Shittalpati
पाल्पामा जनप्रतिनिधिलाई कोरोना, तानसेन र रम्भाका स्थानीय तहको सेवा बन्द

रामचन्द्र रायमाझी
पाल्पा । कोरोना भाइरसको जोखिमबाट नागरिकलाई बचाउन अग्रभागमा रहेर काम गर्दै आएका जिल्लाका केही जनप्रतिनिधिहरुलाई कोरोना पुष्टि भएको छ । महामारीको सुरुवातदेखिनै आफ्ना नागरिकलाई जोखिमबाट बचाउन टोल–टोल र घर–घरमा पुगी सचेतनाका कार्यक्रमहरुमा सक्रिय हुँदै आएका तानसेन नगरपालिका र रम्भा गाउँपालिकाका ६ जना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार २६ जना नागरिकको सहित आएको पिसिआर रिपोर्टमा दुई जना वडा अध्यक्ष र चार जना वडा सदस्यको पनि रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । तानसेन नगरपालिकाका एक जना वडा अध्यक्ष र तीन जना वडा सदस्यमा संक्रमण देखिएको छ । तानसेन १२ का वडाअध्यक्ष र १० का वडा सदस्यहरुमा संक्रमण देखिएको हो । त्यस्तै रम्भा गाउँपालिकामा पनि एक जना वडा अध्यक्ष र एक जना वडा सदस्यमा कोरोना देखिएको छ । उनीहरु वडा ३ का जनप्रतिनिधि रहेको बुझिएको छ । जनप्रतिनिधिहरुमै संक्रमण देखिएपछि रम्भा र तानसेनले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् । तानसेन नगर सरकारले चार जना जनप्रतिनिधिमा संक्रमण पुष्टि भएपछि शुक्रबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ ।

बिहीबार बसेको नगर सरकारको बैंठकले नगरपालिकाका जनप्रतिनिधि सहित समुदायमा संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय, कार्यालय मातहत र वडा कार्यालयहरुका शुक्रबारदेखि असोज ५ गतेसम्मका लागि अत्यावश्यक बाहेक सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले एक सूचना प्रकाशन गरेर नगरपालिका र मातहतका सबै कार्यालय बन्द रहने जनाएको छ । तानसेन नगरपालिकाका वडाअध्यक्ष र तीन जना वडासदस्यहरुमा कोभिड १९ पोजेटिभ देखिए पछि नगरकार्यपालिकाको वैठकले तानसेन प्रवेश गर्ने जो कोहीलाई पनि पिसिआर रिपोर्ट देखाएर मात्र नगरप्रवेशमा अनुमति दिने किसिमको व्यवस्थाका लागि पाल्पाको सिसिएमसी समक्ष अनुरोध गर्ने, नगर भित्रका सबै अस्पताल र स्वास्थ्यसेवी संस्थाहरुको नियमित अनुगमन र निरीक्षण गर्न माग गर्ने भएको छ । हाल रोगले भन्दा भोकले मानिसहरु पिडित भएकाले बजार बन्द गर्ने र तानसेनका नाकाशील गर्ने अवस्था तत्कालै गर्दा आम सर्वसाधारणमा झन जटिल समस्या पर्ने भएका कारण व्यवसायी तथा सरकारी कार्यालयहरुले दैनिक कार्यसम्पादन गर्दा सेवाग्राही र कर्मचारी समेतको स्वास्थ्य सुरक्षाको राम्रो प्रवन्ध गरेर कार्यसम्पादन गर्ने विषयमा पनि व्यापक छलफल भएको नगरप्रमुख अशोक कुमार शाहीले एनजेडीसंगको कुराकानीमा स्पष्ट पारे । नगर प्रमुख शाहीले भने ‘कोभिड १९ पोजेटिभ देखिएका वडा १२ का वडाअध्यक्ष र वडा १० का सदस्यहरुको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनीहरु सबैलाई घरमै सर्तकता साथ रहन र स्वास्थ्यमा थप समस्या भएमा जानकारी दिन आग्रह गरिएको छ ।’ नगरप्रमुख शाहीका अनुसार संक्रमित चारै जना जनप्रतिनिधीको स्वास्थ्य अवस्था सामान्य र उनीहरुमा कुनै पनि लक्षण देखिएको छैन ।

पालिकाको बैठकले कार्यपालिका सदस्य समेतका संक्रमित जनप्रतिनिधिहरु बुधबार भएको कार्यपालिकाको बैठकमा सहभागी भएको हुँदा नगरकार्यपालिकाका सबै पदाधिकारी, नगरपालिकाका कर्मचारी र सबै शाखा प्रमुखहरुको जति सक्दो छिटो स्वाव परीक्षण गर्ने तयारी भएको जनाएको छ । परीक्षण र स्वावको रिपोर्ट नआएसम्मका लागि शीलै नभने पनि अत्यावश्यक बाहेकका सबै सेवा हाललाई बन्द गरिएको पनि नगरप्रमुख शाहीले जानकारी दिए । त्यस्तै रम्भा गाउँपालिकाले अत्यावश्यक बाहेका सेवा असोज १ गतेसम्मका लागि बन्द गरेको छ । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार शुक्रबार (आज) देखि संक्रमण देखिएको वडा ३ मा सबै क्षेत्र बन्द गरिएको र गाउँपालिका र अन्य वडामा पनि अत्यावश्यक बाहेकका सेवा पूर्ण रुपमा बन्द गरिएको छ । वडा ३ मा रहेका बैंक, पसल, अन्य संघ संस्थाहरु पूर्ण रुपमा बन्द गरिएको अध्यक्ष भण्डारीले बताए । बुधबार जनप्रतिनिधि सहित तानसेन नगरपालिकामा १७, रम्भा गाउँपालिकामा ९ जना, विभिन्न अस्पतालमा उपचाररत ३ जनामा र पूर्वखोलाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । तानसेन वडा नं. २ का दुई, वडा नं. २ का एक, वडा नं. ६ का एक, वडा नं. ७ का तीन, वडा नं. ८ का दुई, वडा नं. ९ का एक, वडा नं. १० को चार, वडा नं. ११ को एक र वडा नं. १२ को दुई जना र रम्भा ३ का ९ जनामा संक्रमण देखिएको हो । पाल्पा अस्पतालबाट तीन जना बिरामीको स्वाब पठाएकोमा सबैमा कोरोना भाइरस पुष्टि भएको हो । तीन जना तानसेन, रम्भा र रिब्दीकोटका रहेका छन् । तानसेनका संक्रमितहरूमध्ये नौ जनाको ट्राभल हिस्ट्री छ भने बाँकी आठ जना ट्राभल हिस्टी नभएका जनप्रतिनिधि, व्यापारी, घरमै बसेकाहरु हुन्  । कोरोना संक्रमणबाट भदौ १२ गते मृत्यु भएकी तानसेन–८, पिपलडाँडाकी ३० वर्षीया महिलाका श्रीमानमा पनि कोरोना देखिएको छ । जिल्लामा विहिबार यो समाचार तयार पार्दसम्म ६ सय ४० संक्रमितको संख्या पुगेको छ भने ५ सय ७० जना निको भर घर फर्किएका छन् । संक्रमित मध्ये दुई जनाको भने निधन भएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update