
पाल्पा, नेपालले अंग्रेज फौजलाई युद्धमा हराएको विजयी स्वरुप प्रत्येक बर्ष निकालिने भगवतीको रथ सहितको सिन्दुर जात्रा आज पाल्पाको तानसेनमा निकालिँदै छ । यस वर्ष २०६ औँ भगवती खट यात्राका रुपमा विजयोत्सव निकाल्न लागिएको हो ।
वि स १८७१ देखि १८७२ भएको नेपाल अँग्रेज युद्धमा पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाले अंग्रेज फौजलाई हराउन सफल भएपछि पाल्पामा हरेक वर्ष भाद्र कृष्णनवमीको दिन विजय उत्सव मनाइँदै आइएको छ । कहिंँकतै नहारेको ब्रिटिस सेनालाई नेपालले युद्धमा पराजित गरी बिजय हासिल गरेको थियो । विश्वभर आफ्नो साम्राज्य विस्तारको क्रममा हिंडेको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरी जितगढीबाट नै नेपाली विरताको इतिहांस रचेको थियो । पाल्पाका तत्कालीन कर्णेल उजीरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाले विरता र निडरताको साथ लडाई लडेर विजयको झण्डा फहराएको हो । नेपालले वि.सं १८७१ पौष देखी १८७२ जेठसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतको क्षेत्रमा विजय हासिल गरेको संम्झनामा वि.स. १८७७ देखी निरन्तर रुपमा प्रत्येक बर्ष पाल्पामा विजयउत्सव मनाउने परम्परा चल्दै आएको छ । कर्णेल उजिर सिंह थापाले जितगढीमा विजय प्राप्त गरें पाल्पाको तानसेनमा भगवतीको मन्दिर स्थापना गरी सिन्दुर यात्रा गरी भगवतीको जात्रा निकाल्नेछु भनि भाकल गरेको र लडाई जितेपछि १८७६ मा भगवतीको मन्दिर निर्माण गरी भगवती जात्रा निकाल्ने परम्पराको थालनी गरेका थिए । आजको दिन बच्चाबच्ची, बूढाबूढी, युवा, युवती सबैको लागि भगवती जात्रा उत्सवमय बन्ने छ । गाउँ–गाउँबाट मेला अवलोकनका लागि विभिन्न व्यक्तिहरुले समय मिलाएर आउँदैछन् । तानसेन बजारमा फरक माहोल देखिएको छ भने मानिसहरुको चहलपहल बढ्दो छ । नेपालल अंग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतको क्षेत्रमा विजय हासिल गरेको सम्झनामा वि.स. १८७७ देखि मनाउन थालिएको विजयोत्सव अहिले पनि निरन्तरता पाएको छ । प्रत्येक बर्ष पाल्पामा श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले विजयोत्सव स्वरुप ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकाल्ने गरेको हो । यस वर्षको भगवती जात्राको तयारी पुरा भएको समितिका अध्यक्ष अशोक कुमार महर्जनले बताए । उनले भने “ हामीले स्थानीय सरकार, जिल्लाका सरोकारवाला निकाय, यहाँ सञ्चालन हुने अन्य जात्राका व्यवस्थापकहरुसँग बसेर जात्रालाई कसरी व्यवस्थित र मर्यादित बनाउन सकिन्छ भनेर सल्लाह लिने र सोही अनुसार काम गर्ने गरेका छौं ।” ऐतिहासिक भगवतीको रथयात्राले भगवतीको महिमाको प्रचार–प्रसार र धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने विश्वास लिएको अध्यक्ष महर्जनले बताए ।
यस वर्षको भगवती रथयात्रामा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधान सेनापति बलाधिकृत रथी श्री अशोकराज सिग्देल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशका मन्त्री, संघीय सांसद, प्रदेश सांसद लगायतका उच्च पदस्थ व्यक्तिहरुको सहभागीता रहने भगवती मन्दिर व्यवस्थापन समितिका सदस्य सचिव प्रकाशनाथ गंगोलले बताए । उनका अनुसार पूजा तान्त्रिक विधिद्वारा मूलपुरोहितद्वारा ठिक १२ बजेको बली सहितको पूजा, बढाई आतिसबाजी, भगवतीको प्रतिमूर्ति रथमा राखिने छ ।
सचिव गंगोलले भने “१२ः३० बजे मन्दिर परिसरबाट खटयात्रा ३ तीन पटक मन्दिर घुमाउने र कर्णेल पूजा गरिसकेपछि नगरपरिक्रमा गराईने छ ।” मूर्ति सहितको खट उठिसकेपछि भगवती मन्दिर परिसरलाई तीन पटक परिक्रमा सहित कर्णेल पुजा एवं बली दिइ खट यात्रा मन्दिर परिसरबाट पूर्व तर्फको मूलढोका हुदै (निशान मन्दिर) शित्तलपाटीबाट सडक ,हुलाक हुँदै गणेश मन्दिरमा परिक्रमा गरि दरवार हुँदै शित्तलपाटी भगवती टोल, बसन्तपुर चोक हुँदै कैलाशनगर चोकसम्म पु¥याइने उनले बताए । त्यहाँबाट सेन्ट क्यापिटानियो हुँदै शित्तलपाटी, अशनटोल, नारायण स्थान चोक पुर्याईने छ । त्यहाँ रथ तीन पटक परिक्रमा गरि भिमसेनटोल हुँदै नगरपालिकाबाट नेपाली सेना क्याम्प हुँदै बसपार्क आन्दोलन चोक, बडिज्ञान टोल ,हुलाक चोक, शिल्खनटोल, गौरी शंकर गेष्ठ हाउस, टक्सार हनुमान मन्दिर,गणेश मन्दिर, निशानधारा शित्तलपाटीको भिमसेन मन्दिर हुँदै मुल गेट प्रवेश गरि निशान मन्दिर हुँदै भगवती मन्दिरमा प्रवेश गरि विसर्जन हुने सचिव गंगोलले बताए । रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, शसत्र प्रहरी, निजामती कर्मचारी, संघसंस्थाहरुको समेत सहभागिता रहने छ । हरेक वर्ष कुमाल समुदायबाट विजयोत्सवको रथ बजार परिक्रमा गराउने परम्परा रहेको छ । भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बडाईका साथ मुर्तीलाई रथमा राखेर नगर परिक्रम गर्ने गरिन्छ । ऐतिहासिक महत्व बोकेको जात्राका क्रममा शान्ति सुव्यवस्था कायम गर्न जिल्लाको सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । जात्राका दिन प्रदेश सरकारले सार्वजनिक विदा समेत दिएको छ । प्रदेश सरकारले राष्ट्रिय गौरवको रुपमा रहेको भगवती जात्रालाई सार्वजनिक विदा दिने निर्णय यस अघि नै गरेको थियो ।