
पाल्पा, राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले पार्टी छाडेकी छन् । उनले आज सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै पार्टी छाडेको घोषणा गरेकी हुन् ।
“कहिलै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने,’ उनले लेखेकी छन् । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेला देखि नै आलोचना गर्दै आए तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रयाल हुन थालेको उनको भनाइ छ ।
उनले भनिन्, “अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला मैले पार्टी छोडेँ ।” उनी लामो समयदेखि रास्वपा सभापति रवि लामिछानेको कार्यशैलीलाई लिएर असन्तुष्ट व्यक्त गर्दै आएकी थिइन् ।
उनले काँग्रेस, एमालेका तेुस्रो पुस्ताका नेताहरुलाई समेत सच्चिन आग्रह गरेकी छन् । नेतृ श्रेष्ठले भनिन् “कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको बेहोराले हो । त्यो किन बोकेर बस्नुहुन्छ ? अहिले सही समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।’ श्रेष्ठ यस अघि शिक्षा मन्त्रीसमेत बनिसकेकी थिइन् । उनले रास्वपाको सहमहामन्त्री पद पहिल्यै त्यागी सकेकी थिइन् ।