Shittalpati
अनलाइनबाट बञ्चित  विद्यार्थी खुल्ला चौरमा पढ्दै

रामचन्द्र / भुवन रायमाझी
पाल्पा (छहरा) । लामो समयदेखिको लकडाउनका कारण प्रभावित विद्यार्थीहरुका लागि सरकारले असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरे पनि केही दुरदराजका विद्यार्थीहरु भने खुल्ला चौरमा बसेर पढन बाध्य भएका छन् । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि एफएम रेडियो, टेलिभिजन र इन्टरनेट सेवा मार्फत् सरकारले पढाउन सुरु गरे पनि पाल्पाको पश्चिम क्षेत्र रैनादेवी छहरा गाउँपालिकाका केही विद्यालयका विद्यार्थीहरु भने खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका हुन् ।

भोगौलिक बनावटका कारण सामुदायिक विद्यालयहरुमा इन्टरनेटको सहज पहुँच उपलब्ध हुन नसक्नु र विद्यालयका कोठाहरु क्वारेन्टाइन निर्माणमा प्रयोग भएकाले यस क्षेत्रका विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्दै आएका छन् । रैनादेवी छहरामा रहेको भैरव माविले इन्टरनेट नभएको र विद्यालयका कोठाहरु कोरोना महामारी नियन्त्रणका लागि स्थानीय सरकारले क्वारेन्टाइनका रुपमा प्रयोग गरेकाले विद्यार्थीहरुलाई खुल्ला चौरमा राखेर पठन–पाठन गराउँदै आएको छ । विद्यालयमा अध्ययनरत उनीहरुलाई सरकारले भनेको पठन–पाठनको वैकल्पिक बिधिले भने समेट्न सकेको छैन ।

अधिकांश विद्यार्थीहरुको घरमा टिभी, रेडियो नभएकाले पनि यस क्षेत्रका अधिकांस विद्यार्थीहरु सरकारले ल्याएको वैकल्पिक शिक्षाबाट बञ्चित हुनु परेको हो । कोरोना महामारीका कारण पठन–पाठन अनिश्चित भएपछि विद्यालयले विद्यार्थीहरुलाई सामजिक दुरी कायम राख्दै खुल्ला चौरमा राखेर पठन–पाठनसँगै कोरोना सचेतनाका जगाएको छ । विद्यालयमा भारत लगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई राखिएको छ । तीन महिनादेखि घरमै रहेका विद्यार्थीहरुको मानसिकतामा नै प्रभाव पर्ने देखिएपछि उनीहरुलाई पायक पर्ने खुल्ला चौरमा राखेर पठन–पाठन र कोरोना सम्बन्धी आवश्यक शिक्षा र परामर्श दिने गरेको विद्यालयका प्रअ झलकबहादुर रायमाझीले बताए ।

उनले भने ‘नयाँ शैक्षिक सत्रको सुरुवातसँगै दुरी कायम गरी पठन–पाठन सञ्चालन गरिएको छ ।’ लामो समय विद्यालय जान नपाएर अन्यौलमा परेका विद्यार्थीहरु खुल्ला चौर भए पनि पढ्न पाउँदा भने सुखी छन् । विद्यार्थी र शिक्षकलाई पायक पर्ने गरी फरक–फरक स्थानमा राखेर विद्यार्थीहरुको पठन–पाठन भइरहेको शिक्षक दामोदर घिमिरेले बताए । उनका अनुसार साताको तीन दिन शिक्षकहरु पालैपालो गएर पढाउने गरिएको छ । भगवती आधारभूत विद्यालयले पनि वैकल्पिक विधिको प्रयोग गरी पठन–पाठनमा सहजीकरण गरेको छ ।

तत्काल विद्यालय खोल्न सक्ने वातावरण नभए पछि विद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारीको सहमतीमा विद्यालयले वैकल्पिक विधिबाट पठन–पाठन गरेको हो । नयाँ शैक्षिक सत्रसँगै विद्यार्थीहरुलाई खुल्ला चौरमा राखेर पठन–पाठनलाई सञ्चालन गरिएको विद्यालयले जनाएको छ । शिक्षकले विद्यार्थीहरुलाई पायक पर्ने स्थानमा राखेर पढाउँदै आएका छन् । विद्यालय खोल्ने निश्चित नभएपछि सामाजिक दुरी कायम राखी वैकल्पिक शिक्षण विधी अपनाएको विद्यालयले जनाएको छ । विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी समेत भर्ना भएका छन् । उनीहरूलाई किताब वितरण गरिएको छ । एउटा समूहमा २० जना विद्यार्थी राखेर अध्ययन भएको छ ।

विद्यालयले दिनमा तीन घण्टाका दरले विद्यार्थीलाई नै पायक पर्ने ठाउँमा राखेर पठन–पाठन गराएको छ । गाउँपालिकामा ईन्टरनेटको सहज पहुँच नभएको हुँदा अनलाईन कक्षा संभव नै नभएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए । उनले भने ‘टेलिभिजन हुने परिवार पनि निकै कम छन् । रेडियो र शिक्षकलाई घर–घर पठाउने भन्ने अवस्था पनि तत्कालका लागि संभव देखिदैन ।’ यसका लागि छिट्टै नै शिक्षण सिकाईको अन्य वैकल्पिक उपाय खोजिने अध्यक्ष कार्कीले बताए । उनका अनुसार अहिले गाउँपालिका भित्रका विद्यालयहरुमा पुस्तक वितरण गरिसकिएको र परम्परागत ढङ्गबाट खुल्ला स्थानमा राखेर पठन–पाठन समेत भएको छ ।

गाउँपालिकाभित्र रहेका सबै विद्यालयसँग सरसल्लाह गरेर टोल टोलमा शिक्षक पठाएर विषयगतसंगै कोरोना रोगका बारेमा जानकारी गराउने गरी योजना अगाडि बढेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निशा पाण्डेले जानकारी दिइन् । उनका अनुसार केही विद्यालयहरुमा सोही योजना अनुसार पठन–पाठन सुरु भएको छन् ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update