पाल्पा, सोमबार राति मेडिकल व्यवसायी दुर्गा प्रसाईंं प्रकाउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए । आन्दोलनको तयारीमा रहेका उनी पक्राउ परेका हुन् । प्रसाईंले देशै ठप्प पार्ने भन्दै उग्र अभिव्यक्ति दिइरहेकोमा सुरक्षा संयन्त्रले उनलाई ‘नोटिस’ मा राखेको थियो ।
पक्राउ परेका उनी ४ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । अब हिरासतमा राखेर सोधपुछ र थप अनुसन्धान प्रक्रिया अघि बढ्ने छ । पछिल्लो समय उनले दूतावासहरूको नाम नै तोकेर बम प्रहार हुन सक्ने र दोष आफूलाई थुपारिदिन सक्ने भन्दै दिएको अभिव्यक्तिलाई सुरक्षा संयन्त्रले नोटिसमा लिएको थियो । आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समेत उनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने प्रसंग उठेको थियो । त्यसपछि बैठकले हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय गरेको थियो ।


