Shittalpati
विद्यालय खुल्ने अनिश्चित, विकल्प खोज्दै माथागढी सरकार

रामचन्द्र रायमाझी
पाल्पा । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शैक्षिक सघसंस्थाहरु खुल्ने विषय अनिश्चित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि विद्यालय खोल्ने अनिश्चित भएपछि असार १ गतेदेखि अनलाइन, रेडियो, टेलिभिजन, प्रिन्ट सामग्री लगायत वैकल्पिक शिक्षण विधिबाट कक्षा सञ्चालन गर्न सकिने प्रबन्ध मिलाएको छ ।

देशभर यतिबेला अनलाइन, रेडियो, टेलिभिजन मार्फत पठन–पाठन भइहेको छ । तर सरकारले ल्याएको वैकिल्पक विधिमा केही विद्यार्थीहरुको पहुँच पुग्न सकेको छैन । भौगोलिक बनावटका कारण केही ठाउँका विद्यार्थीहरु सरकारले ल्याएको वैकिल्पक विधिबाट बञ्चित छन् । उक्त विधिबाट बञ्चित विद्यार्थीहरुका लागि केही स्थानीय सरकारले भने आफ्नै स्रोत साधनको प्रयोग गरी विकल्पको खोजी गर्दै आगाडि बढेका छन् । विद्यालय खुल्ने अनिश्चित भएपछि पाल्पाको माथागढी गाउँपालिकाले पनि विद्यार्थीहरुको सिकाइलाई सहजीकरण गर्न विभिन्न विकल्पहरुको खोजी गर्दै आएको छ । गाउँपालिकाले बालबालिकाको नियमित सिकाई प्रक्रियालाई सहयोग पुर्‍याउने उद्देश्यले वैकल्पिक विधिहरुको खोजी गरी पठन–पाठनलाई अगाडि बढाउँदै आएको हो । बन्दाबन्दीको समयमा विद्यार्थीहरु विद्यालयमा गएर नियमित पठन–पाठन गर्न सक्ने परिस्थिती नभएपछि गाउँपालिकाले पहिलो चरणमा परियोजना कार्यको विकल्प खोजेको थियो । केही समय परियोजना कार्यमार्फत विद्यार्थीहरुको सिकाईलाई सहजीकरण गरेको गाउँपालिकाले पुनः दोस्रो चरणमा नयाँ विपकल्पको खोजी गरेको छ । सिकाइलाई आधुनिक र व्यवहारिक बनाउँदै लकडाउनबाट प्रभावित विद्यार्थीहरुको पठन–पाठनलाई थप सिर्जनशील, क्रियाशील बनाउन विषय विशेषज्ञ, शिक्षक, अभिभावकहरुको सक्रियतामा विभिन्न विकल्पहरुको खोजी गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनले भने ‘विद्यालय कहिलेबाट खोल्ने निश्चित छैन,पढाइ अवरुद्ध हुँदा भएको शैक्षिक क्षति न्यूनीकरण गर्न कार्यपुस्तिका र गृहकार्य पुस्तिकाको माध्यमबाट बालबालिकाको सिकाइलाई सहजीकरण गर्न लागिएको हो ।’

सरकारले रेडियो, टेलिभिजन, इन्टरनेट लगायतका प्रविधिमार्फत वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गरिरहे पनि भौगोलिक बनावटका कारण गाउँपालिका भित्रका सबै विद्यार्थीहरुको पहुँच नभएकाले उनीहरुलाई स्वाध्ययन सामग्री उपलब्ध गराउँदै सिकाइमा सहजीकरण गरिदै आएको शिक्षा शाखाका सम्पर्क व्यक्ति गजेन्द्र पन्थीले बताए । उनले भने ‘कुनै पनि प्रविधिमा पहुँच नभएका विद्यार्थीलाई अहिले अभ्यास पुस्तिका वितरण गरिएको छ ।’ गाउँपालिकाले कार्यपुस्तीका मार्फत विद्यार्थीहरुले सिकेका कुराहरुको मूल्याड्ढन गर्ने गरी दोस्रो चरणमा पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित गृहकार्य पुस्तिका ल्याएको छ । १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको लागि विषयगत रुपमा प्रथम त्रैमासिक परीक्षाको २० पूर्णाड्ढ बराबर हुने गरी अभ्यास र गृहकार्य समावेस गरी गृहकार्य पुस्तिका निर्माण गरिएको गाउँपालिका फोकल पर्सन अशेष भट्टराईले बताए । उक्त गृहकार्य पुस्तिका दिई पुस्तिकामा सोधिएका विषयगत र वस्तुगत प्रश्नहरुको जवाफ विद्यार्थीले दिने छन् । विद्यार्थीले दिएको उत्तरलाई विषय विशेषज्ञहरुले जाँच गरी अंक प्रदान गर्ने फोकल पर्सन भट्टराईले बताए । उनका अनुसार प्राप्त अंकलाई आधार मानी प्रथम त्रैमासिक परीक्षाको मूल्याड्ढन हुनेछ । पुस्तकमा एक महिनाको लागि गृहकार्य र अभ्यासहरु समावेस गरिएको छ । समय परिस्थिती अनुसार शैक्षिक संस्थाहरु बन्द भएपछि विद्यार्थीहरुको पठन–पाठनमा समस्या आउने भएपछि गाउँपालिकाको शिक्षा समितिको बैंठकबाट शिक्षण सिकाइ क्रियाकलापमा विभिन्न विकल्पहरुबाट शैक्षिक गतिविधिलाई चलायमान गराउने निर्णय गरिएको थियो । उक्त निर्णय अनुसार गाउँपालिकाले विभिन्न विकल्पहरुको खोजी गरेको हो । गाउँपालिकाले निर्माण गरेको कार्यपुस्तिका र गृहकार्य पुस्तिका मार्फत ४५ वटा सामुदायिक तथा सस्थागत विद्यालयका ६ हजार बढी विद्यार्थीहरु लाभान्वित हुनेछन् ।

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update