
पाल्पा, पाल्पाको सदरमुकाम तानसेनस्थित टुँडिखेल मैदानमा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । श्रीनगर भलिबल क्लवको आयोजनामा यही साउन २८ गतेदेखि भदौ १ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
खेलकुद पत्रकार मञ्च पाल्पाको आयोजनामा क्लवलले शुक्रबार तानसेनमा पत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ । खेल क्षेत्रको विकाससँगै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले ‘दोस्रो रणउज्जेश्वरी भगवती कप २०८२’ प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष कृष्णबहादुर आलेले बताए । उनले भने “देश, विदेशमा रहनुहुने नेपाली, खेलप्रेमी व्यक्तित्वहरुको सहयोग र शुभेच्छाका कारण प्रतियोगिता गर्न लागेका हौं ।” प्रतियोगितामा पुुरुष भलिबलतर्फ प्रथम हुनेले एक लाख ७५ हजार, द्धितिय हुनेले एक लाख २५ हजार, तृतिय हुनेले ६० हजार र सान्तवना हुनेले ३० हजार नगद पुुरस्कार प्राप्त गर्ने छन् । यस्तै महिला भलिबलतर्फ प्रथम हुनेले ३० हजार, द्धितिय हुनेले २० हजार, तृतिय हुनेले १० हजार र सान्तवना हुनेले ५ हजार नगद पुुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिने अध्यक्ष आलेले बताए । उनका अनुसार पुुरस्कारसहित प्रतियोगिता व्यवस्थापनका लागि १८ लाख २८ हजार ६ सय बराबरको खर्च अनुमान गरिएको छ । उक्त बजेटका लागि विभिन्न सहयोगीदाताहरुको सहयोग रहने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगितामा १० टिमसम्मको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिता हुने समयमा श्रीकृष्ण जन्माष्टमी तथा ऐतिहासिक भगवती जात्रा परेकाले पनि खेलाडी र दर्शकहरुको उल्लेखीय सहभागिता रहने क्लवका अध्यक्ष आलेले बताए । उनले प्रतियोगिताको प्रचार –प्रसार गरी खेल प्रतियोगितालाई सफल बनाइदिन पत्रकारहरुलाई आग्रह समेत गरे ।कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले जिल्लाको खेलकूद क्षेत्रको विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले प्रतियोगिता सफल पार्न पाल्पाली पत्रकारहरुको पूर्ण रुपमा सहयोग रहने समेत प्रतिवद्धता जनाए । प्रदेश खेलकुद विकास समितिका सदस्य राजु महर्जनले क्लवले जिल्लाको खेलकूदलाई चलायमान बनाउने र खेलको विकासमा टेवा पु¥याउने गरी प्रतियोगिता आयोजना गर्न लागेकोमा खुसी व्यक्त गरे । उनले खेल र खेलाडी उत्पादनमा समेत यस्ता प्रतियोगिता महत्वपूर्ण हुने भन्दै प्रतियोगिताका लागि प्रदेश खेलकूद विकास समितिबाट आवश्यक सहयोग रहने बताए ।
क्लवलले राष्ट्रियस्तरका दर्जानौं खेलाडीहरु उत्पादन गर्न सफल भएको छ । उसले विभिन्न समयमा महिला र पुरुष भलिबल प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ । यस अघि २०८० मा क्लवले प्रथम रणउज्जेश्वरी भगवती कप प्रतियोगिता सञ्चालन गरेको थियो ।पत्रकार सम्मेलन खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष माधव अर्यालको अध्यक्षता, उपाध्यक्ष देव पचाभैयाको स्वागत, सदस्य दयाराज न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।