Shittalpati
औलो नियन्त्रण गरौं

औलो मानिसका लागि धेरै पहिलेदेखि परिचित रोग हो  । यसलाई अङ्ग्रेजीमा मलेरिया भनिन्छ । यो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो । मानिस तथा अन्य केही जनावरहरूलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ । औलो लागेका बेलामा ज्वरो आउने, थकान महशुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखिन्छन् । यो रोगले गम्भीर रूप लिएमा छाला पहेँलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ । लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ । औलोको राम्रोसँग उपचार गरिएन भने केही महिनापछि दोहोरिन पनि सक्छ । एक पटक औलो लागेको केही समयपछि पुन दोहोरियो भने दोस्रो पटकमा केही हल्का लक्षणहरू देखिन्छन् । पछिल्लो समय सचेतनाको अभावका कारण औलोकमे जोखिम बढ्दै गएको छ । औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ अर्थात् आजकै दिन  विश्वभर औंलो दिवस मनाउने गरिन्छ ।

(एनोफिलिज) नामक लामखुट्टेको टोकाइका कारण औलो रोग फैलिने गर्छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहोर तथा दूषित पानीमा बस्छ । विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करिब ५० हजार मानिस प्रभावित हुने गर्छन् । जसमध्ये करिब २७ प्रतिशतको मृत्यु औलो रोगकै कारण हुने गर्छ । औलो रोगका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका बालबालिका धेरै छन् । यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाँच वर्ष मुनिका बालबालिका रहने गरेका छन् । स्वास्थ्य संस्था र सरोकारवाला निकायले औलो निवारण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएपनि नेपालमा औलोको प्रकोप कायमै छ । यसो हुनु दुखद् हो । औलो उन्मूलनका लागि भन्दै करोडौं रकम खर्च गरिएको छ तर परिणाम भने नगन्य रुपमा हुनु पक्कै पनि राम्रो होइन । औलो रोग लाग्न नदिनु लामखुट्टेको टोकाईबाट जोगिनु नै हो । त्यसको लागि लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु नै सबैभन्दा उत्तम उपाय हो । पानी जम्ने स्थानहरू कम गर्ने, बासस्थान नष्ट गर्ने, लामखुट्टेको लार्भा नाश गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा सधैं झुल प्रयोग गर्नुपर्दछ । शरीरका खुला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउने उपयोगी स्प्रे, लिक्विड, म्याट आदि पनि प्रयोग गर्न सकिन्छ । अर्कोतर्फ घर–घर, समुदायहरुमा जनचेतना फैलाउनु, शंकास्पद विरामीले तुरुन्त परीक्षण गर्ने जस्ता कुरामा ध्यान दिन सके मात्र औलो रोग नियन्त्रण गर्न सकिन्छ ।अन्यथा यस रोगको जोखिम थप बढ्न सक्ने छ ।

 

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update