै नदीजन्य सामग्री निकालेको स्वीकार गरे । उनले सो सामाग्री जफद गर्ने विषयमा कार्यपालिकाको निर्णय छिट्टै आउँने जानकारी दिए ।

स्थानीय वासिन्दाका अनुसार ७ लाख ३० बोल कवोलमा ठेक्का भएकोमा सम्झौता भन्दा ठीक विपरीत झण्डै दश गुणा गिट्टी, बालुवा र ढुङ्गा निकाले पछि नदी काटानको पनि समस्या उत्पन्न हुने देखिएको स्थानीय वासिन्दा ६० बर्षका कुलबहादुर रानाले गुनासो गरे । उनले भने ‘ठेकेदारले नदीमै स्काभेटर लगेर निकालेपछि पानी पनि दुई धारमा बग्न थालेको छ । गण्डकी किनारका खेती योग्य जमिन पनि पुरिने त्रास बढेको छ ।’ गाउँपालिकाका जिम्मेवार व्यक्तिहरु ठेकेदारसँग मिलेर गरिएको यो अनियमितताको जति सको छिटो छानवीन हुनुपर्ने स्थानीय अगुवा तथा समाजसेवी शालिकराम पाण्डेले बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update