
पाल्पा, पाल्पाको पुरानो र ऐतिहासिक श्रीनगर सिद्धि विनायक गणेशको एक सय औं वर्ष रथ यात्रा निकालिएको छ । १९८२ भाद्र कृष्ण तृतीयाका दिनदेखि सुरु गरिएको रथ यात्रा मंगलबार निकालिएको हो ।
यो हरेक वर्ष रोपाइँजात्राको भोलिपल्ट निकाल्ने गरिन्छ । यो विशेष गरी तानसेनका नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् । तानसेनमा थुपै रथयात्रा निकाल्ने गरिए पनि गणेशको रथ निकालेपछि मात्र अन्य रथ निकाल्ने प्रचलन रहेको छ । नेवार समुदायको परम्परागत संस्कृतिलाई बचाई राख्न श्रीनगर सिद्धि विनायक गणेश गुठीले हरेक वर्ष गणेशको रथ निकाल्ने गरेको हो ।
बाजागाजा सहित गणेशको रथ निकालिएको छ । ऐतिहासिक भगवती जात्राको झल्को दिने गरी गणेशको रथ निकालियो थियो । भगवतीको जात्रामा जस्तै युवाहरुले गणेशको रथ बोकेर नगर परिक्रमा गराएका थिए । अगाडि–अगाडि भजन, बाजा र पछिपछि रथ डुलाइएको थियो ।
परिक्रमा गर्न हिडालिएको रथमा तानसेनवासीले विभिन्न पर्सादहरु चढाउने गरेको देखिन्थ्यो । नेपाली सेनाले सलामी दिएसँगै गणेशको रथ निकालिएको गुठीले जनाएको छ । गणेश जात्राको इतिहास ऐतिहासिक भगवती जात्रासँग जोडिएको गुठीयार तथा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताए । नेपाली सेनाले जीतगढी युद्धमा विजय प्राप्त गरेको खुसीयालीमा भगवती जात्रा जस्तै गणेशको रथयात्रा निकाल्ने गरिएको उनले बताए ।
गणेशको रथयात्रा विशेष गरी तानसेनका चार घर परिवारले सुरु गरेका थिए । गुठियार श्रेष्ठका अनुसार यहाँका लिगल, सुवाल, महर्जन र श्रेष्ठ परिवारले गणेशको रथ निकाल्ने परम्पराको सुरुवात गरेका हुन् । पछिल्लो समय यहाँका तीन घर परिवार बसाईसरी बाहिर गएपछि अहिले श्रेष्ठ परिवारले गुठीमार्फत यो रथयात्रा निकाल्ने गरेका छन् । विगत तीन दशकदेखि गुठीमार्फत यो जात्रा निकाल्ने गरिएको छ ।
नेवारी समुदायमा जनैपूर्णिमादेखि जात्राहरु सुरु भएपनि गणेशको रथयात्रा निकालेपछि मात्र अन्य रथहरु निकाल्न बाटो खुला भएको समितिका अध्यक्ष केदारलाल श्रेष्ठले बताए । उनले भने “हामीले एक सय वर्ष अघि देखि नै गणेशको रथ निकाल्ने परम्परालाई निरन्तरता दिर्दै आएका छौं ।”
गणेश जात्रामा पहिला भगवानलाई पूजा गरी बोकाको बलि दिइने र प्रसादको रूपमा जाग्राममा बस्नेहरूलाई सम्हयबजी बाँडिने भएपनि हिजोआज भगवान श्रीगणेशलाई बलि नचढाइने जानकारहरू बताउँछन् । गणेश जात्राका दिन बाघ जात्रा पर्ने गर्दछ । त्यसको भोलिपल्ट टक्सार टोल स्थित सूर्यविनायक गणेश जात्रा निकालिन्छ । अघिल्लो दिन जाग्राम बसीे भोलिपल्ट बाजागाजाका साथ गणेशको मूर्तिलाई खाटमा राखी बजार घुमाइन्छ । तानसेन बजार भित्र छ ठाउँमा गणेशका मन्दिरहरु रहेका छन् । टक्सार गणेश जात्राको भोलिपल्ट भिमसेन टोलबाट भिमसेन जात्रा निकालिन्छ । भिमसेन भनेका महाभारतका बलवान शक्तिशाली भिम हुन् । शितलपाटीमा पनि एउटा भिमसेन मन्दिर छ । यसको जात्रा भने माघ महिनामा भीमा द्धादशीको दिन निकालिन्छ ।