Shittalpati
पाल्पा विकास केन्द्रले मनायो १५ औं साधारण सभा

पाल्पा, मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको पाल्पा विकास केन्द्रले १५ औं वार्षिक साधारण सभा मनाएको छ । केन्द्रले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी वार्षिक साधारण सभा गरेको हो । 

सभाको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले पाल्पा विकास केन्द्रले मिडियाको विकास, सुशासन र नीतिगत पैरवीको विषयमा खेलेको भूमिका अत्यन्त प्रशसंनिय रहेको बताए । उनले स्थानीय सरकारले गर्नुपर्ने काम एउटा गैरसरकारी संस्थाले गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा संस्थासँग सहकार्य गरेर जाने उल्लेख गरे । नगर प्रमुख श्रेष्ठले भने “सरकारलाई नै हल्लाउन सक्ने ल्यागत मिडियामा हुन्छ । त्यही मिडियालाई सशक्त बनाउने र सत्य तथ्य सूचना पहिल्याउनका लागि यस संस्थाले  खेलेको भूमिका अनुकरणीय छ ।” उनले आगमी दिनमा संस्थाले वृहत्त कार्यक्रमको योजनासहित प्रस्तावना ल्याएर आएमा स्थानीय सरकारले  आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

संस्थाका सल्लाहकार  बाबुराम कार्कीले संस्थाले थुप्रै आरोह अवरोह झेल्दै यो अवस्था सम्म आइपुगेको बताए । उनले सामाजिक क्षेत्रमा यस संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्दै आगामी दिनमा थप सशक्त ढंगले अगाडि बढ्न आवश्यक रहेको औल्याए । संस्थाका अध्यक्ष कृष्ण पोखरेलले आफुहरु हरेक तीन/तीन महिनामा बैंठक बसी नयाँ नयाँ योजनाहरु ल्याउने र  ति योजनाहरुमा व्यापक छलफल गरेर मात्र कार्यक्रम कार्यान्वयनमा लैजाने गरेको बताए । उनले सबैको सहयोगका कारण संस्था अहिलेको अवस्थामा आएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।  मानवअधिकारकर्मी तथा वरिष्ठ पत्रकार भगवान भण्डारीले छोटो समयमै संस्था जिल्लामा स्थापित हुन सफल भएको बताए । उनले स्थानीय मिडिया सवलीकरण , स्थानीय सरकारलाई सुशासनमैत्री बनाउनेदेखि जिल्लाको पर्यटनको क्षेत्रमा संस्थाको योगदान महत्वपूर्ण रहेको उल्लेख  गरे । उनले गरिवी निवारणका क्षेत्रमा यस्ता गैरसरकारी संस्थाहरुसँग स्थानीय सरकारले समन्वय  गरेर काम गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका सचिव  रामचन्द्र रायमाझी, होमस्टे महासंघका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्याल लगायतले संस्थाले गरेका  गतिविधिहरु प्रति खुलेर प्रशंसा गरे ।  

केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले केन्द्रले गरेका गतिविधिका विषयमा जानकारी गराएका थिए । उनले  तथ्य जाँच, स्थानीय, प्रदेश  सरकारले निर्माण गर्ने नीति, कार्यक्रम , योजना र कानुनका विषयमा वाचडगको रुपमा काम गर्दै आएको उल्लेख गरे । केन्द्रकी कोषाध्यक्ष बसन्ती ढकालले ८२ लाख ५० हजार ३ सय ७६ बराबरको आय व्यय प्रस्तुत गरेकी थिइन् । सोही अवसरमा संस्थाले तीज विशेष कार्यक्रम समेत गरेको छ । संस्थाका अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षता, उपाध्यक्ष कृष्ण गहतराजको स्वागत, सह–सचिव विनोद भारतीको सञ्चालनमा कार्यक्रम भएको थियो । 

केन्द्रले लुम्बिनी प्रदेशमा मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको छ । उसले स्थानीय सरकार र प्रदेश सरकारका विषयमा जानकारी गराउन नीतिपात्रो पोर्टल समेत सञ्चालनमा ल्याएको छ । यो पोर्टले विशेषगरी स्थानीय सरकार र प्रदेश सरकारका बारेमा जानकारी लिन र नीतिदेखि बजेट कार्यक्रम लगायतका विषयमा मुद्दा र स्रोतको पहिचान गरी विस्तृत रूपमा समाचार सामग्री र अन्य अध्ययन प्रतिवेदन तयार पार्न सहयोग पुर्‍याएको छ । यसले आम जनतालाई आफ्नो समुदायमा के—कस्ता नीतिगत काम भइरहेका छन् भन्ने विषयमा पनि पोर्टलले जानकारी दिने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update