Shittalpati
पाल्पा र गुल्मीमा निषेधाज्ञा एक हप्ता थपियो

पाल्पा । पाल्पा र गुल्मीमा जारी निषेधाज्ञा एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएसी)को बैठकले भदौ १२ गते शुक्रबार राति १२ः०० बजेदेखि भदौ १९ गते शुक्रबार राति १२ः०० बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको हो । छिमेकी जिल्लामा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेकाले जोखिमको उच्च संभावना रहेकाले जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापनको निर्णयले पुनः एकहप्ता निषेधाज्ञाको अवधि थप गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।

बैठकले सार्वजनिक तथा निजी सवारी साधन बाहेक एम्बुलेन्स, शववाहन, खाद्य सामग्री, औषधी, दाना, पानी, दूध, फलफूल, ग्याँस, पेट्रोलियम पदार्थ बोकेको सवारी साधन तथा झण्डावाहक र कुटनीतिक नियोगका सवारी साधन सुचारु रहने जनाएको छ । त्यसैगरी स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी,एटिएयम काउन्टर, हुलाक बाहेक सबै सरकारी, सार्वजनिक, बैँक तथा वित्तीय संस्थाका सेवाहरु बन्द रहने छन् । होटेल तथा रेष्टुरेण्ट, व्युटी पार्लर, शैलुन, जीमखाना, बन्द रहने तर खाद्यान्न, फलफूल, तरकारी, दूध, डेरी र अन्य पसलहरु विहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म खुला रहने बैठकले निर्णय गरेको छ । त्यस्तै बैठकले एम्बुलेन्समा चालकवाहेक बिरामी र एकजना कुरुवा तथा सामग्री ढुवानी गर्ने साधनमा चालक र सहचालकमात्र रहने र यस्ता सवारी साधनहरु गन्तव्यमा पुगेर मात्र रोकिने व्यवस्था गर्नु पर्ने जनाएको छ । अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कदा अनिवार्यरुपमा मास्कको प्रयोग र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नु पर्नेछ । यदि आदेशको उल्लंघन गरे प्रचलित कानून बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै उता गुल्मीमा पनि भदौ १२ गते शुक्रबार राति १२ः०० बजेदेखि भदौ १९ गते शुक्रबार राति १२ः०० बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको छ । निषेधाज्ञा थप गरिएसँगै जिल्लामा सीमा नाकामा कडाई गरिएको छ । कोरोना भाइरसको जोखिमलाई कम गर्नका लागि जिल्लामा भित्रिने सीमा नाकाहरु, रिडी, हर्मिचौर, पुर्तिघाट, वामी, नेटा, सौतामारे लगायतका स्थानहरुमा कडाई गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । उक्त नाका भएर जिल्ला भित्रिनेहरुले अनिवार्य रुपमा पीसिआर गरेको रिपोर्ट हुनुपर्ने नभए अनिवार्य रुपमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने ब्यवस्था गरिएको छ । जिल्लामा लुकीछिपी आउने र क्वारेन्टाइनबाट भाग्नेलाई कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै दुग्ध ब्यबसाय बिहान नौ बजेदेखी ११ बजेसम्म , साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन रहने छन् । तरकारी र फलफूल पसलहरु बिहान ७ देखि ९ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म सञ्चालनमा आउने भएका छन् भने अन्य पसल उद्योगहरु बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालनमा रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यदि कसैले जिल्ला प्रशासनको निर्णय अवज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने प्रशासकीय अधिकृत उद्धब पन्थीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update