Shittalpati
पाल्पामा भोली निकालिने विजयोत्सवको तयारी पुरा, प्रदेश सरकारले दियो सार्वजनिक विदा

पाल्पा, नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा पाल्पामा निकालिने ऐतिहासिक भगवतीको रथ सहितको सिन्दुर जात्राको तयारी पुरा भएको छ । यस वर्ष २०६ औँ भगवती खट यात्राका रुपमा विजयोत्सव भोली निकाल्न लागिएको हो ।

प्रत्येक बर्ष पाल्पामा श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले विजयोत्सव स्वरुप ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकाल्ने गरेको छ । यस वर्षको  भगवती जात्राको तयारी पुरा भएको समितिका  अध्यक्ष अशोक कुमार महर्जनले बताए । उनले भने “ हामीले स्थानीय सरकार, जिल्लाका सरोकारवाला निकाय, यहाँ सञ्चालन हुने अन्य जात्राका व्यवस्थापकहरुसँग बसेर जात्रालाई कसरी व्यवस्थित र मर्यादित बनाउन सकिन्छ भनेर सल्लाह लिने र सोही अनुसार काम गर्ने गरेका छौं ।” ऐतिहासिक भगवतीको रथयात्राले भगवतीको महिमाको प्रचार–प्रसार र धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने विश्वास लिएको अध्यक्ष महर्जनले बताए । तत्कालीन नेपाली सेनाको पाल्पा कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्धमा जानुअघि युद्धमा जितेमा तीनतले मन्दिर बनाई भगवतीको सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए । युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७७ देखि कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सवस्वरुप भगवती जात्रा मनाउन थालेका हुन् । जुन परम्परा आजसम्म चल्दै आएको समितिका अध्यक्ष महर्जनले जानकारी दिए ।

यस वर्षको भगवती रथयात्रामा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधान सेनापति बलाधिकृत रथी श्री अशोकराज सिग्देल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ,प्रदेशका मन्त्री, संघीय सांसद, प्रदेश सांसद लगायतका उच्च पदस्थ व्यक्तिहरुको सहभागीता रहने भगवती मन्दिर व्यवस्थापन समितिका  सदस्य सचिव प्रकाशनाथ गंगोलले बताए । उनका अनुसार पूजा तान्त्रिक विधिद्वारा मूलपुरोहितद्वारा ठिक १२ बजेको बली सहितको पूजा, बढाई आतिसबाजी, भगवतीको प्रतिमूर्ति रथमा राखिने छ । सचिव गंगोलले भने “ १२ः३० बजे मन्दिर परिसरबाट खटयात्रा ३ तीन पटक मन्दिर घुमाउने र कर्णेल पूजा गरिसकेपछि नगरपरिक्रमा गराईने छ । ” 

वि स १८७१ देखि १८७२ भएको नेपाल अँग्रेज युद्धमा पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाले अंग्रेज फौजलाई हराउन सफल भएका थिए । कहिंँकतै नहारेको ब्रिटिस सेनालाई नेपालले युद्धमा पराजित गरी बिजय हासिल गरेको थियो । विश्वभर आफ्नो साम्राज्य विस्तारको क्रममा हिंडेको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरी जितगढीबाट नै नेपाली विरताको इतिहांस रचेको थियो । पाल्पाका तत्कालीन कर्णेल उजीरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाले विरता र निडरताको साथ लडाई लडेर विजयको झण्डा फहराएको हो । नेपालले वि.सं १८७१ पौष देखी १८७२ जेठसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतको क्षेत्रमा विजय हासिल गरेको संम्झनामा वि.स. १८७७ देखी निरन्तर रुपमा प्रत्येक बर्ष पाल्पामा विजयउत्सव मनाउने परम्परा चल्दै आएको छ । रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, शसत्र प्रहरी, निजामती कर्मचारी, संघसंस्थाहरुको समेत सहभागिता रहने छ ।

हरेक वर्ष कुमाल समुदायबाट विजयोत्सवको रथ बजार परिक्रमा गराउने परम्परा रहेको छ । भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बडाईका साथ मुर्तीलाई रथमा राखेर नगर परिक्रम गर्ने गरिन्छ । ऐतिहासिक महत्व बोकेको जात्राका क्रममा शान्ति सुव्यवस्था कायम गर्न जिल्लाको सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । जात्राका दिन प्रदेश सरकारले सार्वजनिक विदा समेत दिएको छ । प्रदेश मन्त्रिपरिषद्को २०८१ साल चैत १४ गतेको निर्णय अनुसार सो दिन पाल्पामा भगवती जात्रा मनाइने भएकाले बिदा दिने निर्णय गरिएको शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ । 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update