Shittalpati
पर्यटक आकर्षण गर्ने वातावरण बनाऔं

पर्यटन व्यवसाय नेपालको प्रमुख व्यवसायमध्ये एक हो । तर कोभिड महामारीका बेला थला परेको  यो व्यवसाय राम्रोसँग अझै फस्टाउन सकेको छैन । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने वातावरण नबन्दा पर्यटन क्षेत्र माथि उकासिन सकेको छैन । सन् २०२० मा पर्यटक २ लाख ५० हजार आएका थिए । पछिल्लो वर्ष सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपाल आए । नेपाल आउने पर्यटकको खर्च र बसाइ अवधिमा लामो समयदेखि सुधार समेत आउन सकेको छैन ।

 राष्ट्रिय योजना आयोगले तयार पारेको सोह्रौँ योजना २०८१/८२–८५/८६ मा वार्षिक पर्यटक आगमन संख्या २५ लाख पु¥याउने भनेको छ । यस्तै, पर्यटकको औसत बसाइ अवधि १५ दिन, प्रतिदिन औसत गर्ने खर्च ८५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको छ । तर पर्यटकका लागि आकर्षण गर्ने पूर्वाधारहरू निर्माण हुन सकेका छैनन् । नेपालमा हिमाल, पहाड र तराई तीनै किसिमको भू–भाग छ । त्यति मात्र हैन यहाँ थुप्रै धार्मिक, सांस्कृतिक सम्पदाहरु समेत रहेका छन् । तर यि कुराहरु हेर्न पनि पर्यटक ल्याउन सकिएको छैन । अर्कोतिर नीति निर्माणतहमा रहेका व्यक्तिहरूको अदूरदर्शिताले गर्दा आन्तरिक तथा बाह्य दुवै प्रकारका पर्यटकले समुचित सेवा पाउन सकिरहेका छैनन् भने नेपालभित्रको आन्तरिक राजनीतिक द्वन्द्वबाहेक सिधा बाटो नपाएर पनि विदेशी पर्यटक नेपाल आउन पाइरहेका छैनन् । पर्यटकलाई आकर्षण गर्ने यस्ता तमाम काम गर्न नसकेकै कारण यहाँ आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकिएको हो । त्यसै त नेपालमा आउने पर्यटक कम खर्च गर्ने खालका छन् । त्यसमा समय लम्ब्याउन नसकेपछि उनीहरूले गर्ने खर्च पनि धेरै नहुनु स्वाभाविक हो । आगामी दिनमा बसाइ अवधि र खर्च दुवै बढाउनुको विकल्प छैन । पर्यटन क्षेत्रमा अहिले नै धेरै लगानी भएको छ । पर्यटकको बसाइ अवधि बढाउन नयाँ गन्तव्य निर्माण गर्नुपर्ने र यसका लागि थप लगानी गर्नैपर्छ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update