-1747026131.jpg)
पाल्पा, रातदिन सेवामा खटिने नर्सहरु अस्पतालमा पुगेका बिरामीका लागि भरोसाका केन्द्र हुन् । बिरामीको हेरचाहमा उनीहरुको महत्वपूर्ण भूमिका रहेको छ । औषधि खुवाउने, सुई खोप्ने, बिरामीका हरेक गुनासो सुन्नेदेखि सबै काम नर्सले गर्छन् तर नेपालमा तिनै नर्स विभिन्न बहानामा पीडित छन् । हरेक वर्षको मे १२ तारिखमा नर्सिङ सेवा र नर्सहरुलाई सम्मान गर्ने उद्देश्य लिएर अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ । यस वर्षको दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तर उनीहरुका पीडा कम हुन सकेका छैनन् ।
दया र सेवाकी प्रतिमूर्ति ‘फ्लोरेन्स नाइन्टिंगेल’ को सेवाभावलाई मानक मान्दै उपचारमा खटिने नेपालका नर्सहरु राज्यले दिने सुविधामा भने कहिल्यै प्राथमिकतामा पर्दैनन् । सरकारी अस्पतालमा थोरै दरबन्दी छ भने निजीमा श्रमको मूल्य नै छैन । नर्सहरुको पहिलो सर्त र स्वभाव भनेको बिरामीको सेवा हो । उनीहरु हरबखत बिरामीको मलिन अनुहारमा खुसी ल्याउन प्रयासरत रहन्छन् । बिरामीको अनुहारमा देखिने खुसीले उनीहरु प्रफुल्ल हुन्छन् । तर न्यून पारिश्रमिकमा काम गर्नु उनीहरुका लागि ठूलो पीडा हो । एउटा नर्सले अस्पतालमा रातिको समयमा एक्लैले ३० देखि ३५ जनासम्म बिरामीको स्वास्थ्य निगरानी गर्नुपर्ने हुन्छ । अहिले बेड रेसियो अनुसार कोटा निर्धारण गरिएको छैन । त्यस्तै, लामो समयदेखि नयाँ कोटामा दरबन्दी नखुल्दा नर्सहरु निजी अस्पतालमा अति कम शुल्कमा जागिर खान बाध्य छन् । अध्ययन पूरा गरेपछि हरेक तहको अध्ययनमा भोलेन्टियर बनेर काम गर्नुपर्ने पनि नर्सहरुको अर्काे पीडा हो । त्यस्तै, कार्यक्षेत्रमा रहँदा पुरुष कामदार र बिरामी कुरुवाहरुको गिद्दे दृष्टिको जोखिम पनि उनीहरुको अर्काे पीडा रहेको नर्सहरुको गुनासो छ । १० देखि १२ लाख खर्चेर वर्षौं लगाएर पढेका नर्सले निजी अस्पतालमा अहिले पनि मासिक १०÷१२ हजारमा मात्रै काम गर्न बाध्य छन् । स्नातक र स्नातकोत्तर गरेका नर्सहरुले प्रवीणता मात्रै गरेकासँग एकै तहमा काम गर्नुपरेको छ । नर्सिङ पेशा आफैमा गर्व गर्न लायक भए पनि त्यहाँ भित्र थुप्रै पीडाको सामना गर्नु परेको तानसेनको एक अस्पतालमा कार्यरत सरिता बस्यालले बताइन् । उनले भनिन् “पेसाले म एक नर्स हुँ । मलाई आफ्नो यस पेसामाथि गर्व छ तर कहिलेकाहीँ नर्स बनेकोमा पीडाबोध पनि हुन्छ । नर्सिङ एउटा पेसा मात्रै नभई मानवता पनि हो । भावना हो, कर्म हो । धेरै नेपाली बुबाआमाहरुको सपना हुन्छ, आफ्ना छोरीहरूलाई हामीजस्तै नर्स बनाउने , तर नर्स भइसकेपछि भोग्नुपर्ने पीडा कम छैनन् ।” योग्यता अनुसारको पारिश्रमिक पाउन नसकिएको उनको गुनासो छ । उनले भनिन् “ठूलो रकम खर्च गरेर नर्स पढ्यो, जागिर पाइँदैन, जसोतसो गरेर जागिर पाइहाले पनि न्यून तलवमा काम गर्नु परेको हुन्छ । ” निजी अस्पतालहरुमा नर्सहरुले कम तलबमा काम गर्नुपरिरहेको अर्की नर्स मनिषा विष्टले बताइन् । अरु पेसाजस्तै नर्सहरुलाई समेत सेवासुविधामा सुधार गर्नुपर्ने उनको सुझाव छ ।