Shittalpati
छुट्टाछुट्टै घटनामा सात जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा सात जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार अर्घाखाँची, रुपन्देही, कैलाली र काभ्रेमा भएका छुट्टाछुट्टै घटनामा परी सात जनाको मृत्यु भएको हो ।

काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीस्थित सडकमा सोमबार बलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  बा.१८ च २४२ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा बोलेरोमा सवार हाल नाम, थर र वतन नखुलेका दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । यसैगरी कैलालीको बर्दगोरिया गाउँपालिका–४ स्थित सडकमा ट्रकले स्कुटरलाई ठक्कर दिदा  एक जनाको मृत्यु भएको छ । सोमबार बिहान सु.प.प्र–०१–००१ ख ३६९५ नम्बरको ट्रकले लु.प्र–०१–०१० प ००४५ नम्बरको स्कुटरलाई  दिँदा स्कुटर चालक स्थानीय ६२ वर्षीया साबित्री देवी सापकोटाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी सापकोटाको दोधारा अस्पताल प्रालि मुडागाउँमा उपचारका क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै रूपन्देहीको शुद्धोधन गाउँपालिका–५ मानपकडीस्थित दरबाह खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । 

कपिलवस्तुको वाणगंगा नगरपालिका–११ बस्ने ३० वर्षीय सुरज थारुको सोमबार मृत्यु भएको  छ । खोलामा माछा मार्ने क्रममा डुबेर अशक्त भएका थारूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।यस्तै, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ बुटेनीडाँडा बस्ने ५२ वर्षीय भिम बहादुर कुमाल छत्रदेव गाउँपालिका–४ भालुखोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रसुवाको नौकुण्ड गाउँपालिका–२ घ्याङमार बस्ने ३५ वर्षीया डुक्पा नेकोर तामाङ सोही ठाउँस्थित झोम्सो खोलाको किनारमा तथा उनका ११ वर्षीय छोरा पूर्ण बहादुर थोक्रा नौकुण्ड–२ स्थित जोङ्सा खोलामा मृत अवस्थामा फेला परेका छन् । घटनाबारे सम्बन्धित स्थानका प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update