Shittalpati
निषेधाज्ञा हटेसँगै खुल्यो बजार, भएन व्यापार !

रामचन्द्र रायमाझी
पाल्पा । जिल्लामा दुई हप्तादेखि जारी निषेधाज्ञा हटेसँगै चहपहल सुरु भएको छ । पसल, रेष्टुरेण्ट, होटल, बैंक तथा वित्तीय संस्था, कार्यालयहरु खुलेका छन् । बजारमा चहल–पहल देख्दा व्यापार व्यवसाय लयमा फर्किसकेको जस्तो देखिन्छ । तर, आमनागरिकको आयस्रोत घटेको र कोरोनाको त्रास बाँकी नै रहेकाले अहिले दैनिक उपभोग्य वस्तु बेच्ने पसल बाहेकमा व्यापार हुन सकेको छैन । किराना, डेरी, तरकारी तथा फलफूल पसलमा सामान्य व्यापार भइरहेको भएपनि पहिलेको तुलनामा निकै कम व्यापार भएको व्यवसायीहरु बताउँछन् । पाल्पामा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा हटाइएपछि बजार खुलेपनि ग्राहक नआउँदा व्यापार नभएको तानसेनका व्यवसायीहरुको गुनासो छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण सरकारले चार महिनासम्म गरेको लकडाउनले प्रभावित बनेका व्यवसायीहरुमा लकडाउन खुलेपछि भने केही आशा पलाएको थियो । तर छिमेकी जिल्लामा देखिएको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले पुनःभदौ ५ गते मध्यरातिदेखि १९ गतेसम्म निषेधाज्ञा गर्‍यो । जसले गर्दा व्यापार व्यवसाय ठप्प हुँदा व्यवसायीहरु चिन्तित थिए ।

तानसेन बजार निषेधाज्ञासँगै सुनसान बन्यो । पाल्पामा कोरोना संक्रमण बढ्दै गए पनि जनजीवन र विकास निर्माणमा परेको असरलाई दृष्टिगत गरी गत शुक्रबारदेखि निषेधाज्ञा हटाइएको थियो । निषेधाज्ञा हटेपछि शनिबारदेखि मानिस र निजी सवारी साधनहरुको आवागमनमा चहपहल बढे पनि व्यापार भने नभएको व्यवसायीहरुको गुनासो छ । तानसेनको तेस्रो सडकमा फेन्सी व्यवसायी गर्दै आएका थानेश्वर पाण्डेले बजार खुले पनि व्यापार नभएको बताउँछन् । आम्दानीको स्रोत घटेको र कोरोनाको त्रासका कारण ग्राहक कम भएको उनको भनाइ छ । मध्यम र न्यूनस्तरका ग्राहकहरुको आम्दानी नहुँदा बजार प्रभावित भएको पाण्डे बताउँछन् । सिल्खानटोलमा स्टेश्नरी व्यवसायी गर्दै थर्कबहादुर बगाले पनि १० प्रतिशत पनि व्यापार नभएको बताउँछन् । उनले भने, ‘अत्यावश्यक क्षेत्रमा बाहेक अन्यत्र व्यापार हुन सकेको छैन ।’ बजारमा मान्छेको भीडभाड बढ्दै गएको भएपनि व्यापार हुन नसकेको उनको गुनासो छ । उनले भने, ‘कोरोनाको डर एकातर्फ, अर्कोतर्फ विद्यालयहरु बन्द छन्, सार्वजनिक गाडीहरु सञ्चालन भएका छैन ।’

व्यापार नहुँदा पसलको भाडा समेत बुझाउन धौँ–धौँ भएको बगाले बताउँछन् । उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले बजारमा पहिलेको तुलनामा २५ प्रतिशत पनि व्यापार नरहेको बताए । उनले बजारमा स्थानीय नागरिकको चहल–पहल भएपनि बजारमा किन बेचको माहोल अझै बन्न नसकेको बताए । घरभाडा, बैंकको ब्याज तिर्न सक्ने अवस्थामा व्यवसायीहरु नरहेको अध्यक्ष महर्जनको भनाई छ । उनले व्यवसायीहरु पसल खोलेर कुर्ने काममात्र भएको बताए । जबसम्म सार्वजनिक यातायात सञ्चालनमा आउँदैनन् तबसम्म व्यापार नहुने उनको बुझाई छ ।

अध्यक्ष महर्जनले भने ‘कोरोनाको कारण लामो समयदेखि भएको बन्दबन्दीले व्यापार व्यवसायी चौपट परेको छ, सरकारले यस विषयमा गम्भीर भएर सोच्नुपर्छ ।’ सार्वजनिक सवारी साधन नचल्दा र रोगको डर कायमै भएपछि बजारमा किनमेल गर्ने ग्राहकहरुको चहलपहल भने कम भएको छ । बन्दाबन्दी केही खुकुलो भएपनि खरिद विक्री राम्रोसँग हुन नसकेको व्यापारीहरूले बताएका छन् । रोगको डरले अझैपनि ग्रामीण क्षेत्रका नागरिकहरु हिँड्न सकेका छैनन् । सार्वजनिक यातायात सञ्चालन हुँदा ग्रामीण क्षेत्र र छिमेकी जिल्लाका नागरिकहरु सामान किन्नका लागि बजार आउने गर्दथे । तर लकडाउनपछि कोरोनाको त्रासले अत्यावश्यक काम चलाउ सामग्री स्थानीय बजारमा किनमेल गरेर गर्जो टार्ने गरे पछि तानसेनका बजारमा व्यापार हुन नसकेको हो ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update