Shittalpati
पाल्पामा समुदायस्तरमा संक्रमित भेटिएपछि स्थानीय तह बन्द

रामचन्द्र रायमाझी
पाल्पा । जिल्लामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरु धमाधम देखिन थालेका छन् । एक सातादेखि लगातार समुदायमा कोरोना संक्रमित पुष्टि भइरहेका छन् । पाल्पामा विदेश तथा अन्य संक्रमित स्थानबाट नआएकालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । समुदायस्तरमा संक्रमित बढ्दै गएपछि यहाँका केही स्थानीय तहले आफ्ना क्षेत्रमा धमाधम बन्द गर्न थालेका छन् । संक्रमण समुदायस्तरमा देखिन थालेपछि त्यसको विशेष पहिचान गरेर सबन्धित क्षेत्रमा स्थानीय तहले पूर्णरूपमा बन्द गरेका हुन् ।

समुदायस्तरमा कोरोना फैलिएपछि तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका माथागढी गाउँपालिकाले संक्रमण देखिएका क्षेत्रहरु बन्द गरेका छन् । समुदायका ८ जना व्यक्तिमा संक्रमण देखिएपछि तिनाउ गाउँपालिकाले कार्यालय नजिक रहेका दोभान बजार र गाउँपालिकाको कार्यालय आगामी २८ गतेसम्मका लागि बन्द गरेको छ । आइतबार एकै दिन समुदायस्तरका ८ जनामा कोरोना संक्रमण भेटिएपछि एक हप्ताका लागि बन्द गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । पालिकाका सरकारी तथा गैर सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बजार, पसल, होटल तथा रेष्टुरेण्ट लगायत सबै एक हप्तासम्म बन्द रहने छन् । स्थानीयलाई आवत–जावतमा समेत रोक लगाइएको अध्यक्ष घर्तीले बताए । त्यस्तै बगनासकाली गाउँपालिकाले पनि समुदायस्तरका एक जना पुरुषमा संक्रमण देखिएपछि वडा ७ र ८ को केही भाग अनिश्चित कालका लागि सिल गरेको छ । गाउँपालिकाले वडा ८ को देउराली बजार, नेपानेडाँडा, वडा ७ को कमेरे हुँदै वडा कार्यालय सम्मलाई सिल गरेको हो । अर्को सूचना नभएसम्मका लागि उक्त क्षेत्र सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । माथागढी गाउँपालिकाले पनि वडा १ चिदीपानी आपासका क्षेत्रहरुमा बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्क्षय सन्तोष थापा मगरले बताए ।

त्यस्तै पाल्पा अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना पुष्टि भएपछि आकस्मिक सेवा बाहेक सबै सेवाहरु आइतबार बेलुकी देखिनै बन्द गरिएको छ । अस्पतालमा उपचार गराईरहेकी बिरामीमा कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालको नियमित सेवा बन्द गरिएको छ । अस्पतालले इमर्जेन्सी सेवाबाहेक अन्य सेवा आइतबारदेखि बन्द गरिएको जनाएको छ । अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिको बैठकले अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि कोरोनाको जोखिम रहेको भन्दै आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको हो । उपचार गराइरहेकी बिरामी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका आमा हुन् । गएको एक हप्ता अघिदेखि अस्पतालमा भर्ना भई उपचार गराइरहेकी तानसेन नगरपालिका ११ की ८२ वर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि भएपछि आकस्मिक सेवा बाहेक सबै सेवाहरु आइतबार बेलुकी देखिनै बन्द गरिएको अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले जानकारी दिए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.जगदीश कुँवरका अनुसार बिरामीमा कोरोना पुष्टि भएपछि कार्यालय सहयोगी लगायत कार्यरत चिकित्सक, कर्मचारी, अस्पताल प्रशासन शाखाका सबैलाई होम कोरेन्टाइनमा बस्नुपरेका कारण आकस्मिक सेवा बाहेक सबै सेवाहरु बन्द गर्नुपरेको बताए । संक्रमितको उपचारका क्रममा खटिएका स्वास्थ्यकर्मीको रिपोर्ट नआउँदासम्म ओपिडी सेवा बन्द हुने डा.कुँवरले जानकारी दिए । जिल्लामा अहिलेसम्म समुदायस्तरका ३० जना व्यक्तिहरुमा संक्रमण देखिएको छ । रामपुरका २, रम्भाका ३, माथागढीका ५, तानसेनका ८, रैनादेवी छहराका ३ र तिनाउका ९ जना समुदायका व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

थप चार जनामा संक्रमण

जिल्लामा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आइतबार साँझ र सोमबार गरी तानसेनका एक जना र माथागढीका ३ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेन नगरपालिका ११ घर भई वडा ४ मा बस्ने एक महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित देखिएका माथगढीका वडा सदस्य, शिक्षक, भारतीय सेना रहेको बताइएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ६ सय १० पुगेको छ । ५ सय ६७ जनाले कोरोना जितेर घर फर्किएका छन् भने २ जनाको निधन भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update