Shittalpati
भ्रष्टाचारविरुद्ध जेन–जी  ः सरकारी कार्यालयमा बढाउँदै निगरानी

पाल्पा, देशमा सुशासन कायम गर्न भन्दै सक्रिय बनेको जेनजी ग्रुप पाल्पाले यहाँका सरकारी कार्यालयहरुमा निगरानी बढाउन थालेको छ । उसले यहाँका केही सरकारी कार्यालयहरुमा नियमित भ्रष्टाचार भइरहेको जनगुनासो बढेपछि तिनमा निगरानी बढाएको हो ।

विशेष गरी जेनजीले तानसेन नगर क्षेत्रमा रहेका विभिन्न स्थानीय निकाय, सरकारी कार्यालय तथा संस्थाहरूमा भ्रष्टाचार हुने गरेको आरोप लगाएको छ । उसले एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारको आरोप लागेका संस्थाहरूको सूची नै सार्वजनिक गरेको छ । जेनजीले प्रारम्भिक चरणमा मालपोत कार्यालय, यातायात सेवा कार्यालय, नापी कार्यालय ,सडक  डिभिजन कार्यालय , तानसेन नगरपालिका, तानसेन खानेपानी उपभोक्ता समिति लगायतका कार्यालयहरुमा भ्रष्टाचार हुने गरेको भन्दै कानुनी कदम चाल्न ग्रुप अग्रपङ्तिमा रहने चेतावनी समेत दिएको छ । उसले यी संस्थामा भ्रष्टाचारको प्रमाण सङ्कलन भइरहेको समेत विज्ञप्तिमा उल्लेख गरेको छ । आवश्यक परेमा ति प्रमाणहरु सार्वजनिक गरिने ग्रुपले जनाएको छ ।

जेनजीले सरकारी कार्यालयमा व्यापक भ्रष्टाचार भइरहेको भन्ने जनगुनासो बढ्दो रहेको भन्दै त्यसलाई रोक्न सम्बन्धित निकायसँग तत्काल कानुनी कारवाहीको समेत माग गरेको छ । “तानसेन नगर क्षेत्रमा रहेका स्थानीय निकाय, सरकारी कार्यालय तथा विभिन्न संस्थामा रहेका जनप्रतिनिधि कार्यालय प्रमुख सम्बन्धित कार्यालयका फाँट प्रमुख तथा संस्थान प्रमुखले सेवाग्राहीबाट प्रत्यक्ष पैसा लिने, सेवा ग्राहीलाई दुःख दिने तथा विभिन्न विकास निर्माणका कार्यमा चरम भ्रष्टाचार गर्ने गरेको  जनगुनासोहरु जेनजी पाल्पामा व्यापक आइरहेको छ । हामी यस्ता भ्रष्टाचार, विकृती विसङतिको घोर भत्सना गर्दछौं र यस्ता भ्रष्टाचारिलाई कानुनको कटघरामा उभ्याउन र कानुनी कामकारबाहीको माग गर्दछ” विज्ञप्तिमा भनिएको छ । उसले यहाँका नागरिकलाई भ्रष्टाचारका प्रमाणहरु भए जेनजीलाई उपलब्ध गराइदिन आग्रह गरेको छ । भ्रष्टाचारीहरुलाई  जिल्लाबाटै सामाजिक बहिष्कार, सामाजिक सञ्जालमा फोटा सहित बिरोध तथा  कानुनी कारवाहीको लागि पहल  गर्ने समेत जेनजीले उल्लेख गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update