Shittalpati
अझै पुरा हुन सकेन रेसुङ्गा विमानस्थलको निर्माण कार्य, एक दशकभन्दा धेरै हुँदा पनि ३० प्रतिशत मात्रै काम

गुल्मी । लामो समय बितिसक्दा पनि गुल्मीको रेसुङ्गा विमानस्थलको निर्माणकार्य अझै पुरा हन सकेको छैन । जिल्लाको रेसुङ्गा नगरपालिका वडा १० सिमीचौर थालेमालेस्थित रेसुङ्गा विमानस्थल निर्माण २०६३ सालबाट सञ्चालन गर्न आधिकारिक सुरुवात भएको थियो । तर लामो समय बितिसक्दा पनि तिव्र रुपमा काम अगाडि बढ्न सकेको छैन । एक दशक भन्दा पहिलेदेखि निर्माणाधिन अवस्थामा रहेको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको २ वर्ष पुरा हुँदा पनि निर्माणको काम धेरै नै बाँकी रहेको छ । २०७५ साल जेठ २७ गते धुले उडान मार्फत परीक्षण गरिएको विमान स्थलको हालसम्म ३० प्रतिशत मात्र काम भएको हो । विमानस्थल नियमित सञ्चालनको लागि धावनमार्ग कालोपत्रे, टर्मिनल भवन, टावर र तारजालीको काम पुरा गर्न बाँकी छ । ती काम पुरा गर्न करिव २१ करोडको लागतमा तीन वटा निर्माण कम्पनीले काम गरिरहेको रेसुङ्गा नगरपालिका वडा १० का वडा अध्यक्ष पदम अर्यालले जाकारी दिए । निर्माणका काम ढिलो गतिमा भएपनि निर्वाचित जनप्रनिधि आएपछि निर्माणको कामले गति लिएको अर्यालले बताए ।

विमानस्थल सम्पन्न गर्ने गरी धावनमार्ग कालोपत्रे गर्न १४ करोड, टर्मिनल भवन, टावर निर्माण गर्न ६ कारोड र तारजाली लगायत फिनिसि·को काम गर्न डेढ करोड बजेटमा काम भइरहेको छ । निर्माण व्यवसायीले समयमै काम गर्न सके यस आर्थिक वर्षमा तीन वटै काम पुरा हुने अर्यालले बताए । विमानस्थल निर्माणको काम पुरा गर्न तीन वटै सरकारको सहयोग र चासो रहेको वडा अध्यक्ष अर्यालको भनाई छ । विमानस्थल सम्पन्न गर्न हालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आवश्यक बजेको व्यवस्था मिलाए पनि निर्माणको काम सुस्त गतिमा चलिरहेकाले समय लाग्दै आएको वडा अध्यक्ष बताए । शिलान्यास कर्ता ज्ञवाली नै अहिले मन्त्रीमा रहेकाले उनकै अग्रसरतामा यसको काम पुरा हुने अर्यालले बताए । विमानस्थलको धावनमार्ग गएको असारसम्म पुरा गरिसकिनुपर्ने थियो । तर विश्वव्यापी रुपमा फैलिएको कोभिडका कारण कालोपत्रे गर्ने सामग्री लगायत विभिन्न कारणले हुनसकेको छ्रैन । विमानस्थल ०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदीप ज्ञवालीले सुरुवात गरेका थिए । हाल विमानस्थलको अन्तिम चरणका कामहरुमध्ये धावन मार्गको कालोपत्रे, टर्मिनल भवन टावर र घेराबारको काम २०७८ साल मंसिरसम्म पुरा हुने विमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए । विमानस्थलको धावन मार्गको कालोपत्रे गर्ने काम आउँदो वैशाखसम्म पुरा हुने र अन्य भवन निर्माण र तारजाली लगाउने काम मंसिरसम्म पुरा हुने आयोजना प्रमुख परियारको भनाई छ । विमानस्थल निर्माण कार्यसँगै परीक्षण उडानले गुल्मेलीहरुको जहाज चढ्ने सपना पुरा हुने आशा पलाएको रेसुङ्गा विमानस्थलका पूर्व अध्यक्ष जयप्रकाश अर्यालले बताए ।

विमानस्थलको काम ढिलो गतिमा हुँदा स्थानीयहरुमा कहिलेबाट सुचारु होला भन्ने जिज्ञासा पनि उत्तिकै रहेको छ । ५ सय ६० मिटर लम्बाइ भएको धावनमार्ग ५० मिटर चौडा रहेको छ । विमानस्थल प्रभावित क्षेत्रमा पर्ने सिमिचौरस्थित थालेमालेका ४६ जना घरधुरी तथा जग्गा धनिलाई मुआब्जा दिएर अन्य ठाउँमा सारिएको हो । विमानस्थलको ७८ रोपनी १० आना क्षेत्रफल रहेको छ । कुल क्षेत्रफलमध्ये करिब ५६ रोपनी जग्गा सार्वजनिक छ । –पत्रकार अनिल खत्रीबाट

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update