हाँसो प्रकृतिको अनुपम उपहार हो । दिल खोलेर हाँस्दा यसले धेरै रोगका लागि औषधिको काम समेत गर्छ । त्यसैले बिहानको सुरुवात मुस्कुराएर गर्नुपर्छ । यसो गर्नाले दिन खुसीसाथ बित्नेछ । जब हामी दिल खोलेर हाँस्छौं, शरीरका भित्री अंगहरुको व्यायाम हुन्छ । रक्तप्रवाह राम्ररी हुन्छ । पछिल्लो समय मानिस जागिर, व्यवसाय राम्रो नहुँदा चिन्तित छन् । त्यसले गर्दा कयौं मानिसहरु मानसिक समस्याको शिखार भएका छन् । यस्तो अवस्थामा हास्नु राम्रो हो । हाँस्दा हाम्रो मन उमंगित हुन्छ । फुरुंग हुन्छ । हामी आसपासका वातावरण वा माहौल रमाइलो हुन्छ । हामीसँगै उभिएका वा दोस्रो व्यक्तिमा राम्रो प्रभाव पार्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भ्रातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउनकै लागि हरेक वर्ष मे महिनाको पहिलो आइतबार विश्व हाँसो दिवस मनाउने गरिन्छ । यस वर्षको दिवस आइतबार मनाइएको छ ।
धेरैजसो समय मानिस चिन्ताग्रस्त, तनावग्रस्तरुमा हुन्छ । उसको दैनिकी धपेडीमा बित्छ । मनमा अनेक तर्कना खेल्छ । यही चक्करमा मानिस खुलेर हाँस्न सकेको देखिदैन । अहिलेको अवस्थामा हाँसो दिवसको सान्दर्भिकता बढेर गएको छ । हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा गर्न सघाउने तथा दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले तौल घटाउन पनि सहयोग पुग्ने विज्ञहरुको भनाई छ । हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन पनि सहयोग पु¥याउन्छ । मानसिक तनाव, रिस, घमण्ड, भोक, पीर तथा चिन्ता कम गर्ने तथा नकार्न प्रयोग गरिने अचुक औजार मुस्कान वा हाँसो सामाजिक जीवन तथा स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । जीवनमा सफलता र सुख मिल्यो भने मात्र स्वास्थ्य जीवन जिउन सकिन्छ । तसर्थ सधै दिल खोलेर हाँसौ,स्वस्थ रहौं ।

