पाल्पा, प्रतिनिधि सभा निर्वाचनको मिति आउन अब २२ दिन मात्र बाँकी रहँदा पाल्पामा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरुले आ–आफ्ना पक्षमा निर्वाचन माहोल बनाउन धमाधम सम्पर्क कार्यालय उद्घाटन गरेका छन् ।
नेपाली काँग्रेस पाल्पाले पनि क्षेत्र नम्वर २ को सम्पर्क कार्यालय उद्घाटन गरेको छ । नेपाली काँग्रेस क्षेत्र नम्वर २ ले मंगलबार एक औपचारिक कार्यक्रमकाबिच तानसेनमा सम्पर्क कार्यालय खोलेको हो । कार्यालयको नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंह, निर्वाचन परिचालन समिति पाल्पाका संयोजक विरबहादुर रानाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि एवं केन्द्रीय सदस्य सिंहले कांग्रेस अबको सरकार र देश विकासको नेतृत्व गर्ने गरी आफूलाई रुपान्तरण गर्दै गएको बताए । उनले कांग्रेसलाई बहुमतले जिताउनुपर्ने आवश्यकता औंल्याउँदै गगन थापालाई प्रधानमन्त्री बनाउन पाल्पाबाट हिमालदत्त श्रेष्ठको जीत अनिवार्य रहेको धारणा व्यक्त गरे । उनले नेपाली कांग्रेस देशकै अभिभावक पार्टी भएकाले मुलुकका हरेक समस्यालाई मर्यादित रूपमा समाधान गर्ने बताए । कांग्रेस कमजोर हुँदा देश नै कमजोर हुने भन्दै उनले प्रजातन्त्रमा विश्वास राख्ने सबै नागरिकलाई कांग्रेसमा आबद्ध भएर देशको सेवा गर्न आग्रह गरे ।
निर्वाचन परिचालन समिति पाल्पाका संयोजक तथा लुम्बिनी प्रदेश सांसद विरबहादुर रानाले अहिले जनताको बिचमा जाने र आफ्नो भूमिका देखाउने अवसर रहेकाले सोही अनुसार लाग्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरे । उनले मुलुकको स्थायित्वको लागि काँग्रेसको विकल्प नरहेको समेत बताए । काँग्रेसले युवालाई अगाडि सार्ने नीतिअनुसार गगन थापालाई युवा नेताको रूपमा अगाडि बढाएको र भावी प्रधानमन्त्री बनाउने योजनाका साथ अघि बढेको उनले उल्लेख गरे ।” पार्टीको नेतृत्व अब युवाको काँधमा पुगेकाले आम मतदाताले एक पटक कांग्रेसलाई विश्वास गर्न जरुरी छ”, रानाले भने । अहिले पाल्पाका दुवै क्षेत्रमा काँग्रेसका उर्जाशिल युवाहरुलाई काँग्रेसले उम्मेदवार बनाएकाले गाउँ गाउँका मदतादाहरुमा उत्साह छाएको उनले बताए । क्षेत्र नम्वर २ का उम्मेदवार हिमालदत्त श्रेष्ठले देशलाई संकटबाट बचाउन काँग्रेसलाई जिताउन मतदातासँग आग्रह गरे । युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गरी विदेशमा पाइने सुविधा र सम्मान यहीँ उपलब्ध गराउन सकिने उनले बताए । प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालमा पर्यटन, कृषि र जलविद्युतको क्षेत्रमा छिट्टै फड्को मार्न सकिने भन्दै उनले शिक्षा, स्वास्थ्य, पर्यटन, उद्यमशीलता र पूर्वाधार विकास आफ्नो प्राथमिकता रहेको उल्लेख गरे ।उनले विपिको सपना पूरा गर्ने गरी आफुले काम गर्ने बताए । उम्मेदवार श्रेष्ठले भिजन टेनको अवधारणा अनुसार घोषणपत्र तयार गर्न लागिएको उल्लेख गरे ।
उनले आफुलाई विजयी बनाए जेन्जीको भावाना अनुसार काम गर्ने बताए । नेता श्रेष्ठले मित्रवत् व्यवहार र आर्थिक मितव्यिताको नारा आगाडि सारेको भन्दै सोही अनुसार निर्वाचनमा होमिएको उल्लेख गरे । काँग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गहिरेले काँग्रेसको पक्षमा जनलहर आएको भन्दै उत्साहका साथ निर्वाचनमा होमिन नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।कार्यक्रममा क्षेत्रीय सभापति मुक्तिराम जिसीले ४८ साल फिर्ता गर्ने गरि अहिले मतदातामा उत्साह छाएको बताए । उनले काँग्रेस उम्मेदवारलाई विजयी बनाउन सबै लाग्ने बताए । नेता जिसीले आम मतदाताहरुसँग सुझाव संकलन, मतदाताहरुमा आइपर्ने समस्याहरुको समाधान, छलफल लगाएका कामहरु कार्यालयबाट हुने बताए । उनले कार्यालयलाई व्यवस्थित बनाई क्षेत्रका हरेक गतिविधिहरु सञ्चालन गरिने बताए । कार्यक्रम क्षेत्रीय सभापति जिसीको अध्यक्षता,क्षेत्रिय सदस्य मिना थापाको स्वागत र सचिव कृष्ण आलेको सञ्चालनमा कार्यक्रम भएको थियो ।


