पाल्पा, नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, प्रवक्ता, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टीका एक असल नेता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पुस २६, २७ र २८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो । केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने काँग्रेसले जनाएको छ । पुस २७ गते आइतबार भने सबै कार्यालय बन्द गरिने र स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिने पनि निर्णय गरिएको छ । साथै, सम्बन्धित जिल्ला ओखलढुङ्गामा १३ औं दिन शोकसभाको आयोजना गरिनेछ ।
दाहालको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन भएको थियो । केन्द्रीय कार्यसमितिले उनको निधनप्रति शोक प्रस्ताव पारित गर्दै परिवारजन र आफन्तप्रति समवेदना व्यक्त गरेको छ । दाहाल नेपाल पत्रकार महासंघका पूर्वसभापति, राष्ट्रपुकार साप्ताहिकका सम्पादक तथा प्रकाशक र गोरखापत्र संस्थानका पूर्वअध्यक्ष थिए । लोकतान्त्रिक आन्दोलनमा उनको योगदान स्मरणीय रहेको छ । उनले पटक–पटक जेल जीवन बिताएका थिए र २०५६ सालको आम निर्वाचनमा ओखलढुङ्गा जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । उनले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए । दाहालले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर नेपाली काँग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गरेको भन्दै काँग्रेसले स्मरण गरेको छ ।


-1762576335.jpg)