Shittalpati
पाल्पाको निषेधाज्ञाबारे निर्णय हुँदै

पाल्पा । जिल्लामा जारी निषेधाज्ञाको विषयमा निर्णय गर्न आज जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बस्दै छ । बैठकले जिल्लामा एक हप्तासम्म जारी भएको निषेधाज्ञाको समीक्षाका साथै आगामी दिनमा कसरी जिल्लाको अवस्थालाई व्यवस्थित गर्ने भन्ने विषयमा निर्णय लिने छ । समीक्षाको आधारमा निषेधाज्ञा हटाउने वा थप्ने निर्णय हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्राप्त सूचनाअनुसार आगामी एक साता निषेधाज्ञ थपिने सम्भावना अधिक छ । विभिन्न क्षेत्रबाट अझै एक हप्ता थप्नुपर्ने सुझाव समेत आएको छ ।

यसअघि भदौ ५ गते राति १२ बजेदेखि लागू हुने गरी सिसिएमसीको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । उक्त आदेश आज (शुक्रबार) राति १२ बजे सकिँदै छ । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि रोकिएका छन् । आज सोही विषयमा छलफल गर्न दिउसो एक बजे बैठक बोलाइएको र बैठकमा अहिलेसम्मको गतिविधिबारे समीक्षा हुने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । उनका अनुसार सोही बैठकले निषेधाज्ञबारे उपयुक्त निर्णय लिनेछ । उक्त बैठक अहिले तानसेनमा जारी छ ।

कोभिड–१९ संक्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै पाल्पासहित नेपालमा झण्डै ५० जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी गरिएको हो । यस अबधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ । अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका सवारी साधान, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक जिल्ला भित्र सवारी प्रवेशमा समेत निशेष गरिएको छ । निषेधाज्ञाको समयमा पानी र औषधीजन्य सामग्रीका व्यवसाय चौविसै घण्टा खुला गर्न पाइने र अन्य खाद्यान्न, तरकारी, फलफूल तथा दुग्धजन्य खाद्य पदार्थका व्यवसाय भने विहान ७ : ०० देखि १० बजेसम्म मात्रै सञ्चालन गर्न पाइने जिल्ला प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update