Shittalpati
पाल्पा अस्पताल : दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्

पाल्पा, लुम्बिनी प्रदेशकै सबै भन्दा पुरानो र जेठो अस्पतालको रुपमा रहेको पाल्पा जिल्ला अस्पतालमा ११ औँ तहको कार्यालय प्रमुखसहित १२ जनाको विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर हाल एक जना मात्रै कार्यरत छन् । ति एक जना ११ औँ तहको कार्यालय प्रमुख हुन् । तर उनी हप्तामा दुई/तीन दिन मात्रै अस्पतालमा हाजिर हुन्छन् । अन्य समय बुटवलमा निजी क्लिनिक हेर्ने गरेको स्रोतले जनाएको छ । यहाँ छात्रवृत्ति तथा समिति करारका स्वास्थ्यकर्मीहरुको भरमा अस्पताल चलेको छ ।

मेडिकल सुपरिडटेण्डेन, कन्सल्टट्यान्ट साइक्याट्रिक्स, कन्सल्टट्यान्ट अर्थोसर्जन, कन्सल्टट्यान्ट प्याथोलोजिष्ट, कन्सल्टट्यान्ट रेडियोलोजिस्ट, कन्सल्टट्यान्ट एनस्थेसियोलोजिस्ट, कन्सल्टट्यान्ट जनरल सर्जन, कन्सल्टट्यान्ट सर्जन, कन्सल्टट्यान्ट अब्सट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट, कन्सल्टट्यान्ट पेडियाट्रिसियन, कन्सल्टट्यान्ट जनरल फिजिसियन जस्ता विशेषज्ञको दरबन्दी तोकिए पनि अहिलेसम्म पूर्ति हुन सकेको छैन् । अस्पतालमा ६ जना मेडिकल अधिकृतको समेत दरबन्दी रहेको छ । तर अधिकांश मेडिकल अधिकृत छात्रवृत्ति करारका छन् । ६४ जना स्वीकृत दरबन्दी रहेको छ । \अहिले स्थायी पदपूर्ति २७ जना रहेको छ । दरबन्दी, करार, कार्यक्रम, छात्रवृत्ति तथा समिति करार गरी ८४ जना कर्मचारी कार्यरत रहेका छन् । सरकारले दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर नपठाउँदा बिरामीको उपचारमा समस्या भएको छ । प्रदेश सरकारले पचाँस शैयाको अस्पतालको रुपमा घोषणा गरे पनि दरबन्दीअनुसार डाक्टर त छैनन् नै, पर्याप्त सुविधा नहुँदा विशेषज्ञ डाक्टर यहाँ बसेर जनतालाई सेवा दिन चाहेको देखिँदैन । विशेषज्ञ डाक्टर छोटो समय बस्ने जाने क्रम यहाँको नियति नै बनेको छ । यहाँ आउने विशेषज्ञ डाक्टरहरुको लागि एक्ट्रा सुविधान नहुँदा आए पनि लामो समय बस्न नमान्ने गरेको अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले बताए । उनले भने “ अस्पताललाई पचास शैयाको भनेर प्रदेश सरकारले घोषणा गर्‍यो तर भौतिक पूर्वाधार र जनशक्तिको अभावका कारण २५ शैयाबाटै सेवा दिनु परेको छ, आउने डाक्टरहरुको लागि पर्याप्त काम पनि छैन, काम नभएपछि ओटी लगाउने कुरा पनि भएन, उहाँहरु अन्य ठाउँमा गए पर्याप्त सुविधा पाउनुहुन्छ होला, हाम्रोमा त्यस्तो छैन ।”

अध्यक्ष आत्रेयले दरबन्दीअनुसारका डाक्टर नभए पनि छात्रवृत्ति तथा समिति करारमा डाक्टरहरु राखेर सेवा दिदैं आएको बताए । ‘हामी सेवामा प्रतिबद्ध छौं’, उनले भने, ‘अहिले हामीसँग दक्ष जनशक्ति र भौतिक पूर्वाधारको अभाव छ यसका लागि सम्बन्धित निकायसँग पहल गर्ने काम भइरहेको छ ।’ ‘सीमित जनशक्तिबाट गुणस्तरीय सेवा प्रवाह गर्नु परेको छ,’ अध्यक्ष आत्रेयले भने, ‘दैनिक बिरामीको संख्या बढ्दै गएको छ तर भौतिक पूर्वाधार अभावको समस्या जहाँको तँही छ ।’ अस्पतालको हाल ७ रोपनी जग्गा छ । अस्पतालसँगै जोडिएको मोहन कन्या माविको छात्रावास रहेको जग्गा प्राप्तिका लागि केही वर्षयता पहल हुँदै आए पनि अहिलेसम्म सहमति पाउन सकेको छैन । ‘पाल्पा अस्पतालको छेउमै रहेको जग्गा लिने र त्यसको सट्टामा मोहन कन्या अघि रहेको स्वास्थ्य कार्यालयको जग्गा दिने भन्ने हो,’ अध्यक्ष आत्रेयले भने । उनले सरकारले तोकेको मापदण्ड बमोजिम जग्गा व्यवस्थापन गर्न मोहनकन्या माविसँग जग्गा साटफेर गर्ने प्रक्रिया पूरा गर्न सम्बन्धित निकायहरूमा निरन्तर पहल गरिने बताए ।

सरकारी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा ठूलो रोग लागेमा युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, बुटवल, काठमाडौं, पोखरा लगायतका ठूला अस्पतालहरुमा जानुपर्ने बाध्यता रहेको स्थानीय कल्पना ज्ञवालीले बताइन् । अस्पताल प्रशासन प्रमुख डोमराज अर्यालले सरकारले दरबन्दी दिने डाक्टर नदिने गर्दा समस्या आएको बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update