
पहाडकी रानी, सुन्दर नगरी पाल्पा सांस्कृतिक रुपमा अत्यन्त धनी जिल्ला हो । त्यसैले पाल्पालीहरु आ–आप्mना परम्परागत पर्व, जात्रा मनाउन दत्तचित भएर जुटिरहेका छन् । सदरमुकाम तानसेन लगायत विभिन्न स्थानमा गाईजात्रा, रोपाइँ जात्रा, गणेश जात्रा आदि भव्यतापूर्वक सम्पन्न भईसकेका छन् । यिनै साँस्कृतिक बैभवका साथै धार्मिक आस्थाका धरोहर र प्राकृतिक सौन्दर्यले नै पाल्पालाई देश विदेशमा चिनाएको हो । भगवती जात्रा मोफसलको जिल्ला (पाल्पा, तानसेन) मा मनाईने भएपनि राष्ट्रिय महत्व बोकेको गौरवमय जात्रा पनि हो । सामान्यतया श्री ७ रणउजीरेश्वरी भगवती मन्दिरबाट निकालिने यो जात्रालाई सिन्दुर जात्रा भनिन्छ । यद्यपी यो जात्रा केवल जात्रा मात्र होइन राष्ट्रिय गौरबसँग जोडिएको विजयोत्सव हो, राष्ट्रवादी स्मृति जात्रा हो, पाल्पाले मात्र होईन सिंगो मुलुकले स्मरण गर्दै राष्ट्रिय सम्मानका साथ मनाउनु पर्ने जात्रा हो । किनकी नेपालको ईतिहासमा सुनौला अक्षरले लेखिएको छ जीतपुरमा नेपाली फौजले अंग्रेज फौजलाई पराजय गरेको परिघटना, त्यही जीतपुर विजयको स्मरणमा विजयोत्सवका रुपमा यो जात्रा गरिदै आएकोले यसको सम्बन्ध सिंगो राष्ट्रसँग छ, नागरिकको भावनासँग गाँसिएको छ, राष्ट्रियतासँग जोडिएको छ । तत्कालिन समयमा संसारकै शक्तिशाली अंग्रेज फौजलाई पराजित गरी नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा तथा राष्ट्रिय स्वाधिनता सुरक्षित गर्न नेपाली फौज सफल हुनु रोमाञ्चक मात्र होईन गौरव गर्नुपर्ने परिघटना हो ।
नेपाली फौजको युद्ध योजना, रणनीति र युद्धकौशलका अन्वेषकका लागि यो एउटा पाठशाला पनि हो । नेपालको राष्ट्रियता र नागरिकको भावनासँग गासिएको तथा नेपाली फौजको सान, वीरता र सौर्यको प्रतिविम्व विजय जात्राको रुपमा ईतिहासमा भगवती खटयात्रा दर्ज भएको छ । गौरवमय जितको स्मरण, स्वाभिमान युद्धका वीर योद्धाहरुको सम्मान, युद्धमा विजय प्राप्तिको खुसीयाली स्वरुप शुरु गरी उत्सवका रुपमा निरन्तर मनाईदै आएको विजय जात्रा हो भगवती खट यात्रा । त्यसैले जनमानसले यो जात्रालाई रणउजेश्वरी भगवती खटयात्रा, विजय यात्रा, सिन्दुर जात्रा, भगवती जात्रा जस्ता नामबाट चिन्ने, चिनाउने र उत्सवका रुपमा मनाउने गरेका छन् ।
भगवती जात्राको शुरुवात : भगवती देवीको शक्ति प्रति सदियौदेखि मानिसहरुमा विश्वास र आस्था रहेको पाईन्छ । तत्कालिन समयमा पाल्पाका फौजी कमाण्डरले महत्वपूर्ण जिम्मेवारी वहन गर्दै गर्दा भगवती देवीको पुजा गरी भाकल समेत गरेर युद्ध क्षेत्रतर्पm प्रस्थान गरेको सन्दर्भलाई मनन् गर्दा भगवती देवीको अत्यन्तै महिमा रहेको अनुमान गर्न सकिन्छ । श्री ७ रणउजीरेश्वरी भगवती प्रतिको आस्था अझ बढ्दै गईरहेको अनुभूति गर्न सकिन्छ । किनकी लाखौ भक्तजन भगवती जात्राको मेला भर्न आउनुका साथै राष्ट्राध्यक्ष, मन्त्री गण, प्रशासन, सेना, प्रहरीका प्रमुखहरु लगायत उच्च पदस्थ व्यक्तित्वसहित लाखौ मानिसहरु सिन्दुर जात्रामा सहभागी भएर भगवती देवीप्रति सम्मान जनाउने परम्परा जस्तै भईसकेको छ । भगवती देवीको महिमा धार्मिक आस्था मात्र होइन, यो नेपालको राष्ट्रिय गौरवसँग जोडिएको छ भन्ने नेपालको ईतिहासले नै पुष्टी गरेको विषय हो । भगवती जात्राप्रति राज्य, नागरिक तहले गौरव गरिरहनुको महत्व हो जितगढी (रुपन्देही) र नुवाकोट (पाल्पा) किल्लामा भएको नेपाल –अंगे्रज युद्धमा नेपाली फौजको शानदार विजय । विश्वका कैयौ शक्तिशाली राष्ट्रहरुमा साम्राज्य स्थापित गरेको, आधुनिक हातहतियारले सुसज्जित विशाल अंग्रेज फौजलाई नेपाली फौजले पराजित गर्न सफल भएको किल्ला हो जीतगढी (रुपन्देही) र नुवाकोट (पाल्पा) । यो मोर्चाको युद्धमा पराजय भोग्न परेपछि ईष्ट ईण्डिया कम्पनी अर्थात् अंग्रेजहरु नेपालसँग सुगौली सन्धि गर्न राजी भएका हुन् । जुन सन्धिबाट नेपालको अधिनमा रहेका कैयौं भू–भाग गुमाउनु परे पनि नेपाल स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रुपमा आप्mनो ऐतिहासिक अस्तित्व कायम राख्न सफल भएको थियो ।
पृथ्वी नारायण शाहले शुभारम्भ गरेको नेपालको एकीकरणको अभियान उनका उत्तराधिकारीहरुले अघि बढाईरहेका थिए । यसरी नेपालले एकीकरण अभियानलाई तिव्रता दिईरहेकोप्रति अंग्रेज पटक्कै खुशी थिएन । त्यसैबीच पाल्पा राज्यलाई नेपालमा गाभेपछि अंग्रेज शासक नेपालसँग अझ सशंंकित भएका मात्र होईनन् की विभिन्न वहाना बनाएर निहँु खोज्न उद्यत थिए । त्यतिकैमा अंग्रेज शासकले बुटवल र स्यूराजको सवाल उठाएर विवाद निकाल्नुको साथै एकतर्फी रुपमा नेपालका विरुद्ध युद्धको घोषणा गरेका थिए । तत्पश्चात वि.सं. १८७१ पुस १५ गते जीतगढी क्षेत्रमा पहिलो पटक नेपाल र अंग्रेज फौजबीच युद्ध भएको थियो । वि.सं.१८७१ –१८७२ सम्म गरी दुई पटक युद्ध हुँदा नेपाली फौजले विजयी प्राप्त गरेपछि अंग्रेज फौज गोरखपुरतर्पm फर्केको वताईन्छ । वि.सं. १८७२ बैशाख ७ गते जितगढी क्षेत्रको मोर्चामा नेपाली फौजले अंग्रेज फौजलाई पराजित गरी विजयको झण्डा फराउन सफल भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष बैशाख ७ गते जीतगढी (रुपन्देही जिल्ला, वुटवल ) मा उत्सव मनाईने पनि गरेको छ ।
सोही जीतगढी युद्धमा जानु अघि पाल्पामा तैनाथ कर्णेल उजीरसिंह थापाले भगवती देवीको पुजा अर्चना गर्नुका साथै युद्धमा जित हासिल गर्न सफल भएमा ठूलो मन्दिर बनाएर सिन्दुर जात्रा गर्नेछु भनि भाकल गरेको ईतिहासमा उल्लेख पाईन्छ । कर्णेल उजिरसिंह थापाले जीतगढी युद्धमा नेपाली फौज विजय भएपश्चात वि.सं. १८७२ देखि १८७६ सम्ममा श्री ७ रणउजीरेश्वरी भगवती देवीको तिनतले मन्दिर निर्माण सम्पन्न गरेका र जीतगढी युद्धमा विजय प्राप्त गरेको स्मरण गर्दै वि.सं. १८७७ भाद्र नवमी अर्थात् कृष्ण जन्माष्टमीको भोलीपल्ट सिन्दुर जात्राको शुरुवात गरेको परम्परालाई आत्मसात गरेर उत्सवका रुपमा भगवती जात्रा मनाइँदै आएको छ । यसपटक पनि कृष्ण जन्माष्टमीको भोली पल्ट भाद्र नवमी भाद्र १ गते भगवती जात्रा मनाउन मन्दिर व्यवस्थापन समितिका साथै तिनै तहका सरकार, प्रशासन, सेना, प्रहरी लगायतका निकाय, संघ संस्था, आम जनसमुदाय तयारीमा जुटिरहेका छन् ।
भगवती जात्रा प्रति राज्यको आकर्षण : जिल्लामा संघीय सरकारको मुख्य प्रतिनिधिका रुपमा रहँदै आएका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रमुख सेनानी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुले भगवती जात्रा पूर्व मध्यराती वली दिएर पुजाआजा गर्ने तथा जात्राका दिन पनि वली सहित पुजाआजा गरेपछि रथयात्रा प्रारम्भ गर्ने परम्परा रहेबाट राज्यको एउटा तहमा प्रत्यक्ष, सक्रिय सहभागिता रहँदै आएको देखिन्छ । केही यता चाहिं अझ उच्चस्तरमा सम्माननीय राष्ट्रपति, माननीय मुख्यमन्त्री, माननीय मन्त्री, माननीय सांसदहरु, नेपाली सेनाका प्रधानसेनापति समेत सिन्दुर जात्रामा सहभागी भई अवलोकन गर्ने गरेबाट जात्राको गरिमा झन् झन् बढेको मात्र होइन की यो जात्राले व्यवहारत राष्ट्रिय पर्वको मान्यता प्राप्त गरिसकेको छ भन्न सकिन्छ । यस्तै लुम्विनी प्रदेश सरकारले पनि केही वर्ष यता भगवती जात्राको दिन विदा दिने घोषणा गरेर राज्य संस्कृतिको संरक्षण र प्रवद्र्धनमा संवेदनशील रहेको प्रमाणित गरिसकेको छ ।
पाल्पाली नागरिकको अपेक्षा : नेपाली सेनाको बलिदानको गौरवमय इतिहास स्मरण गराउनुका साथै धार्मिक सदभाव, एकता र सांस्कृतिक वैभवलाई विश्वभर फैल्याउने साधनकोे भूमिका खेलेकोे छ भगवती जात्राले । जीतपुरमा विजय हुनु नै सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा तथा राष्ट्रिय स्वाधिनता सुरक्षित गर्न नेपाली सेना सफल भएको परिघटना रहेकोे, राष्ट्रियतासँग जोडिएको, नागरिकको भावनासँग गाँसिएको, नेपाली सेनाको सान, वीरता र सौर्यको प्रतिकका रुपमा स्थापित भएको हुँदा भगवती जात्रालाई घोषित रुपमै राष्ट्रिय सम्मान दिईयोस् भन्ने चाहना हो पाल्पाली नागरिकको । तसर्थ भगवती खटयात्रालाई संघीय सरकारले राष्ट्रिय पर्वको मान्यता दिई उत्सवका रुपमा मनाउने घोषणा यथाशीघ्र गरेर जनभावनाको कदर गरोस् । पाल्पालीहरु यही निर्णयको पर्खाईमा छन् ।
अर्कोतर्फ कर्णेल उजीरसिंह थापाले वि.सं १८७२ –१८७६ मा सम्पन्न गरेको तिनतले भव्य मन्दिर विगत वि.सं. १९९० सालको भूकम्पबाट क्षतिग्रस्त भएकाले हालको अवस्थाको दुई तले मन्दिर निर्माण भएको अवस्था हो । यद्यपी अहिले मन्दिर अत्यन्तै जिर्ण भएकाले संघीय सरकारबाट तीन तले मन्दिर पुनर्निर्माण गर्ने योजना सहित बजेट विनियोजन हुनु स्वागतयोग्य कदम हो, यसको नागरिकबाट मुक्तकण्ठले प्रशंसा भईरहेको छ । अब मन्दिर पुनर्निर्माणको कार्य निर्धारित समयमै शुरु होस् र कार्य सम्पन्नका लागि किटान भएकै समयमा निर्माण कार्य सम्पन्न गर्न सफलता मिलोस् सरोकारवाला सबैलाई अग्रिम शुभकामना छ । भगवती खटयात्रा सदाजस्तै भव्य रुपमा सफल होस्, संस्कृतिको संरक्षण र संवद्र्धनमा टेवा पुगोस्, शुभकामना ! शुभकामना !! शुभकामना !!
(लेखक राष्ट्रिय अनुसन्धान विभागका पूर्व अनुसन्धान निर्देशक समेत हुन् ।)