
कोभिड महामारीका कारण लामो समय प्रभावित बनेको मुलुकको अर्थतन्त्र उठ्नै लागेको बेला पुनः कमजोर बन्न पुगेको छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट, तोडफोडजस्ता घटनाले नेपालको अर्थतन्त्रमा गहिरो असर पर्न गएको छ । राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद् र सर्वाेच्च न्यायालय सहितका भौतिक, अभौतिक सबै सम्पत्ति नष्ट भएको हुँदा मुलुक कहाँबाट उठ्ने र कसरी अगाडि बढ्ने भन्ने सबैभन्दा पेचिलो प्रश्न तेर्सिएको छ । त्यतिमात्रै नभई व्यावसायिक प्रतिष्ठान र उद्यमीहरूको सम्पत्तिलाई समेत खरानी पारिएको छ, जसले आमनागरिकमा निराशा पैदा गरेको छ । जेन–जी आन्दोलनबाट सरकार परिवर्तनसम्मको स्थितिलाई सामान्य रूपमा लिन सकिए पनि त्यसपछिको विध्वंसले नेपाललाई तातो ताप्केबाट फुत्किएर भुंग्रोमा परेको माछाको हालतमा पुर्याएको छ ।
विध्वंसका कारण सरकारी र निजी सम्पत्तिमा पुगेको भौतिक क्षतिको तथ्यांक आइसकेको छैन । तथापि, यसको असर वर्षौंसम्म पर्ने निश्चित छ । विशेष गरी यस घटनाले निजी क्षेत्र र लगानीमा ठूलो चोट पुगेको छ । उद्योग, व्यवसाय, होटल, सुपरमार्केट, बैंक तथा व्यापारिक केन्द्रहरूमा भएको क्षतिले निजी क्षेत्रको मनोबल कमजोर बनाएको छ । स्थानीय मात्र नभई विदेशी लगानीकर्ताहरूले पनि नेपाललाई असुरक्षित गन्तव्यको रूपमा हेर्न थालेका छन्, जसले भविष्यमा नयाँ लगानी आकर्षित गर्न कठिनाइ बढाउँछ । यसै गरी क्षति भएको सम्पत्तिका कारण बिमा दाबीको दवाब असामान्यरूपमा बढ्ने सम्भावना छ, जसले बिमा क्षेत्रमा नै संकट ल्याउन सक्छ । रोजगारीमा पनि प्रत्यक्ष असर परेको छ । तोडफोड र आगजनीमा परेका उद्योग तथा व्यवसाय लामो समयसम्म सञ्चालनमा आउन सक्दैनन्, जसका कारण हजारौं कामदारले रोजगारी गुमाउने अवस्था सिर्जना हुन्छ । बेरोजगारी बढ्दै जाँदा उपभोग क्षमता घट्छ, बजारमा माग कमजोर पर्छ र अर्थतन्त्र अझै गहिरो संकटतर्फ धकेलिने निश्चित छ । तसर्थ, सरकार र नागरिक मिलेर अब देशलाई शान्ति, स्थिरता र लगानी–मैत्री वातावरण कायम गरी अर्थतन्त्रलाई गहिरो संकटबाट जोगाउनतर्फ ध्यान दिन जरुरी छ ।