
पाल्पा, जिल्लाको रम्भा गाउँपालिका– ४ मा मुख्य कार्यालय रहेको लालीगुँरास बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेल पक्राउ परेका छन् । सहकारीको २ करोड ८७ लाख ५७ हजार रुपैयाँ बचत हिनामिना गरेको आरोपमा बमरेल पक्राउ परेका हुन् ।
लुम्बिनी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयको अनुसन्धानपछि तयार पारेको प्रतिवेदन अनुसार जिल्ला प्रहरी कार्यालय पाल्पाले उनलाई पक्राउ गरेको हो ।
सहकारी ठगी कसुर सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पवनकुमार भट्टराइले बताए । उनले भने “सहकारी संस्थामा कार्यकारी प्रमुख तथा व्यवस्थापक भई काम गर्ने क्रममा सर्वसाधारण शेयर सदस्यहरुले वचत गरेको रकम गैरकानूनी तवरबाट आफ्नो व्यक्तिगत पारिवारीक प्रयोजनमा दुई करोड ८७ लाख ५७ हजार ७ सय ४० रुपैयाँ खर्च गरी सहकारी ठगी गरेको भन्ने जाहेरी परेपछि पक्राउ गरिएको हो ।” बमरेललाई पक्राउ गरी अहिले थप अनुसन्धान भइरहेको छ ।
बमरेलले कार्यकारी प्रमुख तथा व्यवस्थापक भएर लामो समय काम गरेका थिए । उनलाई सहकारी रकम अपचलन गरेको आरोप लागेपछि २०८१ माघ २६ गते व्यवस्थापकको जिम्मेवारीबाट हटाइएको थियो । अनुसन्धान गर्दै जाँदा रकम अपचलन भएको थाहा भएपछि प्रहरीमा उजुरी दिइएको सहकारीका अध्यक्ष सुवि विश्वकर्माले बताए । उनले भने “ प्रदेश सहकारी रजिस्ट्रार कार्यालयबाट आएको प्रतिनिधि टोलीले समेत कागजात अनुसन्धान गरी रकम अपचलन गरेको पुष्टि गरेको छ ।” २०६५ सालमा स्थापना भएको सहकारीमा करिब ३ हजार ५ सय शेयर सदस्यहरु रहेका छन् ।