Shittalpati
बालबालिकाको सिकाई र अभ्यास रोक्न नमिल्ने सरोकारवालाहरुको भनाई

इमान सिं राना
पाल्पा, शिक्षा क्षेत्रमा क्रियाशील सरोकारवालाहरुले बन्दाबन्दीको बहानामा बालबालिकाको सिकाई र अभ्यास रोक्न नमिल्ने बताएका छन् । शिक्षाको लागि राष्ट्रिय अभियान, जिल्ला समन्वय समिति पाल्पाले शैक्षिक क्षेत्रका सरोकारवालाहरुसंग गरेको अनलाइन (भ्रच्यूवल) शैक्षिक बहसमा उनीहरुले यस्तो बताएका हुन् ।

जुम मार्फत जिल्लाको वर्तमान शैक्षिक अवस्था र सम्भाव्य उपायहरुको खोजीका लागि भएको अनलाईन बहसमा विद्यालय सञ्चालन गर्ने अवस्था नभएपनि बालबालिकाहरुलाई तत्काल पुस्तकको व्यवस्था गरेर वैकल्पिक उपाय मार्फत सिक्ने सिकाउने वातावरण तयार गर्न सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै शिक्षाको लागि राष्ट्रिय अभियानका केन्द्रिय अध्यक्ष डिल्लीराम सुवेदीले महामारी तथा संकटको समयमा शिक्षालयहरु बन्द रहे पनि सिकाई बन्द नहुने भएकाले वैकल्पिक सिकाईको उपाय अवलम्बन गर्नु आवश्यक रहेको बताए । सुवेदीले औपचारिक शिक्षासंग जोडिएका ९० लाख बालबालिकाको सिकाई प्रभावित भएको भन्दै उनीहरुको मानसिक स्वास्थ्यका लागि सिकाईमा व्यस्त राख्नु आवश्यक रहेको बताए । उनले सिकाईमा वहानाले नचल्ने भन्दै स्रोत र साधन अनुसारको वैकल्पिक उपाय अवलम्बन गर्न सुझाव दिए ।

शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेशराज पौडेलले धेरै संख्या रहेका विद्यालयहरुले बच्चाले सिक्दै नसिक्ने भन्दा पालो गराएर भएपनि सिकाई गराउन सक्ने, टोलटोलमा राखेर सिक्ने वातावरण तयार गर्नु आवश्यक रहेको बताए । उनले वैकल्पिक शिक्षाको लागि वैकल्पिक सहजीकरण निर्देशिका जारी गरेको उल्लेख गरे । जिल्ला समन्वय समिति पाल्पाका समन्वय अधिकारी लेखनाथ ज्ञवालीले शैक्षिक क्रियाकलापहरुलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा संघ सरकारले सबै क्षेत्र र वर्गलाई समेट्ने गरी उपयुक्त नीति अवलम्बन गर्नु पर्ने र सोही आधारमा प्रदेश र स्थानीय तहहरुले शैक्षिक गतिविधि सञ्चालन गर्न सहज हुने बताए ।

सामाजिक विकास डिभिजन कार्यालयका पाल्पाका प्रमुख लक्ष्मण ज्ञावलीले पुस्तकहरु बालबालिका सम्म पुग्नु पर्छ भन्ने उद्देश्यका साथ प्रदेश सरकार लागि परेको बताए । प्रध्यापक भेषराज सुवेदीले विद्यार्थीहरुलाई अहिले नै विद्यालय सम्म लैजान सम्भव नभएको भन्दै सिकाईका लागि पहिले पुस्तक पु¥याएर रेडियो तथा टेलिभिजन मार्फत सहजीकरणको व्यवस्था गर्नुपर्ने बताए । उनले अनलाईन कक्षा सबैको पहुँचमा नहुने भन्दै सञ्चालन गरे पनि सहभागिता न्यून रहेको जानकारी दिए । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले बन्दाबन्दीमा सिकाई र अभ्यास रोक्न नमिल्ने भन्दै रचनात्मक ढंगबाट सिकाईको व्यवस्था गर्नुपर्ने बताए । पत्रकार जगदीश भट्टराईले टेलिभिजन र अनलाईन शिक्षा भन्दा सस्तो र प्रभावकारी रेडियो शिक्षा रहेको जानकारी दिए । शिक्षक रामप्रसाद ढकालले पनि अनलाईन रेडियो नै प्रभावकारी माध्यम रहेको बताए ।

कार्यक्रममा शिक्षाको लागि राष्ट्रिय अभियान पाल्पाका सदस्य चोपालाल गिरीले सरोकारवाला जाग्ने हो भने सिकाईका गतिविधि सञ्चालन गर्न सकिने बताए । कार्यक्रममा रामपुर नगरपालिका शिक्षा शाखा प्रमुख विकल काफ्ले, बगनासकाली गाउँपालिकाका शिक्षा शाखा प्रमुख, रिब्दीकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणी खनाल, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, शिक्षाको लागि राष्ट्रिय अभियान पाल्पाका पूर्व अध्यक्ष रुद्र मश्राङ्गी लगायतले पनि आफ्नो धारणा राखेका थिए । शिक्षाको लागि राष्ट्रिय अभियान पाल्पाका जिल्ला संयोजक शालिकराम पाण्डेले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन पत्रकार माधव अर्यालले गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, असार १, २०७७  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update