Shittalpati
अनलाइन क्लास

विश्व अहिले कोरोना भाइरसको महामारीको चपेटामा परेको बेला नेपाल अर्थात मेरो देश पनि यसबाट अछुतो रहन सकेन । पूर्ण रुपले उद्योग व्यवसाय बन्द छन् । यातायात बन्द छन् । विद्यालय कलेज बन्द छन् । सामाजिक, आर्थिक, साँस्कृतिक, धार्मिक स्थलरहरु बन्द छन् । मानिस भित्र उकुस मुकुस र छट्पटीका वेदनाहरु तर·ित भएका छन् । विभिन्न विकल्पको खोजी भै नै रहेको छ । सम्पूर्ण विद्यार्थीहरु बन्द कोठामा छन् । तिनीहरुको बौद्धिकता थुनिएको छ । यो समस्या लाई समाधान गर्न एक सुक्ष्म विकल्पको रुपमा अहिले अनलाइन क्लासलाई अघि सारिएको छ । यो एकदमै सकारात्मक पाटो हो । यसमा विरोध जनाउनु आधुनिक प्रविधिको उपहास गर्नु हो जस्तो लाग्दछ । तर पनि अनलाइन कक्षाको लागि आवश्यक पर्ने पूर्वाधारहरुको व्यवस्थापन आवश्यक पर्दछ । पूर्वाधारहरुको व्यवस्थापन गर्न सकिएन भने आदरणीय शिक्षकहरुको प्रयास श्रम बालुवामा पानी खन्याएको जस्तो हुन्छ । अनलाइन कक्षा अर्थात् विद्युतीय शिक्षाको लागि आवश्यक पर्ने पूर्व आधार यस प्रकार व्यक्त गर्न सकिन्छ ।
१. सम्पूर्ण अभिभावकहरु विद्युतीय सामग्रीमा दक्ष हुनुपर्छ ।
२. अभिभावकहरु ल्यापटप, कम्पूटर, शक्तिशाली मोवाइल जस्ता सामग्री किन्न संक्षम हुनुपर्छ ।
३. विद्युतको आपूर्ति चौविसै घण्टा हुनुपर्छ ।
४. विद्यार्थीहरु स्वयम् उत्सुक र जागरुक हुनुपर्छ ।
५. विद्युतीय शिक्षा सेवा प्रत्येक विद्यार्थीको कोठामा पुग्नु पर्छ ।
६. प्रत्येक विद्यार्थीसँग पाठ्यपुस्तक हुनुपर्छ ।
७. अनलाइन कक्षा सञ्चालन गर्ने शिक्षकहरु दक्ष हुनुपर्छ ।
८. अनलाइन कक्षा एकीकृत रुपमा सञ्चालन गनुपर्छ ।
९. समय सारथीको राम्रो व्यवस्था गर्नुपर्छ । यी पूर्वाधारहरुको व्यवस्थापन भएमा विद्युतीय शिक्षा प्रणाली उपलब्धि मूलक हुन सक्छ । अन्यथा यो प्रणालीले पनि फेसनको रुपलिई अभिभावकहरु सताइने अवस्थाको सृजना नहोला भन्न सकिन्छ । अब हामी बसेका गाउँपालिका नगरपालिकाहरुको भूगोललाई सुक्ष्म अध्ययन गर्‍यौ भने ऐनामा आफ्नो मुहारदेखिए झै शैक्षिक विकटताले निम्त्याएको समस्यालाई नजिकैबाट हेर्न सकिन्छ । अहिले विद्युतीय लाइन प्रायः सबैको घरमा छ, तर विद्युत सेवा २४ घण्टामा २० घण्टा अवरुद्ध भएको छ । डाटाबाट सञ्चालन गर्ने हो भने आर्थिक भार सम्पूर्ण अभिभावकले बहन गर्न सक्लान् जस्तो लाग्दैन । विद्युतीय कक्षा थोरै क्लीउ दिएर धेरै बुझ्न सक्ने विद्यार्थीहरुको लागि अत्यन्त लाभ प्रद देखिन्छ ।

कालान्तरमा मलाई लाग्छ–कलेज विश्वविद्यालयका भवनहरु अनुसन्धान केन्द्रको रुपमा स्थापना गरिने छ । शिशु कक्षादेखि १२ सम्मको शिक्षालाई विद्यालय शिक्षाको रुपमा व्यवस्था गरिने छ । विद्यालय शिक्षा विद्यालय मै दिनु राम्रो हुन्छ । मेरो नाती एकमा पर्दछ । अनलाइन कक्षाको तयारीमा बस्छ । विद्युत जान्छ । समय सिद्धिन्छ । फेरि अर्को दिन कक्षा शुरु नहुँदै विद्युत जान्छ । सम्पूर्ण विद्यार्थी सँग विद्यालयको पहुँच छैन । कोही विद्यार्थी अन्लाइन कक्षामा छन् भने केही विद्यार्थी मेलापातमा छन् । यो भिन्नता आर्थिक विषमताको कारणले भएको हो जस्तो लाग्छ । कक्षामा ६० जना विद्यार्थी भएकोमा २० जनालाई मात्र अनलाइन शिक्षा दिएर ४० जनालाई यो सुविधाबाट वञ्चित गर्नु पनि अर्नलाइन कक्षा संचालन को सबल व्यवस्थापन मान्न सकिदैन । तर जे होस् अनलाइन क्लास कक्षाको परिकल्पना गर्नु राम्रो पक्ष हो । यस्को प्रभावकारिता लाई कुन कसिमा राखेर यस्को सवल पक्षलाई उजागर गर्ने हो । व्यवस्थापकहरुले सोच्नुपर्छ । अनलाइन कक्षा नेपाल सरकारबाट स्वीकृत संगठित कक्षा होइन । विद्यार्थीहरुलाई विद्यालयको असुविधाबाट जोगाउन शिक्षकहरुको मन मस्तिकमा स्वतस्फूर्त उब्जिएको यो अनलाइन कक्षा पद्दति हो । यस्को परिमार्जन हुन समय लाग्ला । शुरु गरिएको अनलाइन कक्षाबाट सम्पूर्ण विद्यालयका सम्पूर्ण विद्यार्थी एवं अभिभावकहरु लाभान्वित हुन सकुन् यही शुभेच्छाका साथ पूर्ण बिराम ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update