पाल्पा,आज किराँत समुदायले उभौली पर्व मनाउँदै छन् । किराँत धर्मावलम्बी राई, लिम्बु लगायत जातजातिहरूले उभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् । किराँतसमुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँ–गाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ ।
गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् ।


