Shittalpati
पाल्पामा निषेधाज्ञाको तेस्रो दिन पनि सुनसान

पाल्पा । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको सोमबार तेस्रो दिन पनि जिल्ला सुनसान रहेको छ । छिमेकी जिल्ला र देशमा कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि गत शुक्रबार मध्यरातीदेखि एक हप्ताका लागि जारीभएको निषेधाज्ञाले तेस्रो दिन पनि जिल्ला सुनसान बन्न पुगेको हो । तेस्रो दिन (सेमबार) पनि जिल्लाका मुख्य सडक, सहायक र भित्रि सडक पनि सुनसान देखिएका थिए । अत्यावश्यक सेवाका सवारी सधन बाहेकका साधनहरुको आवागमन देखिएको छैन । जिल्लाका मुख्य शहर तानसेन, रामपुर, हार्थोक, प्रभास लगायतका क्षेत्रमा पुग्दा मानिसहरुको आवागमन न्यून देखिएको हो । तर पनि सडकका मुख्यमुख्य चोकमा सुरक्षाकर्मी बसेर चेकजाँचलाई कडाई पारेका छन् । सडकमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, खाद्यन्न ढुवानी, सञ्चार, विद्युत, खानेपानी लगायत अत्यावश्यक सेवाका सवारी साधनहरु सञ्चालनमा आएको देखिन्छ ।

भित्री सडकमा पनि सवारी साधनको आवागमन देखिएको छैन भने केही अत्यावश्यक खाद्यान्नका पसल र औषधि पसलहरु खुलेको देखिन्छ । मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर किनेमल गरेको देख्न सकिन्छ । निषेधाज्ञा उल्लघङ्न गरेर फाट्फुट्ट यात्रा गर्नेहरुलाई पनि तैनाथ सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएर कारवाही गरेको देखिएको छ । कोरोनाले भयावह रुप लिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले कडा कदम चालेको छ । यो समयमा जिल्ला प्रशासनले अत्यावश्यक काम बाहेक घरबाहिर निस्किए कारबाही गर्ने जनाउँदै आएको छ । तानसेनमा अत्यावश्यक सेवाका पसलहरू बिहान मात्र खुलेका छन् भने मानिसहरू घर–घरमै बसेर निषेधाज्ञाको पालना गरिरहेका छन् । गत बिहीबार बसेको जिल्ला स्तरीय सर्वपक्षिय बैंठकले संक्रमण रोक्न खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सेवा र सवारी सञ्चालन भदौ १२ गते मध्यरातीसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update