Shittalpati
बालबालिकाको अवस्था र बालदिवस

हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रमहरुको आयोजना गरी दिवस मनाउन लागिएको छ । सन् १९९०, १४ सेप्टेम्बरमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको विशेष दिनका रुपमा यो दिवस मनाउने गरिएको हो । वि.स.२०२१ भदौ ४ गतेदेखि तत्कालीन रानी रत्न राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर मनाउन सुरु गरिएको यो दिवस ०६२÷६३ को दोस्रो जनआन्दोलनपछि भदौ २९ गतेलाई बालदिवसका रुपमा मनाउन थालिएको हो ।

आज बालअधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाको अगुवाईमा देशभर बालअधिकारप्रति प्रतिवद्धता र जनचेतना बढाउने उद्देश्यले कार्यक्रम हुँदै छन् । यद्यपि राष्ट्रिय बालदिवस मनाउनुको एउटा सकारात्मक पक्ष त देखा परेको छ तर बालदिवस औपचारिकतामा मात्रै सीमित रहेको छ । यो भने दुःखको कुरा हो । खासगरी बालबालिकाको लागि चाहिने आधारभूत हकअधिकार वा उनीहरुको संरक्षणको सवालमा हामीले कति उपलब्धि हासिल गर्न सक्यौं वा सकेनौं ? त्यस्ता पर्वले पनि राष्ट्रिय बाल दिवसको सार्थकतालाई मापन गर्न सकिन्छ ?  खासगरी विश्वव्यापी रुपमा बालबालिकाको अधिकारलाई सुनिश्चित गर्नु राज्यको दायित्व हो । तर त्यो दायित्वबाट सरकार चुकेको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताको अधिकारलाई सुनिश्चित हुन सकेको छैन् । नेपालमा बालश्रम अन्त्य हुन सकेको छैन । अझै पनि सडक बालबालिका, बाल मजदुर, होटल तथा रेस्टुरेन्टका बालश्रमिक र सवारी साधनमा काम गर्ने बालबालिकाका दुःख, पीडा र यातना उस्तै छन् । राजनीतिक दलका नेताले सार्वजनिक रुपमा भाषण र आफ्ना पार्टीका घोषणापत्रमा जतिसुकै बालश्रम अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेपनि बालश्रम ज्यूँका त्यूँ छ । हरेक दिनजसो बालश्रम सम्बन्धी घटनाहरु घटिरहेका छन् । अहिले बालश्रम मानव विकासका लागि एक प्रमुख अवरोध मात्र होइन समृद्धिका लागि प्रमुख चुनौती समेत बनेको छ । बालदिवस त बालबालिकाले रमाइलो गर्ने, सिर्जनात्मक प्रतिभा देखाउने, खुसी मनाउने दिन पनि हो । बालबालिकाले आफ्नो अस्थित्व र महत्व महसुस गर्ने दिन पनि हो । यसर्थ यस दिवसलाई सोही अनुरुप घर घरमा, परिवार परिवारमा पुगेर मनाउन सकियो भने मात्र दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update