
पाल्पा, नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा आज भगवती खटयात्रा गरिएको छ । पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिर सिंह थापाले युद्ध जितेको सम्झनामा विजय उत्सव स्वरुप खट यात्रा गरिएको हो । नेपाली फैजले विजयी प्राप्त गरेको खुसियालीमा मनाइने जात्रालाई खट्यात्रा, भगवती जात्रा, सिन्दूरजात्रा, तथा रथयात्रा भन्ने गरिन्छ ।
तानसेनमा हजारौ जात्रालु जिल्ला र जिल्लाबाहिरवाट आएका छन् । जात्राका अवसरमा तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको हो । बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ । कुमाल जातीका जवानले १२ बजेर ३० मिनेटमा भगवतीको प्रतिमुर्ती राखिएको रथलाई उठाएर नगर परिक्रमा गराएका छन् ।
भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बडाईका साथ मुर्तीलाई रथमा राखेर नगर परिक्रमा गरिएको छ । पञ्चेबाजा, लाखेनाच, भजनकिर्तन सहितको सांस्कृतिक झाँकीले रथ यात्रालाई नगर परिक्रमा गराइएको छ । जात्रालाई नगरपरिक्रमा पछि मन्दिर परिसरमा पुर्याई बिसर्जन गरिने छ । अहिले नगरका विभिन्न ठाउँहरुमा रथ परिक्रम गराइराखिएको छ । ऐतिहासिक महत्व बोकेको जात्राका क्रममा शान्ति सुव्यवस्था कायम गर्न जिल्लाको सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । जात्राको अवसरमा पाल्पाका सरकारी कार्यालयका कर्मचारी सरकारी पोशाकमा आएका छन् । यस्तै, विद्यार्थी र शिक्षकहरु समेत सहभागी भएका छन् । धार्मिक संघ संस्थाका झांकी, शिक्षक, विद्यार्थी साथै तानसेनका टोल विकास संस्थाका सदस्यहरु जात्रामा सहभागी भएको भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोकमान महर्जनले बताए । जात्रा अवलोकनका लागि गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही लगायतका जिल्लाहरुबाट श्रद्धालु जिल्ला आएका छन् । रथयात्रामा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधान सेनापति बलाधिकृत रथी श्री अशोकराज सिग्देल, प्रदेशका मन्त्री, संघीय सांसद, प्रदेश सांसद लगायतका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहेको छ । जात्रा अवलोकनमा आउनुभएका उपप्रधान तथा अर्थमन्त्री पौडेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेले ऐतिहासिक भगवती (सिदुर) जात्राको अत्यन्त महत्व रहेकाले यसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुको साथै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताए ।
नेपाली सेनाले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको खुसीयालीमा विक्रम सम्वत् १८७७ सालदेखि मनाउन सुरू गरिएको विजय उत्सव यसवर्ष पनि निरन्तरता दिइएको हो । विश्व विजयको यात्रामा हिँडेको अंग्रेज सेनासँग नेपाली सेनाले विक्रम सम्वत् १८७१ पुसदेखि १८७२ जेठसम्म पाल्पाको नुवाकोट र बुटवलको जितगढीमा युद्ध लडेर विजयको झण्डा फहराएको थियो । तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिर सिंह थापाको नेतृत्वमा दुई पटकसम्म भएका युद्धमा अंग्रेज फौजलाई पराजित गरेपछि त्यसको खुसीयालीमा विक्रम सम्वत् १८७७ सालदेखि हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रासहित विजय उत्सव मनाउन सुरू गरिएको हो । आफ्नो साम्राज्यमा कही कतै सूर्य नअस्ताउने भूभाग कोमेको अनि आफुलाई अब्बल दर्जाको रुपमा ठान्ने अंग्रेज साम्राज्यलाई पटकपटक पाल्पा क्षेत्रको बुटवल जितगढीबाट खेदेर परास्त गरेको सम्झनामा भगवती जात्रा मनाईने गरेको समितिका सदस्य सचिव प्रकाशनाथ गंगोलले बताउनुभयो ।
बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिंह थापाले युद्धमा विजयी भएमा भगवतीको मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेअनुसार यो जात्रा मनाउने गरिएको किबदन्ती रहेको छ । ऐतिहासिक भगवती जात्रा राष्ट्रिय विरतासँग जोडिएको भए पनि यो जिल्लामै सिमित बन्न पुगेको छ । नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवलाई बचाउने पूर्खाको विषयमा खोजी गर्नुपर्ने र भगवती जात्रा बिचको राष्ट्रियता खोज्नुपर्ने इतिहासका जानकार राजेन्द्र गोपाल सिंहले बताए ।