Shittalpati
नेकपा पाल्पाको चुनावी ‘प्रतिवद्धतापत्र’ सार्वजनिक

पाल्पा,आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका नेपाली कम्युनिष्ट पार्टी पाल्पाले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । ‘तारा’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएको सो पार्टीले पाल्पा क्षेत्र नं. २ को लागि प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।नेकपाका नेता अशोक कुमार शाहीले पत्रकार सम्मेलनमार्फत प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उनले  सामाजिक, आर्थिक रूपान्तरण सहितको प्रतिवद्धतपत्र ल्याइएको बताए ।

सिद्धबाबा–तानसेन–भैरवस्थान–ऋषिकेश–रानीमहल र राम्दीलाई जोडेर एकीकृत धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट निर्माण गर्ने, अंग्रेजसँगको लडाइँमा विजयी हासिल गरेको गौरवपूर्ण इतिहास र वीरतासँग जोडेर पाल्पाका ऐतिहासिक गढी र किल्लाको एकीकृत विकास गुरुयोजना तयार गर्ने,  पाल्पा दरबारदेखि रानीमहलसम्म डेडिकेटेड सडकसहित पर्यटनमैत्री पूर्वाधार निर्माण गर्ने, प्रभासदेखि दमकडा क्षेत्रलाई आवासीय शैक्षिक हबका रूपमा विकास गर्ने, पाल्पामा रहेका मगर र नेवारलगायत जाति विशेषको कलासंस्कृति झल्किने खालका केन्द्रहरू स्थापना गरिने  प्रतिवद्धतापत्रमा उल्लेख छ । यस्तै सडक पूर्वाधारतर्फ, सिद्धबाबा सुरुङमार्ग समयमै सम्पन्न गर्न र सिद्धार्थ लोकमार्गलाई स्तरोन्नति गर्नका लागि आवश्यक पहल गर्ने, प्रदेश गौरवको आयोजनाका रूपमा रहेको हार्थोक–बतासे–छहरा सडकलाई संघीय सरकारमार्फत स्रोतको व्यवस्थापन गरी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने, कालीगण्डकी कोरिडोरअन्तर्गत राम्दी–रानीघाट खण्डको निर्माण कार्य तदारुकताका साथ सम्पन्न गर्न विशेष पहल गर्ने पनि प्रतिवद्धतापत्रमा राखिएको छ । कृषि तथा सिंचाईतर्फ माडी, अर्गली, हुँगी, कचल, दर्पुक, सर्देवा, दोमान लगायतका फाँटमा उपलब्ध सिंचाई आयोजनाहरूको मर्मत सम्भार गरी प्रभावकारी सिंचाई प्रणालीको विकास गर्ने, सहज सिंचाइ सुविधा नभएका डाँडापाखामा लिफ्ट सिंचाइ तथा रिचार्ज पोखरीहरूको निर्माणमा पहल गर्ने,. निर्वाचन क्षेत्रभित्रका सम्भावित स्थानहरूमा सुन्तला, कागती लगायतका अमिलो, टिमुर, अम्रिसो, अकबरे खुर्सानी, अदुवा, बेसार, दालचिनी, ओखर लगायतको व्यावसायिक खेतीमा पहल गर्ने, एक पालिका एक चिस्यान केन्द्रको निर्माण गर्ने नेकपाको प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।

यस्तै शिक्षा, स्वास्थ्य एवं खेलकुदतर्फ प्रत्येक पालिका एक नमूना विद्यालयको अवधारणा अन्तर्गत प्रत्येक स्थानीय तहमा १÷१ आवासीय सुविधासहित स्मार्ट बिग स्कुलको स्थापना गर्न पहल गर्ने  र सबै सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउने, त्रिभुवन बहुमुखी क्याम्पसलाई शैक्षिक अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने, निर्वाचन क्षेत्र भित्र क्षेत्रीय स्तरको फुटबल र क्रिकेट स्टेडियम निर्माण गर्ने,  पाल्पा अस्पताललाई अत्याधुनिक भौतिक पूर्वाधार निर्माण गरी विशेषज्ञ सेवासहितको अस्पतालका रूपमा विकास गर्ने, गाउँपालिकाका आधारभूत अस्पतालको सञ्चालन र स्वास्थ्य चौकीहरूको स्तरोन्नति गर्ने साथै स्वास्थ्य बीमालाई सहजीकरण गर्ने पनि भनिएको छ । नेकपाले पाल्पा क्षेत्र नं. २ बाट प्रत्यक्षमा सोम प्रसाद पाण्डेय र समानुपातिकतर्फ पार्वती वि.क. लाई उम्मेदवार बनाएको छ । उनीहरुले पार्टीको प्रतिवद्धता पत्र बोकेर जनताको घरदैलोमा पुगेका छन् । उम्मेदवार पाण्डेले निर्वाचनमा विजयी भए पनि नभए पनि आफु पाल्पाली जनताको सेवकका रुपमा विगतदेखि नै रहँदै आएको  बताए । उनले अहिले पनि जनताको सेवक बन्न उम्मेदवार बनेको भन्दै पार्टीले ल्याएको प्रतिवद्धतापत्र अनुसार काम गर्ने जनाए ।

पर्यटनको विकासका लागि भैरवस्थान, रणउजिरेश्वरी, अमरनारायण, ऋषिकेश, रानीघाट, नुवाकोटगढी, बल्ढेङ्गढी, जलेश्वर, शिवसान, दर्लमडाँडा, बगनासदेवी, रेनुकादेवी, कालिका थान आदिको संरक्षण र प्रवद्र्धन गर्ने, पाल्पा दरवार र रानीमहललाई विकास समितिमार्फत राष्ट्रियस्तरको आकर्षक गन्तव्य बनाउने,  माडीमा माण्डव्य सरोवर र रुरुक्षेत्रमा ह्षिकेश मोक्षधाम सरोवर निर्माण गर्ने, तानसेन, नुवाकोट, बसन्तपुर, बतासे, छहरा र तिनाउ गिरीलाई हिलस्टेशनको रूपमा प्रवद्र्धन गरी पर्यटकीय केन्द्र बनाउने,  तानसेन–नायर–राम्दी, भैरवस्थान–रिडी र लेकलगायतका क्षेत्रमा ट्रेकिङ रुट विकास गर्ने साथै जिपलाइन, स्काई साइक्लिङ र बन्जी जम्पको सम्भाव्यता अध्ययन तथा निर्माण गर्ने, तानसेन, बौघागुम्बा, डाँडाझुम्म, जनितलुङ्ग मरामकोट लगायतका क्षेत्रका होमस्टेको गुणस्तरमा अभिवृद्धि गर्ने, रिब्दीकोटमा सेनकालीन दरवार, तानसेन श्रीनगरमा विशाल बौद्धमूर्ति तथा गुफाचौरमा विश्वकै अग्लो गणेश मूर्ति स्थापना गर्ने, पाल्पामा एयरपोर्ट निर्माणका लागि सम्भाव्यता एवं प्राविधिक अध्ययन गर्नका लागि बजेटको व्यवस्था मिलाउन पहल गर्ने उम्मेदवार पाण्डेयले बताए ।

स्वच्छ खानेपानी तर्फ तानसेनको कालीगण्डकी तथा बगनासकाली लगायतका विद्युतीय लिफ्ट खानेपानी आयोजनाहरूलाई संघीय आयोजना अन्तर्गत सञ्चालन गर्न पहल गर्ने,  विद्युतीकरणतर्फ प्रत्येक घरमा तथा व्यावसायिक प्रतिष्ठानहरूमा गुणस्तरीय र सुरक्षित विद्युत आपूर्तिका लागि रिडी र माडीको विद्युत सबस्टेसन निर्माण कार्यलाई सिघ्र सम्पन्न गर्न पहल गर्ने, खानी तथा लघु उद्योग तर्फ  पाल्पाका चिनारीका रूपमा रहेका करुवा, ढाका, घरबुना, कुल्पु–ताला, ठेकी, बेतबाँस जन्य सामाग्री जस्ता लघु उद्यमलाई आधुनिकीकरण गर्ने र सहज बजारीकरणको व्यवस्था मार्फत युवा स्वरोजगारीलाई प्रोत्साहन गर्ने, पाल्पाका चुनढुङ्गा, ढुङ्गा, गिट्टी, बालुवा, फलामखानी आदिको योजनाबद्ध उपयोग गर्न, पर्यावरण जोगाउन र वातावरणीय प्रदुषण रोक्न आवश्यक कानुन निर्माणमा पहल गर्ने, उद्योगहरूबाट परेको वातावरणीय प्रभावको उचित क्षतिपूर्ति गरी सामाजिक उत्तरदायित्व सुनिश्चित गराइने, केवलकार तथा सिमेन्ट उद्योगहरूमा निजी क्षेत्रलाई आकर्षण गरी रोजगारीका अवसर सिर्जना गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।यस्तै वन्यजन्तु नियन्त्रणतर्फ  ग्रामीण क्षेत्रमा बढ्दै गएको वन जंगलका कारण बाँदर, बाघ, भालु, चितुवा, बँदेल, दुम्सी लगायतका वन्यजन्तुबाट हुने मानवीय तथा कृषिजन्य क्षति रोकथाम गर्न आवश्यक कानुन निर्माण र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न पहल गर्ने नेकपा पाल्पाले प्रतिवद्धतापत्रमा उल्लेख गरेको छ ।  पार्टीका निर्वाचन प्रचार प्रसार संयोजक  अनिल किशोर घिमिरको अध्यक्षता, पत्रकार कृष्ण दर्नालको सञ्चालनमा पत्रकार सम्मेलन कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update